बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने तयारी



बिर्तामोड–झापाको विर्तामोड नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने भएको छ । आइतवार विहान बसेको वैठकले मेची आँखा अस्पतालमा ५० र कञ्चनजङ्घा हेल्थ साइन्समा ४० गरी कुल ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो ।

नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार दैनिक खाद्य वस्तु र अत्यावश्यक सामग्री उपलव्ध गराउन अनुगमन कार्यलाई सक्रिय वनाइने पनि भएको छ । नगर स्तरीय अनुगमनका लागि नगर प्रमुख ध्रुव शिवाकोटी संयोजक र उप प्रमुख पवित्रा महतारा सह संयोजक तोकिएका छन् । वडास्तरमा पनि अनुगमन समिति गठन गरी कालोबजारी नियन्त्रणका लागि सक्रिय रहने नगरपालिकाले जनाएको छ ।

विदेशबाट आउने व्यक्तिको रेकर्ड राख्न वडाका जनप्रतिनिधिलाई सक्रिय वनाउने पनि निर्णय भएको छ । नगरपालिकाको स्वास्थ्य शाखालाई क्रियाशील राख्दै सूचना र जानकारी नियमित प्रवाह गरिने भएको छ । यसअघि कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि विर्तामोड नगरपालिकाले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी बीचमा दुईपटक अन्तरक्रिया गरिसकेको जनाएको छ ।

सवै अस्पतालमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकिएको छ । यसैगरी स्वास्थ्य संस्था र अस्पतालहरुमा ज्वरोको अनिवार्य परीक्षण पनि शुरु गरिएको छ । सार्वजनिक र आमसञ्चार माध्यममार्फत सचेतनामूलक सामग्री प्रकाशन प्रशारण पनि भइरहेको विर्तामोड नगरपालिकाले जनाएको छ ।