सीसी क्यामेरा मर्मत नहुँदा व्यवसायी आक्रोसित



दमक– नगर क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा मर्मत नभएपछि व्यवसायीले असन्तुष्टि जनाएका छन् । सुरक्षाका लागि भन्दै चार बर्षअघि नगरपालिकासँगको सहकार्यमा दमकमा सीसी क्यामेरा जडान गरिएको थियो । तर, नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले क्यामेरा मर्मत गर्न चासो नदेखाएको व्यवसायीको गुनासो छ ।

इलाका प्रहरी कार्यालय दमकको निगरानीमा रहने गरी आठ स्थानमा सीसी क्यामेरा जोडिएको थियो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले २०७२ सालमा आफ्नै नेतृत्वमा जडान गरिएका आठ वटा सीसी क्यामेराको नियमित मर्मत र निगरानी गर्ने कार्यमा इलाका प्रहरी कार्यालय दमक र नगरपालिकाले चासो नदिएको बताए ।

संघका निवर्तमान अध्यक्ष राजेन्द्र ढकालका अनुसार व्यवसायी र प्रहरीबीच कुरा नमिल्दा सीसी क्यामेरा जडानका लागि प्रदेश सरकारबाट गत आर्थिक बर्षमा आएको बजेट फिर्ता गएको थियो । झापामा प्रहरी प्रमुखका रुपमा कृष्णप्रसाद कोइराला आएपछि फेरि सीसी क्यामेरा जडानले चर्चा पाएको छ । यद्यपि, दमकका व्यवसायी सीसी क्यामेरा जडानका नाममा थप व्ययभार व्यहोर्न नसक्ने अडानमा छन् ।