अफ्ठ्यारो बाटो हिँड्न रुचाउँछन् दुर्गा प्रसाई



झापालाई मेडिकल हव बनाउने अभियानमा अर्बाै रुपैयाँको लगानी जुटाएर दुई ठूला अस्पताल र मेडिकल कलेज बनाएका दुर्गा प्रसाई आफैँमा हिम्मतिला छन् । उनी हाकाहाकी आफू अफ्ठ्यारो बाटो हिँड्न मन पराउने बताउँछन् । आशय पत्र दिएर अर्बाै लगानी भइसकेपछि पनि सरकारले मेडिकल कलेज सञ्चालन गर्न नदिएर बेइमानी गरेको बुझाईका बीच उनी अझै भनिरहेका छन्, ‘मेरा विभिन्न कम्पनीहरुमा दुई लाख मानिसलाई रोजगारी दिने मेरो लक्ष्य हो ।’ मेचीनगरको धाइजनमा अर्बाै लगानीका भौतिक संरचना खण्डहर बनिरहेका बेला उनी अझै स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका छन

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानीमा अस्पताल बनाएको भन्ने धेरैको आरोपलाई चुनौति दिँदै कार्यकारी निर्देशक प्रसाईले भने, ‘प्रचण्ड, केपी ओली र शेरबहादुर कसैको पनि लगानी छैन । बैङ्कका सबै साथीहरु यही हुनुहुन्छ, उहाँहरुले ऋण दिएर यत्रो संरचना तयार भएको छ । म डुब्दा उहाँहरु पनि डुब्नु हुन्छ ।’ आफूले सधैँ अफ्ठ्यारो बाटो रोजेको भन्दै प्रसाईले आफूलाई निरन्तर मेडिकल माफिया भनिएकोप्रति पनि कडा प्रतिवाद गरे । औपचारिक शिक्षाका नाममा आफूले आठ कक्षा पढेको भए पनि अनौपचारिक सिकाई नसकिएको भन्दै उनले ‘आफू अझै विद्यार्थी रहेको’ सुनाए ।