कोरोनाको जोखिम : झापामा ६० जना भन्दाबढीलाई क्वारेन्टाइन र आइसोलेसनमा राखियो



 

कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा झापामा ६५ जना भन्दाबढीलाई मङ्गलवार दिउँसोसम्म स्थानीय तहमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइन र मेची अस्पतालको आइसोलेसनमा राखिएको छ । तीमध्ये धेरैजसो क्वारेन्टाइनमा नगई सेल्फ क्वारेन्टाइनमा घरमै बसेका छन् । बैदेशिक रोजगारीबाट फर्किएकामध्ये शङकास्पद अवस्थाका नागरिकलाई पहिचान गरी क्वारेन्टाइनमा राख्न थालिएको हो ।

क्वारेन्टाइनमा राखिएकाहरुको नियमित स्वास्थ्य जाँच भइरहेको छ । झापा बाहुनडाँगीको सरस्वती प्राविमा पाँच जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई केही दिनदेखि क्वारेन्टाइनमा राखिएको स्थानीयले बताएका छन् । एक जनालाई भने मङ्गलवार मात्रै मेची अस्पतालको आइसोलेसनमा राखिएको हो । गौरादहका स्थायी बासिन्दा ती व्यक्ति कतारबाट फर्किएका हुन् ।

फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी कोरोना सङ्क्रमित युवतीसँगै ती युवक पनि आएको जनाइएको छ । युवतीमा कोरोना सङ्क्रमण भएको सोमवार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । त्यसयता सरकारले युवतीसँगै विमानमा आउने नागरिकको खोजी सुरु गरेको छ । ती युवतीलाई कोरोना सङ्क्रमण भएको सार्वजनिक भएलगत्तै काभ्रेका दुई युवक सम्पर्कमा आएर अस्पताल भर्ना भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरस्थित धाइजनको क्वारेन्टाइनमा १६ जनालाई राखिएको छ । बुद्धशान्ति गाउँपालिकामा १३ जना होम क्वारेन्टाइनमा छन् । भद्रपुरमा पनि सात जना होम क्वारेन्टाइनमै छन् । बिर्तामोडमा एक जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । बिर्तामोडका ती व्यक्तिले क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन् । अन्त्यमा उनलाई होम क्वारेन्टाइनमै राखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

झापा गाउँपालिकामा १४ जना होम क्वारेन्टाइमा छन् । हल्दीवारीमा दुई, अर्जुनधारामा दुई र दमकमा एक जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । यसबाहेक वैगुनधुराका दुई जना र शिवसताक्षीस्थित माइधारका एक जनालाई मङ्गलवार चन्द्रगढी क्वारेन्टाइनमा पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।

के हो क्वारेन्टाइन ?

हेर्दा लक्षणअनुसार सङ्क्रमण नभएको तर सङ्क्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई सङक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ । क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्छ ।

कोरोना भाइसरको सन्र्दभमा १४ दिन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ । कोरोना भाइरस व्यक्तिको शरीरमा प्रवेश गरेको सरदर १४ दिनभित्र लक्षण विकसित हुन्छ । त्यसपछि पनि लक्षण नदेखिने भन्ने चाँहि होइन ।

सेल्फ क्वारेन्टाइन
कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भने पनि पछि गएर लक्षण देखिन सक्छ । त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ । अन्य व्यक्तिको सम्र्पकमा आउनु हुँदैन । यसरी अलग्गै बस्नुलाई सेल्फ क्वारेन्टाइन भनिन्छ ।

के हो आइसोलेसन ?
यदि कुनै व्यक्तिमा सङ्क्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ । यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ । आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ ।