कोरोनाविरुद्ध यस्ता छन् बुद्धशान्ति गाउँपालिकाका १० निर्णय



 

झापाको बुद्धशान्ति गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन बुधवार विभिन्न निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकमा उपाध्यक्ष मीरा भुर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँई, सातवटै वडाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले गरेका निर्णय यस्ता छन् ।

१. विश्वभरि महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भइरहेको सचेतनामुलक प्रचार–प्रसारको कार्यलाई अझ प्रभावकारी ढंगले तीव्रताका साथ बुद्धशान्ति क्षेत्र भरी अघि बढाउने ।

२. लक डाउनको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने, गराउने र उक्त अवधिमा अति आवश्यक कार्यहरु जस्तै तरकारी पसल, खाद्यान्न पसल र भण्डारण, दूध, औषधि पसल र क्लिनिक र अस्पताल र स्वास्थ चौकी निर्वाध रुपमा सञ्चालनमा आउनदिने । पसलमा लाइन बसी दुरी कायम गरेर मात्र सामग्री विक्री वितरण गर्ने गराउने ।
३. कोरोना संक्रमण शंकास्पद व्यक्तिहरुलाई वडाध्यक्षहरुको जानकारीका आधारमा अस्पताल तथा क्वारेन्टाइनमा पु¥याउनका लागि वार्डपालिका तथा गाउँपालिकाले तुरुन्त व्यवस्था मिलाउने ।

४. पछिल्लो समय हालसालै विदेशबाट आउनुभएका व्यक्तिहरुको पहिचान गरी सम्बन्धित वडाको अध्यक्ष तथा वडा सदस्य ज्यूहरु र स्वास्थकर्मीको सहयोगमा स्वास्थ्य परीक्षण गर्ने, गराउने । आवश्यकता हेरी अस्पताल लाने र क्वारेन्टाइनमा राख्ने र निगरानीमा राख्ने व्यवस्था मिलाउने ।

५. सम्बन्धित वडा कार्यालयबाट आएको तथ्याङ्कको आधारमा दैनिक मजदुरी र हाजिरामा काम गरी खाने गरिव तथा विपन्न वर्गका नागरिकहरुलाई आवश्यक परेको खण्डमा अति आवश्यक खाद्यान्न सामग्री वितरण गर्नका लागि गाउँपालिकाले अनुदानको व्यवस्था मिलाउने र सो वितरण सम्बन्धमा वडा कार्यालयहरुले आवश्यक व्यवस्थापन मिलाउने ।

६. खाद्यान्न सामग्री भण्डारण गर्ने व्यवसायीहरु तथा धान–चामल मिल सञ्चालकहरुलाई अधिकतम् रुपमा चामल तथा खाद्य सामग्री उपलव्ध गराउन सक्ने गरी तयारी अवस्थामा रहन आग्रह गर्ने र झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेलाई पनि आवश्यक सहयोगका लागि अनुरोध गर्ने ।

७. खाद्य सामाग्री ढुवानी निर्वाध रुपमा सञ्चालनका लागि आवश्यक पहल गर्ने ।

८. बुद्धशान्ति भित्रका खाद्य सामग्री ढुवानी गर्ने व्यवसायीले तथा अन्य विरामीहरु चेकजाँच गर्न सवारी अति आवश्यक भएको खण्डमा सम्बन्धित वडाका वडाध्यक्षलाई जानकारी गराई, वडाध्यक्षज्यूहरुद्धारा प्रहरीसँग अनुमति मौखिक र लिखित लिने व्यवस्था मिलाउने ।

९. कोरोना भाइरस संक्रमणको विरामी तथा क्वारेन्टाइनमा राख्न अति आवश्यक भएका विरामीहरुको चाप अधिक भए गाउँपालिकाले रेडक्रसको सभाहलमा तयार गरेको क्वारेन्टाइनको विकल्पमा गाउँपालिका भित्रका विद्यालयहरुमा आवश्यकताका आधारमा क्वारेन्टाइनको व्यवस्था मिलाउने र सो कार्यका लागि सम्बन्धित वडामा भएका विद्यालयहरुको यथार्थ अवस्था बुझेर क्वारेन्टाइन निर्माणमा वडा कार्यालयले आवश्यक व्यवस्थापन मिलाउने र गर्ने ।

१०. कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने रकम व्यवस्थापनका लागि गाउँपालिकास्तरीय राहत कोष खडा गर्ने र रकम संकलनका लागि खाता खोली गाउँपालिकाले रु.१०,००,००० (अक्षरुपी दस लाख रुपैयाँ) जम्मा गर्ने र सो खाताको सञ्चालन नियम अनुसार गर्ने गराउने । सो राहत खाता खोले पश्चात खाता नम्वर बुद्धशान्तिका नागरिकहरुलाई उपलब्ध गराउने र इच्छुकले उक्त खातामा इच्छा अनुसार सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाउने ।