बुद्धशान्तिमा बर्ने पर्यटन बजार !



तीर्थ तिम्सिना– बुद्धशान्ति गाउँपालिकासँगको समन्वयमा ‘पर्यटन तथा हरित बुद्धशान्ति अभियान समिति’ ले बर्ने पर्यटन बजार सञ्चालनमा ल्याएको छ । बजारको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष भुजेलले पर्यटनको माध्यमबाट पनि बुद्धशान्ति गाउँपालिका समृद्ध बन्न सक्ने बताए । ‘गाउँपालिकाभित्र रहेका धार्मिक तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसार गर्न सके गाउँपालिका समृद्ध हुन्छ’, उनले भने ।

स्थानीयको चासो र सहयोग रहे गाउँपालिका पर्यटन प्रबद्र्धनमा सहयोग र सहकार्य गर्न पछि नहट्ने अध्यक्ष भुजेल बताउँछन् । मेची राजमार्ग अन्तर्गत करिव डेढ किलोमिटर बाटोको दायाँ÷बाँया बर्ने चिया बगान क्षेत्रको दृष्यावलोकन गर्न सकिनेछ । उक्त स्थानमा पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा समितिले छलफललाई निरन्तरता दिएको अभियानका अध्यक्ष खड्ग श्रेष्ठले बताए ।

बर्ने पर्यटन बजारको सडकको दुवैपट्टि सडक बत्ती जडान गर्ने, बुद्धशान्ति गाउँपालिका भित्रका प्रमुख पर्यटकीय क्षेत्रको फोटो राख्ने, भगवान गौतम बुद्ध, भगवान शिव, हात्ती, जगतगुर बालसन्तको मूर्ति राख्ने तयारी छ । अब सोही बाटोबाट इलाम, पाँचथर, ताप्लेजुङ र भारतको विभिन्न ठाँउ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकले चिया बगान घुम्ने, फोटो खिच्ने बाहेक अब पर्यटन बजार, ड्राई बनभोज, घोडचडी, जातीय भेषभुषामा फोटो सेसन समेत गर्न पाउने भएका छन् ।

यससँगै पानीको फोहोरा, आकर्षक फुलवारी बनाई पर्यटकहरुको लोभलाग्दो क्षेत्रको रुपमा विकास गर्ने समितिको लक्ष्य रहेको छ । हाल सो स्थानमा खानेपानी, शौचालयको ब्यवस्था गरिएको छ । चिया बगानभित्र २० वटा बनभोज स्थलको निर्माण गर्ने तयारी गरिएको छ । सम्याइएको ठाउँमा केही स्टल छन् भने अझ धेरै स्टलहरु राख्न बाँकी छ । यसका साथै पर्यटकहरुका लागि होमस्टेको परिकल्पना समेत गरिएको समितिले बताएको छ । बर्ने चिया बगानको दृश्य हेर्दै इलाम, पाँचथर, ताप्लेजुङ र भारततर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत तथा सम्मान जनाउन स्वागतद्वार निर्माण गर्ने तयारी छ ।