सार्वजनिक सवारीमा ‘टाइम कार्ड’ लागू गर्ने सहमति



सवारी दुर्घटना कम गर्न सरोकारवालाहरु सार्वजनिक सवारीमा ‘टाइम कार्ड’ लागू गर्न सहमत भएका छन् । यातायात व्यवसायी र मजदूरले सवारी दुर्घटनाको जोखिम कम गर्ने उपायस्वरुप टाइम कार्ड लागू गर्ने विषयमा सहमति जनाएका हुन् । सरोकारवाला सहमत भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आइतवारदेखि ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरेको छ ।

‘सवारी दुर्घटना न्यूनीकरण गर्न आइतबारदेखि यात्रु बोक्ने सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू हुने भएको छ’, झापाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले भने, ‘यसमा सबै सरोकारावाला सहमत छन् ।’ प्रनि अधिकारीले सार्वजनिक सवारीमा कडाइपूर्वक टाइम कार्ड लागू हुने बताए । टाइम कार्ड झापाभर लागू हुनेछ ।

पूर्वीनाका काँकडभिट्टाबाट छुटेको यात्रुवाहक सवारीले विर्तामोडसम्म आइपुग्न न्यूनतम् पनि ३० मिनेट लगाउनु पर्ने प्रहरी निरीक्षक अधिकारीले बताए । ‘टाइम कार्ड पालना भए नभएको विषयमा ट्राफिक प्रहरीले अनुगमन गर्छ’, उनले भने । विर्तामोडदेखि झापाको पश्चिम क्षेत्र दमक पुग्न न्यूनतम् ५५ मिनेट लगाउनु पर्नेछ । टाइम कार्ड लागू नभए जरिवाना लगायतका कार्बाही हुने उनले बताए ।

टाइम कार्ड लागू भएपछि तीव्र गतिमा हुइँकिने सवारी आफैंँ नियन्त्रित हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको साउन महिनायता सवारी दुर्घटनामा परी झापामा ३९ जनाले ज्यान गुमाएका छन् । पूर्वको सीमाना काँकडभिट्टादेखि पश्चिमको सीमाना मावा खोलासम्मको ५५ किलोमिटर क्षेत्रफल र सहायक सडक–खण्डमा भएका सवारी दुर्घटनामा परी दुई सय जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केही घर फर्किएका छन् । अहिले पनि धेरै दुर्घटनाका घाइते अस्पतालमा उपचाररत छन् । उपचारमा रहेकामध्ये अधिकांशको अवस्था गम्भीर छ ।