कोरोनाको जोखिम : बाउछोरा आइसोलेसनमा, अरु सदस्यलाई होम क्वारेन्टाइनमा राखियो



 

भद्रपुर– कोरोना सङ्क्रमणको आशङ्कामा झापाको भद्रपुरका एकै परिवारका दुई जनालाई शनिवार मेची अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । बैदेशिक रोजगारीबाट फर्किएका झापा भद्रपुर–३ का एकजना युवाको परिवारका दुई सदस्यलाई आइसोलेसनमा राखिएको हो । परिवारका सदस्यलाई निरन्तर रुघाखोकी र ज्वरो देखिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

चैत १ गते कतारबाट फर्किएर झापा आएका ती युवकको स्वास्थ्य अवस्था सामान्य छ । तर, उनको परिवारका सदस्य बाबु, आमा, श्रीमती, भाई, बहिनी र सात वर्षीय छोरामा निरन्तर रुघाखोकी र ज्वरो देखिएको हो । तीमध्ये बाबु र भाइलाई अस्पतालको आइसोलेसनमा पठाइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

यसअघि उनीहरुलाई क्वारेन्टाइनमा पठाउने निर्णय भएको थियो । तर, क्वारेन्टाइनमा रहेका अरु नागरिकलाई थप जोखिम हुने भएपछि परिवारका पाँचजना सदस्यलाई होम क्वारेन्टाइनमा राखेर युवकका बाबु र भाइलाई अस्पताल भर्ना गरिएको हो । ‘परिवारका अरु सबै सदस्यलाई आवश्यक उच्च सतर्कतासहित होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ’, नगर प्रमुख श्रेष्ठले भने ।

मेची अस्पतालको आरआरटी टीमका कोरोना रोग फोकल पर्सन कूलबहादुर पौडेलले आइसोलेसनमा भर्ना गरिएका दुबै जनाको आइतवार थ्रोट स्वाव परीक्षण गर्न पठाउने तयारी गरिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने भन्ने विषयमा भने अझै अन्योल छ । यसअघि आइसोलेसनमा भर्ना भएका एक जनाको थ्रोट स्वाव परीक्षणका लागि झापाबाट काठमाडौँसम्म एम्वुलेन्स पठाइएको थियो । धरानमा परीक्षण सुरु भए सजिलो हुने फोकसल पर्सन पौडेल बताउँछन् । तर, धरानमा कहिलेदेखि परीक्षण हुने हो भन्ने टुङ्गो लागिसकेको छैन ।

के हो क्वारेन्टाइन ?

हेर्दा लक्षणअनुसार सङ्क्रमण नभएको तर सङ्क्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई सङक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ । क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्छ ।

कोरोना भाइसरको सन्र्दभमा १४ दिन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ । कोरोना भाइरस व्यक्तिको शरीरमा प्रवेश गरेको सरदर १४ दिनभित्र लक्षण विकसित हुन्छ । त्यसपछि पनि लक्षण नदेखिने भन्ने चाँहि होइन ।

सेल्फ क्वारेन्टाइन
कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भने पनि पछि गएर लक्षण देखिन सक्छ । त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ । अन्य व्यक्तिको सम्र्पकमा आउनु हुँदैन । यसरी अलग्गै बस्नुलाई सेल्फ क्वारेन्टाइन भनिन्छ ।

के हो आइसोलेसन ?
यदि कुनै व्यक्तिमा सङ्क्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ । यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ । आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ ।

कोरोना त्रास : झापामा ४४४ जना सेल्फ क्वारेन्टाइनमा