‘ल्याण्ड लक’ उत्तम विकल्प



दीपेन्द्र राउत
दशैँमा पनि आफ्नो गाउँघर नफर्किने मानिसलाई आजभोलि गाउँघरतिर देख्न थालिएको छ । मानिस सबैभन्दा बढी कोसँग डराउँछन् भनेर हेर्दा पक्का पनि प्रकृतिसँग, दैवीप्रकोपसँग र महामारीसँग नै हो जस्तो लाग्यो । डरलाई भगाउन मानिसले विभिन्न विश्वास गर्नु पर्दछ ।

भनिन्छ, विकास र विनाश सँगै आउँछ । सोही अनुरुप चीनले विश्वमा विकासमा छलाङ मारिरहँदा चीनबाटै कोरोना भाइरसको महामारी फैलिनु संयोग हो कि ? विकास र विनाश सँगै आउँछ भन्ने भनाइलाई यसले चित्रण गर्न खोजेको छ । कोरोना भाइरसको महामारीले के बालक, के वृद्घ, सबैमा डर छाएको छ । चीनको वुहान शहरबाट विश्वव्यापी फैलिएको कोरोनाले विश्वभरी त्रास बढाउँदै गर्दा मानवीय क्षति तथा आर्थिक गतिविधिमा समेत गम्भीर असर पारिरहेको छ ।

सम्पन्न मुलुकहरुले केही महिनाको आर्थिक घटोत्तरीलाई छिट्टै सन्तुलनमा ल्याउन सक्लान् । तर, नेपाल जस्तो मुलुक र यहाँका गरीब जनताको लागि यो निकै ठूलो चुनौति हुन जान्छ । विकासोन्मुख र विकासशील राष्ट्रको आर्थिक धरातल वर्षौै पछाडि धकेलिने निश्चित भइसकेको छ । अर्थतन्त्रमा नकारात्मक असर पर्न थाले पनि सम्पन्न मुलुकले आफ्ना नागरिकलाई राहत प्याकेज ल्याएका छन् ।

अमेरिकाले नागरिकलाई थप भार नपरोस् भनेर ट्याक्सलाई शुन्यमा झारिसक्यो भने अन्य सुविधा दिने घोषणा गरिसक्यो । क्यानाडाले आफ्ना नागरिकलाई भनिसक्यो, जागिर र तलवको चिन्ता लिनुपर्दैन । आफ्नो स्वास्थ्यलाई ध्यानदिनु खाना उपचार वा अन्य आवश्यक वस्तुको सरकारले जोहो गर्छ, नागरिकसँगै सरकार छ भनेर आश्वासन दिएको छ । यता छिमेकी देश भारतले पनि राहत प्याकेज घोषणा गरिसक्यो ।

हरेक दिनको गतिविधि दिल्ली सरकारका मुख्यमन्त्रीले जनतासामु अपडेट गर्दै आएका छन् । जनतासामु सरकार छ है भन्ने आभाष भारतमा सरकारले गर्दै आएको छ । अहिलेसम्म नेपालमा पाँच जनामा कोरोना पोजेटिभ भेटिएको छ । तीमध्ये एक जना निको भएर फर्किएका छन् । सरकारले सुपथ मूल्यमा पसल सञ्चालन गर्ने र कोरोनाको उपचार सरकारले गरिदिने बाहेक जनतालाई अन्य राहतका कार्यक्रम ल्याएको छैन् ।

गरिवीको भुङ्ग्रोमा पिल्सिएका जनता सूर्योदयदेखि सूर्यास्तसम्म दुई छाक टार्न पसिना वगाइरहेका हुन्छन् । उनीहरुका लागि राज्य हुनुको आभाष दिलाउने प्रमुख वेला यही हो सरकार ।

कोरोनाको प्रकोप बढदै जाँदा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गरिरहँदा धेरैले केही यस्ता आशा पनि गरेका थिए । आश्वासन मात्र आउँछ कि भन्ने पनि कतिलाई लागेको थियो । तर, प्रधानमन्त्रीको सम्वोधन अपेक्षाकृत नभएको भन्ने प्रतिक्रियाहरु आएका छन् । प्रधानमन्त्रीको सम्वोधनपछि काठमाडौँमा वस्नु भन्दा गाउँनै फर्किनु उचित सम्झेर गाउँ आएको भन्दै हुनुहुन्थ्यो एकजना दाई । वास्तवमा काठमाडौँबाट बाहिर जानेको संख्या यसपटक धेरै नै वढेको छ ।

बस, हवाईजहाज लगायतका साधनमा टिकट पाउने अवस्था थिएन । देश लक डाउन भइसकेको छ । सरकारले वारम्वार जनतामा सन्देश दिइरहेको छ । घरभित्र नै वस्नुपर्छ भन्ने सूचना वारम्वार टीभी, रेडियोमा बजिरहेको छ । सेल्फ क्वारेन्टाइनमा वस्नुनै यस महामारीको रोकथाम हो भन्ने कुरा चीनले प्रष्ट पारिसकेको छ । ल्याण्ड लकमा जनता रहनु पर्दछ । त्राससँगै सावधानका उपायहरु पनि शुरु भएका छन् ।

ठूला साना होटल, उद्योग, फर्महरु बन्द भएका छन् । कतिले कामदार कटौती गरेका छन् भने कतिलाई अनिश्चित विदा भनिएको छ । उनीहरु धेरैलाई कोरोना, रोजगारी र पेटको चिन्ता छ । यो वेला जनतालाई शान्त वनाउन सक्नु पर्दछ । सर्वसाधारणले अत्यावश्यक बाहेकका सामाग्री नकिन्ने र घरमा नै वस्ने भएपछि बजारका सम्पूर्ण गतिविधि रोकिने छन् । यस्तो अवस्थामा दैनिक रोजगारीबाट जीविकोपार्जन गर्नेहरुको जीवन सवैभन्दा कठिनमा पर्छ । यस्तो अवस्थामा उनीहरुको दैनिकी कसरी चल्छ ? ।

सङ्घीय राजधानी, प्रादेशिक राजधानी र स्थानीय सरकारले  निर्णय र निर्देशन जारी गरेर मात्र नहोला । विषमपरिस्थितिमा जनताले जहिल्यै साथ दिन्छन् । तर, उनीहरुकै दैनिकी टार्ने वन्दोवस्त गर्ने जिम्मा राज्यले लिनु पर्दछ । गरिवीको भुङ्ग्रोमा पिल्सिएका जनता सूर्योदयदेखि सूर्यास्तसम्म दुई छाक टार्न पसिना वगाइरहेका हुन्छन् । उनीहरुका लागि राज्य हुनुको आभाष दिलाउने प्रमुख वेला यही हो सरकार ।

सरकारले अत्यावश्यकबाहेक घरबाहिर नजानु भनेको छ, जसले दिनभरि गिटी कुटेर, इँटा वोकेर, जन मजदूरीको काम गरेर जीविकोपार्जन गरिरहेको हुन्छ, कसरी दिनभरि घरमा बसेर आफ्नोे र परिवारको पेट पाल्ने ? अलिअलि पैसा हुनेले त महिना दुई महिना पुग्ने गरी सामानको जोहो गरे, ताजा तरकारी फलफुल दुध सवै विहानै घरमा आइपुग्छ । तर, विहान घरबाट खालिहात निस्किएको एउटा मजदुर साँझ घर फर्किदा एक केजी चामल, चिउरा, नुन भुटुन प्याज बोकेर फर्कन्छ । काम ठप्प हुँदा कोरोनाले भन्दा पहिले भोकमरिले दुःख दिन्छ जस्तो भएको छ ।

बेलुका टन्न पेट भर्ने आशमा दिनभरि खालीपेट वाआमालाई पर्खेर वसेका केटाकेटीको भोक कसरी मेटिएला ? बजारमा चहलपहल कम भएपछि यात्रु नपाएका रिक्सावाला, सडकको पेटीमा मकै पोलेर गुजारा चलाउने, दैनिक भारी वोकेर जीवन निर्वाह गर्दै आएकालाई राज्यले सम्झनु पर्ने होइन ? आवश्यक कामबाहेक घर भन्दाबाहिर ननिस्कँदा कोरोनाको त संक्रमण नहोला । तर, भोकमरि र अभावले ज्यान लिँदैन भन्ने ग्यारेन्टी खोई त ?

जनताले सास मात्र जोगाए पनि भोलिका दिनमा सहज होला । यस्तो वेलामा सवै जिम्मेवारी सरकारकै हो । उसैले सवैथोक परिपूर्ति गर्नु पर्छ भन्ने पनि पक्कै होइन । तर, कुरा यत्ति हो, सास जोगाई राख्ने परिस्थिति चाहिँ सरकारले गरिदिनु पर्छ । सामान्य अवस्थामा नागरिकले सरकारलाई कर वुझाउँछन् । पाइलैपिच्छे सरकारले तोकेको शुल्क तिर्छन् । कोरोनाविरुद्घ सरकारले सशक्त उपाय अपनाई सकेपछि नागरिक र अत्यावश्यक सेवा सञ्चालन गरिरहेकाको लागि पनि सरकारको जिम्मेवारी हुन्छ । यस्तो वेला सरकारले आफ्ना नागरिकको निम्ति कसरी सुविधा दिने सोच वनाएको छ कि छैन् ? यस विषयमा गम्भीरतापूर्वक निर्णय गर्न आवश्यक छ ।

बन्दको घोषणा मात्र गरेर लथालिंग अवस्थामा छोडिदिएर मात्र पुग्दैन । स्वास्थ्य संकटकालमा महामारीबाट वच्ने कार्यक्रमका साथै जनताको दैनिकीमा अति आवश्कीय वस्तुहरु केही नभए पनि खान नपुग्नेलाई सोही अनुसारको वन्दोवस्त सरकारले गर्नैपर्छ । अहिले बजारमा कालोबजारी पनि वढेको छ । दिनदिनै खाद्यान्न लगायतका वस्तुहरुको मूल्य वढ्दै गएको छ । सरकारले अनुगमन गरेको छ भन्छ, तर जनताले महंगी खेपीरहेका छन् । यति वेला सरकारको जिम्मेवारी एकातिर छ भने नागरिक समाजको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहन्छ । फेरी यो वेला चाडवाडमा देखिने सामाजिक सञ्जालमा खवरदारी गर्ने उपभोक्ता अधिकारीहरुले के गरिरहेका छन् ? सवैले उनीहरुलाई खोजिरहेका छन् ।

विभिन्न संघ संस्थाहरुले सचेतना सुरु गरेका छन् । आफु पनि बाँचौं, अरुलाई पनि बचाऔं भन्ने भावनाको विकास हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको बताएपछि यो अवस्थासम्म आइपुग्दा पाँच जनालाई नेपालमा कोरोना सङ्क्रमण भेटिनु आफैँमा राम्रो कुरा होइन । जर्मनमा दुई जना भन्दाबढी व्यक्ति भेला हुन प्रतिवन्धित छ । विश्वमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन वढ्दो छ । तथापि हामी सचेत रहौं, सुरक्षित रहौं । राज्यले जे गरे पनि नगरे पनि हामीले हाम्रो तर्फबाट गर्ने योगदान जारी राखौँ ।

कोरोना भाइरसको दवाई के भनेर भनिरहँदा सुरक्षित वस्नुनै भन्ने चाइनाले प्रष्ट पारिसकेको छ । चीनले अपनाएर आफु सफल भई रहेको अवस्थामा हाम्रो देशमा फैलिएको छ, तसर्थ चीनले अपनाएका उपायहरु हामीले पनि अवलम्वन गर्नै पर्छ । संयम र अनुशासित भएको खण्डमा अवश्य पनि कोरोना रोकथाममा हामी सफल वन्न सक्छौँ । ल्याण्ड लक नै यो महामारीको उपचार भएको हुँदा सबै जना ल्याण्ड लकमा वसौँ, आफु पनि बाचौं अरुलाई पनि बचाआंै ।