बिदेशबाट फर्किएका युवा भेट्दै बुद्धशान्ति गाउँपालिकाको टोली



 

झापाको बुद्धशान्ति गाउँपालिकाले बैदेशिक रोजगारीबाट हालै फर्किएका युवाको स्वास्थ्य जाँच गरेको छ । गाउँपालिका अध्यक्ष रमेश भुजेल र प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईसहित स्वास्थ्यकर्मीको टोलीले मङ्गलवार घरमै पुगेर उनीहरुको अवस्थावारे जानकारी लिएको हो ।

बुद्धशान्ति गाउँपालिकामा इटली, कतार र युएई भारतमा रोजगारी गरेर हालै फर्किएका युवा छन् । उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । निगरानीमा रहेका युवामध्ये केहीको अवस्था सामान्य छ भने केहीलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । अहिलेसम्म बुद्धशान्तिका १३ जना युवा सेल्फ क्वारेन्टाइनमा छन् । बुद्धशान्तिले पाँच वेड क्षमताको क्वारेन्टाइन पनि निर्माण गरेको छ ।

बैदेशिक रोजगारीबाट फर्किएका युवा कोरोनाको उच्च जोखिममा हुने भन्दै गाउँपालिकाले हालै फर्किएका युवाको विवरण पनि सङ्कलन गरिरहेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय झापाले बैदेशिक रोजगारीबाट फर्किएका युवाको लगत सङ्कलन कार्य सुरु गरेको थियो । सरकारले रोजगारीबाट फर्किएका युवालाई निगरानीमा राख्न मातहतका निकायलाई निर्देशन दिएको छ ।