सापकोटा सभामुखको उमेद्वार




नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेता अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएको छ । नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको नेकपा सचिवालय बैठकले सभामुखको उमेद्वार टुंगो लगाएको हो । नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभाले सभामुख पाउने बाटो खुला भएको महासचिव पौडेलले बताए । सापकोटा सभामुख बन्ने पक्कापक्की छ ।

सिन्धुपाल्चोकको चौतारा–६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट २०१४ साल फागुन २४ गते जन्मिएका सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए ।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुईवर्ष जेल जीवन बिताएका थिए । २०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत थिए । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । सापकोटा दुई पटक मन्त्री भइसकेका नेता हुन् ।