कोरोना सङ्क्रमित विद्यार्थीसँग आउने दुई युवा धरानका



 

धरान– कोरोना भाइरस सङक्रमित युवतीसँग एउटै प्लेनमा नेपाल आएकामध्ये दुई जना युवक धरानका रहेको खुलेको छ । फ्रान्सबाट कतार हुँदै चैत ४ गते कोरोना सङ्क्रमित युवतीसँगै ती युवक पनि एउटै जहाजमा नेपाल आएको पुष्टि भएको हो । विद्यार्थी रहेकी १९ वर्षीय युवतीमा कोरोना सङ्क्रमण भएको सोमवार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

सरकारले युवतीसँगै विमानमा आउने नागरिकको खोजी सुरु गरिरहेका बेला धरानका दुई युवक पनि रहेको भेटिएको हो । ती युवतीलाई कोरोना सङ्क्रमण भएको सार्वजनिक भएलगत्तै काभ्रेका दुई युवक सम्पर्कमा आएर अस्पताल भर्ना भएका छन् ।

युवतीसँगै आएको भनिएका झापाका एकजना युवालाई पनि मङ्गलवार उपचारका लागि मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ । धरान ६ र १६ का ती दुई युवकलाई क्वारेन्टाइनमा पठाउने विषयमा धरान उपमहानगरपालिकाले तयारी गरिरहेको बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।