अडिलो खाजाका रुपमा ‘भक्का’ लोकप्रिय



बिर्तामोड–झापा लगायत तराईका जिल्लामा बिहानको खाजाका रुपमा चामलको पिठोबाट बनाइएको परिकार भक्का लोकप्रिय हुँदै गएको छ । सबै बर्गका मानिसले भक्कालाई प्रिय खाजाका रुपमा उपभोग गरिरहेका छन् । तराईका आदिवासी समुदायका महिला व्यवसायिकरुपमा भक्का बनाउन सक्रिय छन् ।

पुस माघको ठन्डीमा विहान सबेरै आदिवासी राजवंशी समुदायका महिला चामलको पिठो र दाउरा लगायतका सरसामान बोकेर सहरका चोक चोकमा आइपुग्छन् । भाडामा पानी तताएर वाष्पिकरण विधिमार्फत कचौरा आकारमा भक्का बनाउँछन् र बेच्छन् । झापा, मोरङ, सुनसरी लगायत तराईका जिल्लामा विहानको खाजाका रुपमा भक्का लोकप्रिय छ ।

आदिवासी समुदायकी अगुवा महिला द्रौपदी गणेश भन्छिन्, ‘आफन्त र छरछिमेकी सबैलाई बोलाएर भक्का खाने चलन आदिवासी समुदायमा छ । माछा मासुसँग पनि भक्का खाइन्छ । आलु, बैगुन र कोपीको तरकारीसँग पनि भक्का खाने गरिएको चलन पुरानो हो । भक्का अहिले सबै मानिसको प्रिय खाजा हुँदै जानु खुशीको कुरा हो ।’

भक्का बनाउने चामललाई एक दिनअगाडि भिजाउनुपर्छ । भक्का बनाउने चामल ओखली, मिल वा ढिकीमै कुटेर पीठो बनाइन्छ । त्यसपछि थोरै पानी हालेर मुछिएको पीठोलाई कचौराको आकार दिइन्छ । अनि, एउटा भाँडोमाथि अर्काे माटोको भाँडोमा एउटा मात्र प्वाल बनाई चुलोमा राखिन्छ । पकाउने क्रममा उक्त प्वालबाहेक अन्यत्रबाट बाफ नछिर्ने गरी छोप्नुपर्छ । भाँडामा उमालिएको पानीको वाफबाट पिठो पाकेपछि स्वादिलो भक्का बन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का सबैका लागि लोकप्रिय हुन थालेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पवन राजवंशी बताउँछन् ।

जाडो सिजनमा राजवंशी जातिमा भक्का खाने परम्परागत चलन छ । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रूपमा समेत लोकप्रिय हुन थालेपछि राजवंशी समुदायले यसको व्यवसायिक प्रवद्र्धन अभियान थालेका छन् । राजवंशी जातिले यसको संरक्षण र प्रवद्र्धन गर्न भन्दै केही वर्षयता पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएको आदिवासी समदायकी अगुवा महिला सनम राजवंशी बताउँछिन् । गत वर्ष झापाको घैलाडुब्बामा भक्का दिवस मनाइएको थियो ।

कोच राजवंशी समुदायमा भक्काको विशेष स्थान र महत्व छ । जाडो मौसममा राजवंशी जातिमा छोरी–चेलीलाई बोलाएर भक्का, पिठ खुवाउने चलन छ । आदिवासी समुदायको यही संस्कार अहिले व्यवसायिक बन्दै जाँदा सहर बजारमा भक्काको लोकप्रियता बढेको हो ।

भक्का दिवसका अवसरमा मंगलबार एकाबिहानै गाउँबाट एक हुल राजवंशी महिलाहरू ‘पेटानी’ लगाएर बिर्तामोड आइपुगे । पूर्व–पश्चिम राजमार्ग किनारमै लस्करै बसे । र, भक्का बनाउन थाले । नजिकै माछा, तरकारी, भान्टा–कोपीको तरकारी र अर्को भाडामा टमाटरको अचार राखिएको थियो । दिवसका अवसरमा सहभागी आदिवासी गैरआदिवासी समुदायका करिब एक हजार जनाले आदिवासी राजवंशी समुदायको भक्का विभिन्न परिकारसँग खाए ।

दिवसका अवसरमा कोचिला गाभुर फ्रन्टले सांस्कृतिक नृत्यसहित निःशुल्क भक्का खाने कार्यक्रम आयोजना गरेको थियो । ‘आम मानिसले भक्कालाई सामान्य खाजाको रूपमा मात्र बुझेका छन् । तर, त्यस्तो होइन । कोच राजवंशी समुदायमा भक्काको विशेष स्थान र महत्व छ । त्यसबारे जानकारी दिन प्रत्येक वर्ष पुस २९ गते भाक्का दिवस मनाउन थालेका हौँ’, फ्रन्टका अध्यक्ष अभय राजवंशीले भने ।

‘भक्कामा कुनै मिसावट छैन । स्वास्थ्यका लागि एकदम लाभदायी छ,’ बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले भने, ‘भक्का राजवंशी जातिको परम्परागत खान्की भए पनि अहिले सबैको लोकप्रिय बनेको छ ।’ भाक्का दिवस कार्यक्रममा भारतको मेघालय, असम, पश्चिम बंगाल र बिहारका राजवंशीहरू पनि सहभागी थिए ।