प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण अझै अनिश्चित



झापा– नियमित डाइलासिसमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको टुङ्गो अझै लागेको छैन । प्रधानमन्त्रीको व्यस्तताका कारण प्रत्यारोपणको समय निर्धारण हुन नसकेको हो । दोस्रो प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री ओलीले समय निकाल्न सकेका छैनन् ।

प्रधानमन्त्रीले समय निकाल्न नसक्दा प्रत्यारोपणबारे निर्णय लिन चिकित्सकहरुलाई समस्या भएको निजी चिकित्सक डा. दिव्यासिंह बताइन् । मिर्गौला दिन तयारी अवस्थामा रहेका प्रधानमन्त्रीका दुई जना आफन्तलाई नियमित चिकित्सकको निगरानीमा राखिएको छ । २०६४ सालमा भारतको अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको शुक्रबार १२ औँ पटकको डायलाइसिस गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कलेजो प्रत्यारोपण युनिटमा प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस भएको हो । प्रधानमन्त्री ओली १४ कात्तिकदेखि नियमित डायलाइसिसमा छन् ।

सिंगापुरमा प्लाज्माफेरेसिस प्रक्रियामार्फत ओलीले उपचार गराएका थिए । प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीको मिर्गौला नियमित डायलाइसिस गर्नुपर्ने वा प्रत्यारोपणमा जानुपर्ने दुई विकल्पमा पुगेको हो । मिर्गौला प्रत्यारोपण कहाँ गर्ने भन्ने टुंगो पनि लाग्न सकेको छैन । केही चिकित्सकले स्वदेशमै प्रत्यारोपण गर्नु राम्रो हुने बताउँदै आएका छन्

तर, प्रधानमन्त्रीनिकट चिकित्सकहरू भने विश्वका सबैभन्दा राम्रो र सुविधा सम्पन्न अस्पतालमा लगेर दोस्रो प्रत्यारोपण गर्नुपर्ने पक्षमा छन् । नेपालमै अहिलेसम्म १० जनामा दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएको छ । नेपालमा ८ अगस्ट २००८ बाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो ।