धरानमा बुढासुब्बा गोल्डकपको तयारी यस्तो छ



 

सुनसरी– २२ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १० गतेदेखि १७ सम्म धरान रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको हो । धरान रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राईले खेल मैदानको व्यवस्थापन, प्याराफिट निर्माण, टिम व्यवस्थापन, अनलाइन टिकेटिङ सुविधा, अतिथि आमन्त्रण लगायत सम्पूर्ण तयारी पूरा भएको बताए ।

गोल्डकपमा २ विदेशीसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विदेशी टिम दुर्गापुर वेष्ट बंगाल र यूके एफसी भारत सहित नेपालका मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौ, मच्छिन्द्र क्लब काठमाडाँै, बेलबारी फुटबल क्लब मोरङ, मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टर झापा र आयोजक धरान फुटबल क्लबको सहभागिता रहनेछ ।

कोरोना भाइरसको कारण जापानिज टोली सहभागी नहुने भएपनि प्रतियोगिताको तालिकामा भने कुनै परिवर्तन गरिएको छैन । प्रतियोगितामा ६५ वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था समेत क्लबले मिलाएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार पाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार, सर्वाधिक गोलकर्ताले नगद २५ हजार पुरस्कार जित्नेछन् । त्यस्तै उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार जित्नेछन् । २१ औँ संस्करणको उपाधि क्यामरुनको दाउपफिन्स फुटवल क्लवले जितेको थियो भने आयोजक उपविजेता बनेको थियो ।