कचनकवलमा छोरी बुहारीलाई स्नातकसम्म निःशुल्क शिक्षा



 

बनियानी–दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी बुहारीले स्नातक तहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । कचनकवल गाउँपालिकाले निःशुल्क शिक्षा अभियान अन्तरगत गाउँपालिका क्षेत्रका सबै छोरी–बुहारीलाई स्नातक तहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो ।

‘शिक्षा विकासको मेरुदण्ड हो’, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने, ‘महिलालाई सक्षम एवम् आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्म निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।’ कचनकवल गाउँपालिकाले यसअघिदेखि कक्षा–१२ सम्म सबैलाई निःशुल्क पढाउँदै आएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउँछन् । ‘सम्पन्न र हुनेखानेहरुका छोराछोरी अन्यत्रै गएर पनि पढ्छन्’, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागिपरेको छ ।’

गाउँपालिकाले दुईसय भन्दाबढी छोरी–बुहारीलाई मासिक ८५० रुपैयाँका दरले अध्ययन खर्च दिने गरेको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिइन् । ‘महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेका छौँ’, उनले भनिन्, ‘महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन कुनै कसर बाँकी राखिने छैन ।’ त्यस्तै, कचनकवलका सात वडाका आठवटा विद्यालयमा नमूना बाल कक्षा (स्मार्ट कक्षा) समेत सञ्चालन भइरहेको छ ।

सांसद् विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बाल कक्षा सञ्चालन भइरहेको हो । कचनकवलमा सामुदायिकतर्फ सातवटा मावि, सातवटा आधारभूत र १३ वटा प्रावि गरी २७ वटा विद्यालयमा सातहजार ३९० जना विद्यार्थी अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए । त्यस्तै, १३ वटा निजी विद्यालयमा तीनहजार विद्यार्थी अध्ययनरत छन् ।

गाउँपालिकामा दुईवटा गुरुकुल, १० वटा मदरसा, दुईवटा सामुदायिक सिकाइ केन्द्रसमेत सञ्चालन भइरहेको प्रमुख बस्नेतले बताए । ती मदरसा र गुरुकूलमा समेत गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ । शिक्षालाई प्रविधियुक्त बनाउन गाउँपालिकाले सबै माविलाई २०÷२० थान कम्प्युटर र शिक्षकको समेत व्यवस्था गरेको छ । गाउँपालिकाको निजी स्रोतमा १४ जना कम्प्युटर शिक्षकले अध्यापन गराउँदै आएका छन् । यस्तै, विद्यार्थीलाई कृषिमा आकर्षित गर्न ‘विद्यार्थी कृषि सहकारी कार्यक्रम’ समेत गाउँपालिकाले अघि सारेको छ । कचनकवलले शैक्षिक क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा एक करोड दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष आलमले बताए ।