विमानका यात्रुमा धमाधम कोरोना भेटिदै : यस्तो छ तेस्रो व्यक्तिको नालीबेली



 

हवाई मार्ग हुँदै भित्रिएका नेपालीमा कोरोना भाइरसको सङक्रमण एकपछि अर्काे हुँदै पुष्टि भएको छ । सङ्क्रमण भएका तीनैजना नेपाली हवाई मार्गबाट नेपाल प्रवेश गरेका हुन् । पहिलोपटक चीनबाट नेपाल आएका ३१ वर्षीय विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको थियो ।

चिनियाँ सहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट जनवरी ९ मा काठमाडौँ उत्रिएका उनी शङ्का लागेपछि जनवरी १३ मा टेकु अस्पताल पुगेका थिए । परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना सङ्क्रमित पहिलो नेपाली उनी उपचारपछि अहिले स्वस्थ्य छन् ।

पहिलो व्यक्ति सङ्क्रमित भएको दुई महिनापछि नेपालमा फेरि दोस्रो व्यक्तिमा कोरोनाको सङ्क्रमण पुष्टि भयो । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै चैत ४ मा नेपाल भित्रिएकी युवतीमा कोरोना देखियो । उनी विद्यार्थी हुन् । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी त्यस विषयमा जानकारी दिएपछि देशभर कोरोनाको सङ्क्रमण फैलिने जोखिम बढेको छ । जोखिम बढेपछि देश साताव्यापी लक डाउनमा छ ।

सरकारले विमानमा ती युवतीसँगै यात्रारत सबै यात्रुको खोजी गरिरहेको छ । कतिपय यात्रु आत्तिएर चिकित्सकको सम्पर्कमा पनि पुगेका छन् । विमानमा झापा, बाग्लुङ उदयपुर, काभ्रे, पाँचथर, सुनसरी लगायतका जिल्लाका यात्रु रहेका थिए । कतिपय होम क्वारेन्टाइनमा बसेका छन् भने केहीलाई आइसोलेसनमा राखिएको छ । झापाका पनि केही यात्रु ती युवतीसँगै कतारबाट काठमाडौँ आएको खुलेको छ ।

नेपालका तेस्रो कोरोना सङ्क्रमित धादिङका ३२ वर्षीय पुरुष हुन् । चैत ६ गते कतारबाट नेपाल आएका उनी काठमाडौँमा होटेलमा बसेका थिए । मङ्गलबार असहज महसुस भएपछि उनी टेयाक्सी चढेर टेकु अस्पतालमा पुगेका थिए । स्वास्थ्य जाँचका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । उनलाई कोरोना भाइरसको सङ्क्रमण रहेको पुष्टि पहिलो पटक गएराति १२ बजे भएको थियो ।

कन्फर्म हुनका लागि बुधवार दोस्रोपटक गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ पाइएपछि प्रयोगशालाले तेस्रो सङ्क्रमित व्यक्तिका विषयमा जानकारी दिएको हो । अहिले उनको टेकुस्थित सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । काठमाडौँ उत्रिएपछि ती युवक घुमघाम र पार्टीमा सहभागी भएको खुलेको छ ।

सरकार ती व्यक्ति बसेको होटल र उनीसँग सम्पर्कमा आएका व्यक्तिको खोजतलास अभियानमा जुटेको छ । उनले होटलबाट अस्पताल जाँदा ट्याक्सी प्रयोग गरेका थिए । प्रहरीले ट्याक्सीको पनि खोजी गरिरहेको छ । कोरोना भाइरसबाट सङ्क्रमित तेस्रो व्यक्ति चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट काठमाडौँ उत्रिएका हुन् । सो विमान राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सो विमानमा आएका यात्रुलाई सरकारको सम्पर्कमा आउन आह्वान गरेका छन् ।