प्रज्ञा एकाडेमीद्वारा विपन्न परिवारलाई चामल



 

चन्द्रगढी–भद्रपुर–९ चन्द्रगढीस्थित प्रज्ञा एकाडेमीले चन्द्रगढी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका एक सय घर परिवारलाई चामल तथा दाल वितरण गरेको छ । विद्यालयको सौजन्यमा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा अति विपन्न श्रमिक मजदुर परिवारलाई दाल चामल वितरण गरिएको हो । कोरोना भाइरसको सङक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेपछि कामविहीन भएका विपन्न परिवारलाई गुजारा चलाउन समस्या परिरहेका बेला प्रज्ञाले खाद्यान्न बाँडेको हो । प्रतिपरिवार पाँच किलो चामल र आधाकिलो दाल वितरण गरिएको छ ।

सामाजिक दायित्व स्वरूप नगर सरकारसित समन्वय गरी चामल वितरण गरेको विद्यालयका संस्थापक÷प्रिन्सिपल इशुभ पाण्डेले बताए । चामल वितरण कार्यक्रममा भद्रपुर–१० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, वडा सदस्य तुलसी पोखरेल, भद्रपुर–९ का कार्यवाहक वडाध्यक्ष राम दाहाल वडा सदस्य नुतन पौडेल, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल, सञ्चारकर्मी द्रोण अधिकारी लगायतको सहभागिता रहेको थियो । यस अगाडि सो विद्यालयले १५०० मास्क चन्द्रगढी बजार क्षेत्रमा कोरोना रोग सक्रमण सचेतना अन्तर्गत वितरण गरेको थियो ।