किसान आन्दोलनका योद्धाको घर बनाइदिने बिर्तामोड नगरपालिकाको तयारी



बिर्तामोड– झापा आन्दोलनका योद्धा टंकप्रसाद चौधरीका लागि बिर्तामोड नगरपालिकाले घर बनाइदिने भएको छ । जीवनको उत्तरार्धमा किसान आन्दोलनका अगुवा चौधरीले घर निर्माणका लागि सरकारी सहायता पाउन लागेका हुन् । ७० वर्षीय चौधरी बिर्तामोड–४ स्थित आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

२०२८ सालको किसान बिद्रोहका क्रममा चौधरी पक्राउ परेका थिए । नौ बर्ष तीन महिनासम्म कठोर जेल जीवन बिताएका चौधरीलाई नगरपालिकाले घर बनाइदिने तयारी गरेको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए । चौधरीका लागि आवास निर्माण गर्न स्थानीय राजनीतिक तथा सामाजिक ब्यक्तित्व भक्तिप्रसाद तिवारी (बिदुर) ले साढे पाँचधुर जग्गा निःशुल्क दिएका छन् । तिवारीले जग्गा दिएपछि नगरपालिकाले घर निर्माणमा अग्रसरता देखाएको हो ।

तिवारीले नगरपालिकामा आयोजित कार्यक्रमका बीच मंगलवार चौधरीलाई धनीपूर्जा हस्तान्तरण गरेका छन् । धनीपूर्जा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख शिवाकोटीले यसैबर्ष चौधरीको आवास निर्माण गरिने बताए । जग्गादाता तिवारीले राजनीतिक योद्धालाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको उल्लेख गरे ।

चालु आर्थिक वर्ष भित्रमा बिर्तामोड नगरपालिकाले गरीव तथा विपन्न नागरिकका लागि २०० वटा घर निर्माण गर्ने लक्ष्य राखेको छ । बिपन्न आवास योजना अन्तरगत राजनीतिक पीडित चौधरीको घर निर्माण गरिने नगरपालिकाका प्रशासन प्रमुख देबराज कार्कीले बताए ।