अपराध नियन्त्रण गर्न एसपी कोइरालाका १५ प्राथमिकता




भद्रपुर– झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जिल्लाको शान्ति सुरक्षा सुदृढ गर्न आफ्नो १५ बूँदे प्राथमिकताका विषय सार्वजनिक गरेका छन् । झापामा प्रहरी प्रमुखको कार्यभार सम्हालेको १५ दिनपछि उनले आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अपराध नियन्त्रणका लागि आफ्नो प्राथमिकताका विषय सार्वजनिक गरेका हुन् ।

एसपी कोइरालाले सीसी क्यामेरा जडानलाई कार्ययोजनाको पहिलो प्राथमिकतामा राखेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका सबै प्रहरी कार्यालयमा सीसी क्यामेरा जडान गर्ने उनको योजना छ । यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत छँदा पनि कोइरालाको अग्रसरतामा बिर्तामोडका विभिन्न स्थानमा ६४ वटा सीसी क्यामेरा जडान गरिएको थियो । ‘अपराधीको पहिचान तथा अपराध अनुसन्धानमा सहयोग पुग्ने भएकाले सीसी क्यामेरा जडानमा जोड दिएको हुँ’, एसपी कोइरालाले भने ।

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड, काँकडभिट्टा, दमक, चन्द्रगढी, धुलाबारी, बुधबारे, गौरीगञ्ज, गौरादह लगायतका स्थानमा सीसी क्यामेरा जडान गर्ने प्रहरी कार्य योजना छ । महेन्द्र राजमार्ग अन्तरगतको काँकडभिट्टाबाट ताराबारीसम्म राजमार्ग एरियामा क्यामेरा जडान गरिनेछ । प्रहरीले ‘गो प्रो क्यामेरा’ प्रयोगलाई पनि प्राथमिकताको सूचीमा राखेको छ । भीड नियन्त्रणको समयमा तथा अन्य प्रहरी काम कारबाहीमा प्रत्यक्ष रुपमा फिल्डमा खटिने प्रहरी कर्मचारीले यस्तो क्यामेरा प्रयोग गर्छन् ।

एसपी कोइरालाले मातहतका मुद्दा चल्ने प्रहरी इकाईहरुमा ‘भिडियो कन्फरेन्स रुम’ को स्थापना गर्ने कार्यलाई पनि योजनाका रुपमा समेटेका छन् । ‘स्रोत साधनको व्यवस्थापनपछि भिडियो कन्फरेन्स रुम स्थापना गर्ने प्रक्रिया अघि बढ्छ’, उनले भने । अभियुक्तहरुको म्याद थपको लागि पटक–पटक अदालत ल्याउने लैजाने कार्यको विकल्पमा भिडियो कन्फरेन्स रुम प्रयोग गर्न सकिने एसपी कोइरालाले बताए । साक्षीहरुको सुरक्षा चुनौति व्यवस्थापन गर्न सहज हुने भएकाले पनि यो प्रयोगमा आउन सक्छ ।

एसपी कोइरालाले लागूऔषध दुव्र्यवसनीहरुको पुनस्र्थापनाको लागि पुनस्र्थापना केन्द्र निर्माणलाई पनि कार्ययोजनामा समेटेका छन् । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने उपर हदैसम्म कारबाही गर्ने पनि कार्य योजनामा उल्लेख छ । यसका लागि नियमित सवारी चेकजाँचमा कडाई गरिने एसपी कोइरालाले जानकारी दिए । मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको निष्कर्षसहित प्रहरी हदैसम्मको कार्वाही गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।

‘मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालक उपर मुद्दा दर्ता गरी कानून बमोजिमको कारबाही गर्ने प्रक्रिया अब अघि बढ्छ’, एसपी कोइरालाले भने । प्रहरीले सार्वजनिक सवारीमा ‘डास बोर्ड क्यामेरा’ जडानमा पनि जोड दिएको छ । दुर्घटनाको समय दुई पक्षबीच हुने द्वन्द्वको अन्त्यका लागि यो क्यामेरा उपयोगी हुने अनुमान छ । यसबोहक एसपी कोइरालाले अवैध आयात तथा चोरी तस्करी नियन्त्रण, आत्महत्या न्युनीकरण, दुव्र्यसन रोकथाम, हिंसा नियन्त्रण, फरार अपराधी पहिचान र पक्राउ लगायतका विषयलाई प्राथमिकतामा राखेर सरोकारावालासँग छलफल र परामर्श गर्दै प्रहरी जनशक्ति परिचालनमा जोड दिएका छन् ।