प्रदेश १ सरकारद्धारा कोरोनाविरुद्ध १० करोडको कोष स्थापना



मोरङ– प्रदेश १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गर्ने निर्णय गरेको छ । कोषमा मुख्यमन्त्री सहितमन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय भएको छ । बैठकले सबै मन्त्रालयमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सन तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।