दमकमा सेउपाखा नाटक घर



दमक– झापाको दमक नगरपालिका–९ मा सेउपाखा बहुसांस्कृतिक नाटक घर सञ्चालनमा आएको छ । तीन वर्षअघि स्थापित कदम थिएटरले नाटक घर सञ्चालनमा ल्याएको हो । सेउपाखाको अर्थ धिमाल भाषामा नमस्कार भन्ने बुझिन्छ । थिएटरका महासचिव मोहन ढुंगाना भाषिक समावेशिता गराउने उद्देश्यले नाटक घरको नाम सेउपाखा राखिएकोे बताउँछन् ।

‘नाटक घरभित्रको संरचना सांस्कृतिक दृष्टिकोणबाट समावेशिता झल्कने गरी बनाइने छ’ उनले भने । नाटकघरको शनिवार दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी तथा नाट्यकर्मी राजन खतिवडाले उद्घाटन गरेका छन् । थिएटरको संरचना तथा नाटक घर निर्माणका लागि प्रदेश १ सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

बिनियोजित रकमबाट नाटक घर निर्माण सुरु गर्ने थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले बताए । नाटक घरका लागि नगरपालिकाले साढे तीन कट्ठा जग्गा उपलव्ध गराएको छ । यस्तै नगरपालिकामार्फत पाँच लाख रुपैयाँले जमिनसँगै रहेको खोलामा रिटेनिङ् वाल निर्माण गरिएको थिएटरका कोषाध्यक्ष सन्तोस दुलालले बताए । बाँसको भाटाले बेरिएको र खरले छाएको नाटक घर निर्माणमा एक सातादेखि कलाकार तथा समितिका पदाधिकारीहरु खटिएका छन् ।