विपन्न १० परिवारलाई ‘लक डाउन’ मा खाना खुवाउने पोखरेलको घोषणा



झापा– कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लक डाउन (निषेधाज्ञा) गरेपछि दैनिक ज्यालादारी गरेर छाक टार्नेहरु समस्यामा परेका छन् । सरकारले घर बाहिर ननिस्किन भनेपछि उद्योगधन्दा कलकारखाना लगायत सबै क्षेत्रको काम ठप्प भएको छ । यस्तो अवस्थामा कामविहीन भएर बसेका धेरै ज्याला मजदूरी गर्ने परिवार सङ्कटमा छन् । उनीहरुलाई हातमुख जोर्न समस्या छ ।

दैनिक ज्याला मजदूरी गरेर पेट पाल्दै आएकाहरुको समस्यालाई बुझेर झापा भद्रपुरका सामाजिक अगुवा अभियानकर्मी युवा व्यक्तित्व मदन पोखरेलले अति विपन्न १० वटा परिवारलाई खाद्यान्न सहायताको घोषणा गरेका छन् । उनले भद्रपुर वडा नम्वर ६ मा रहेका विपन्न १० परिवारलाई खानाको व्यवस्थापन गर्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत त्यसका लागि वडाले सिफारिस गर्नु पर्ने जनाएका छन् ।

‘उद्योगपति धन धनाड्यहरु गुमनाम रहेको बेला कुनै व्यापार बिजनेस नभएको तपाईं बागमती सफाइ अभियन्ता विशाल हृदयको धनी मदन जी तपाईंलाई नमन गर्दै १५० पटक स्यालुट गर्दछु ।’

वडाध्यक्ष प्रेम बरुवाल, वडा सदस्य प्रकाश शर्मा लगायतसँग यस विषयमा छलफल भएको पोखरेलले जानकारी दिए । ‘लक डाउन अवधिधर विपन्न १० परिवारलाई खानाको व्यवस्था गर्ने घोषणा गर्दछु’, उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । पोखरेलको यो घोषणालाई स्वागत गर्दै धेरैले प्रशंसा व्यक्त गरेका छन् । फेसबुक प्रयोगकर्ता प्रकाश शर्माले आफू पनि सहयोग गर्न तयार रहेको भन्दै कमेन्ट गरेका छन् । गङ्गा खड्गी लेख्छिन्, ‘तपाईजस्तै अरु मनकारी मान्छेको खाँचो छ ।’

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पनि पोखरेलको घोषणाप्रति कमेन्ट गर्दै थप केही भए वा परे भन्न अनुरोध गरेका छन् । अर्का फेसबुक प्रयोगकर्ता ताराबहादुर कुँवर कमेन्ट बक्समा लेखेका छन्, ‘उद्योगपति धन धनाड्यहरु गुमनाम रहेको बेला कुनै व्यापार बिजनेस नभएको तपाईं बागमती सफाइ अभियन्ता विशाल हृदयको धनी मदन जी तपाईंलाई नमन गर्दै १५० पटक स्यालुट गर्दछु ।’