प्रसाईले खोले २० करोड घुस माग्नुको कारण



चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रस्तावित बीएण्डसी मेडिकल कलेजले पत्रकार सम्मेलन गरेको छ । बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन डा गिरीले घुस मागेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाईले १५ मंसिरमा मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिएपछि द्धारीकाज होटलमा बोलाएर गिरीले २० करोड रुपैयाँ घुस मागेको दावी गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसम्म रकम पुग्ने भएकाले मेडिकल कलेजको सम्बन्धन २० करोड रुपैयाँ पाएपछि मात्रै दिने प्रस्ताव गिरीले गरेको प्रसाईको जिकिर छ । कार्यकारी निर्देशक प्रसाइले उक्त रकम दिन नसक्ने बताएपछि आयोगका उपाध्यक्ष गिरीले आफ्ना सम्धीको नाममा १० प्रतिशत शेयर पास गरिदिन भनेको समेत बताए । तर, प्रसाईको आरोप डा. गिरीले अस्वीकार गरेका छन् । उनले आरोप प्रमाणित गर्न चुनौति दिएका हुन् ।

चिकित्सा शिक्षा ऐन आइसकेपछि बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज सञ्चालन सम्बन्धनको प्रकृया अगाडि बढाउन दिइएको बीएण्डसीले दिएको निवेदन दर्ता हुन सकेको छैन । पत्रकार सम्मेलन गरी गिरीले आफूले कहीँकतै प्रसाईसँग नभेटेको र घुस नमागेको जिकिर गरेका छन् । उनले आफ्नो चरित्र हत्या भएको भन्दै कानुनी उपचारमा जाने बताए ।