इलामको सीमा क्षेत्रमा सुरक्षा पोष्ट थपिँदै



इलाम– सरकारले इलामको सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा पोस्ट थप गर्ने भएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा सरकारले सुरक्षा पोस्ट थप्न लागेको हो । सीमावर्ती सुरक्षामा सरकारले अहिले सशस्त्र प्रहरीलाई परिचालन गरिरहेको छ । सीमावर्ती अपराध, तस्करी नियन्त्रण र सीमा सुरक्षाका लागि सुरक्षा पोष्ट स्थापनाको तयारी गरिएको हो ।

नेपाल भारतको ५२ दशमलव ५ किलोमिटर क्षेत्रमा ६ वटा सीमा सुरक्षा बलको क्याम्प राख्ने तयारी गरिएको छ । इलाम झापाको सीमावर्ती क्षेत्रदेखि पाँचथरको सीमा क्षेत्रसम्म पर्ने इलामको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टका राख्न सरकारले स्वीकृति दिइसकेको सशस्त्र प्रहरी बलको अन्तु गण इलामले जनाएको छ ।

स्थायी रुपमा राखिने पोष्टका लागि जग्गा खोजी गरी पक्की संरचना निर्माण गर्ने र तत्कालका लागि भाडाको घर र भएका सरकारी संरचनामा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताए । जिल्ला सुरक्षा समितिका अनुसार सन्दकपुर गाउँपालिकाको जैबारी, सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङ्ग, छब्बिसे र समाल्बुङ्गमा तत्कालै सीमा सुरक्षा पोष्ट स्थापनको तयारी भएको छ ।