क्वारेन्टाइनमा खाद्यान्न उपलब्ध गराउने सहारा नेपालको घोषणा



 

झापा–कोरोना भाइरसको आशङ्कामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले सहारा नेपाल कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराइने बताएका हुन् ।  संस्थाको कार्यक्षेत्र प्रदेश १ का ६ वटा जिल्लामा छ । झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर जिल्लामा स्थापित क्वारेन्टाइनमा रहने कोरोना शंकास्पद व्यक्तिहरुको लागि चामल, दाल, तरकारी लगायत खाद्य वस्तु सहाराले उपलब्ध गराउने उनले जानकारी दिए ।

हरेक जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा सहाराले अधिकतम् २० लाख रुपैयाँसम्मको खाद्यान्न उपलब्ध गराउने बुधबार साँझ निर्णय गरेको कार्यकारी प्रमुख गिरीले बताए । ‘संस्थाका कर्मचारीहरुको स्वतःस्फुर्त कार्यक्रम अनुसार हरेकले एक दिनको तलब बराबरको रकम सहारा नेपाल कर्मचारी मानवीय कोषमा थप गर्नेछन् । सोही रकमबाट क्वारेन्टाइनमा रहनुपर्ने शंकास्पद बिरामीहरुका लागि खाद्य सामग्री प्रदान गरिनेछ’ उनले भने ।

बुधवार साँझसम्म १ नम्बर प्रदेशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा ११२ जना र आइसोलेसन गृहमा ५ जनाले उपचार गराइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सो कार्यालयका अनुसार विभिन्न देशबाट घर आएका ६९ जनालाई होम क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाएको छ ।