सम्वन्धन रोकिँदा मेडिकल कलेजका पूर्वाधार अलपत्र



चिकित्सा शिक्षा ऐनका प्रावधानले नरोके पनि झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारले आनाकानी गरेको छ । सरकारी असहयोगका कारण झापाको धाइजनमा मेडिकल कलेज सञ्चालनका लागि बनाइएका पूर्वाधार पाँच वर्षदेखि अलपत्र छन् । अर्वाै लगानीमा निर्माण भएको भवन खण्डहर जस्तै भएको छ ।

धाइजनमा मेडिकल कलेज सञ्चालन गर्ने गरी झापा विर्तामोडको वीएण्डसी अस्पतालले १६ विघा जग्गा खरीद गरी दुई वटा भवन निर्माण गरेको थियो । सरकारले मेडिकल कलेज सञ्चालनका लागि आशय पत्र दिएपछि बैङ्क तथा वित्तिय संस्थास“गको साझेदारीमा अर्वाै लगानीमा पूर्वाधार निर्माण गरिए पनि अहिले विर्तामोडमा ३०० शैयाको वीएण्डसी अस्पताल मात्रै सञ्चालनमा छ ।

मेचीका करिव २७ लाख जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्थापित सो हस्पिटलले सबै मापदण्ड पूरा गर्दा पनि सरकारले एमवीवीएस कार्यक्रम सञ्चालन गर्न नदिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई बताउँछन् ।

बीएण्डसीको सम्वन्धन रोक्ने सरकारी कार्यशैलीको विषयमा सर्वसाधारणदेखि सांसदसम्मले विरोध गर्दै आएका छन् । पूर्वाधार पुगेका मेडिकल कलेजलाई तत्काल एमवीवीएस कार्यक्रम सञ्चालन गर्न नदिने सरकारी कार्यशैलीविरुद्ध झापाका सांसदले यसअघि खुलेरै आपत्ति जनाएका थिए ।

डा. गोविन्द केसीको माग सम्वोधन गर्ने नाममा मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्वन्धन नदिएर सरकारले वेइमानी गरिरहेको धेरैको बुझाई छ । संसदबाट पारित चिकित्सा शिक्षा विधेयकले भने यसअघि आशयपत्र लिएर मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा गरिसकेका कलेजलाई सम्वन्धन खुला गरेको छ ।

झापा विर्तामोडको वीएण्डसी अस्पतालले एमवीवीएस कार्यक्रम सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै पटक–पटक प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराउँदै आएको छ । वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाईले मेडिकल कलेजमा प्रचण्डको लगानी भएको भ्रमपूर्ण प्रचारबाजी गरेर सम्वन्धन रोक्न खोजिएकोप्रति आपत्ति जनाउँदै आएका छन् ।