कनकाईलाई सुखानी सहिद स्मृति गोल्डकपको उपाधि



 

झापा– कनकाई नगर खेलकुद विकास समिति झापाले महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै कनकाइले उपाधि रक्षा गरेको हो । अर्जुनधारा–९ खरबन्दीस्थित नमुना खेलमैदानमा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलोपल्ट जितेको हो ।

कनकाईको जीतका लागि खेलको २८ औँ मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९ औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । खेलको ६९ औं मिनेटमा ताप्लेजुङका तर्फबाट पवित्रा लिम्बूले गोल गरे पनि हार भने टार्न सकिनन् । प्रतियोगिताको विजेता कनकाईले नगद १ लाख २५ हजार पायो भने उपविजेता ताप्लेजुङले ७५ हजारसहित शिल्डमा चित्त बुझाउनु परेको छ । त्यसैगरी प्रतियोगिताको वुमन अफ द टुर्नामेन्ट कनकाईकी कुसुम खतिवडाले १२ हजार, फाइनल खेलको वुमन अफ द म्याच कनकाईकी नेहा चौधरीले पाँच हजार र बेस्ट कोच कनकाईका सन्त रायमाझीले पाँच हजार प्राप्त गरेका छन् ।

उपबिजेता टीमलाई पुरस्कार तथा शिल्ड बितरण गर्दै मुख्यमन्त्री शेरधन राई, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी लगायत । तस्वीर–विष्णु कुल श्रेष्ठ

त्यस्तै बेस्ट फरवार्ड कनकाईकी लक्ष्मी श्रेष्ठ, बेस्ट मिडफिल्डर ताप्लेजुङकी सुनकला राई, बेस्ट डिफेन्स कनकाईकी सुस्मिता चौधरी र बेस्ट गोल किप्पर कनकाईकी जशोदा लावतीलाई जनही सात हजार प्रदान गर्दा प्रतियोगिताको फेयर प्ले पारिजात महिला फुटबल क्लब झापालाई नगद १० हजारसहित ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकास मन्त्री जसमाया गजमेर, प्रदेश सांसद्हरु अर्जुन राई, वृख प्रधान र हीरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराईलगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत प्रदेश सांसद् एवम् प्रतिष्ठानका सदस्य वृख प्रधानले र कार्यक्रमको सञ्चालन महासचिव हर्कराज राईले गरेका थिए ।