सताक्षी गोल्डकप : आर्मीलाई हराउँदै मच्छिन्द्र फाइनलमा



 

सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि मच्छिन्द्रले थ्रि स्टार क्लबको सामना गर्ने भएको हो । आयोजकलाई हराउँदै थ्रि स्टार फाइनल प्रवेश गरेको हो । थ्रि स्टार लिगको अंक तालिकामा चौथो स्थानमा रहेको थियो ।

झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्रले आर्मीविरुद्ध दुई गोल गरेको छ । खेलको सुरुवातदेखि नै मच्छिन्द्रले आर्मीलाई दबाबमा राखेको थियो । खेलको २१ औँ मिनेटमा विपक्षी गोल किप्पर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै, खेलको ७४ औँ मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बि’ को प्रहार आर्मीका गोल किप्परबाट फुस्किएको गोल विकास खवासले बचाउन खोज्दा अन गोल भएको थियो ।

यसअघि खेलको छैटौँ मिनेटमा मच्छिन्द्रका विमल घर्ती मगरको २५ यार्ड टाढाको प्रहार आर्मीका गोल किप्पर विवश चौधरीले पञ्च गरेर बचाएका थिए । २४ औँ मिनेटमा मच्छिन्द्रका अडेलाजा सोमिडेले आर्मीका चारजना डिफेन्सबाट छक्याएर गरेको प्रहार पनि चौधरीले पञ्च गरेर बचाए । २६ औँ मिनेटमा पिटर सेगुनको प्रहार बार नजिकैबाट बाहिरियो । ३१ औँ मिनेटमा बिमल घर्ती मगरको प्रहार विफल भयो । त्यस्तै, खेलको पहिलो मिनेटमै आर्मीका जर्जप्रिन्स कार्कीको प्रहार बाहिरिएको थियो ।

नवौँ मिनेटमा सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोल किप्पर सूर्य अधिकारीले बचाएका थिए । २८ औँ मिनेटमा कार्कीकै फ्रिकिक प्रहार बारको निक्कै माथि आकाशिएको थियो । खेलको ५७ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिक गोल किप्पर अधिकारीले पञ्च गरेर बचाए । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा भए । उनले नगल १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।