मापसे गर्ने चालकलाई अब हिरासतको बास



झापा प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्धको कार्बाही तीव्र बनाउने भएको छ । मापसे गरेर सवारी चलाउने चालकको सङ्ख्या बढेपछि प्रहरीले त्यसविरुद्धको कार्बाहीमा कठोर हुने निर्णय गरेको हो । ‘मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालक उपर मुद्दा दर्ता गरी कानून बमोजिमको कारबाही गर्ने प्रक्रिया अब अघि बढ्छ’, झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले भने ।

एसपी कोइरालाले मापसे गरेर सवारी चलाउने छुट कसैलाई नभएको भन्दै कार्बाहीमा कडाई गरिने बताए । उनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने उपर हदैसम्म कारबाही गर्ने पनि कार्य योजना सार्वजनिक गरिसकेका छन् । उनले मापसेविरुद्धको अभियानका लागि नियमित सवारी चेकजाँचमा कडाई गरिने जानकारी दिए ।

मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको निष्कर्षसहित प्रहरी हदैसम्मको कार्वाही गर्नुपर्ने अवस्थामा पुगेको हो । मोटरसाइकल चलाउने अधिकांश युवाले मापसे गरेर सवारी चलाउने गरेको भेटिएको छ । दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक बढी छन् । त्यसमा पनि युवाको सङ्ख्या अझै बढी छ ।