झापाली नेता दाहाल राष्ट्रिय सभाको उमेद्वार चयन




बिर्तामोड– नेकपाका नेता देबेन्द्र दाहाल राष्ट्रिय सभा सदस्यका लागि उमेद्वार बन्ने भएका छन् । नेकपाले शुक्रवार दाहालसहित १६ जना उमेद्वारको टुङ्गो लगाएको हो । नेकपा झापाका सह इन्चार्ज समेत रहेका दाहाल लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकारका रुपमा समेत रहेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान सचिवालय बैठक बसेको थियो । त्यही बैठकले दाहालसहितका उम्मेद्वारको टुङ्गो लगाएको हो । घोषित उम्मेदवारमा पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना परेका छन् । १८ सिटका लागि हुने निर्वाचनमा नेकपाले १६ उम्मेदवार चयन गरेको छ । पूर्व सहमति अनुसार प्रदेश–२ मा राजपासँग चुनावी तालमेल गरेकाले त्यहाँ २ सिट छोडिएको छ ।

एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमनपछि उनको ठाउँमा एक जना मनोनित हुनेछ । उम्मेद्वार बनेकाहरुमा झापाबाट दाहाल मात्रै छन् । गोरखाबाट चुनावमा पराजित नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वार छन् ।