गाउँपालिका अध्यक्षको आदेशपछि पछाडि हट्यो बर्ने चिया कमान



 

बुद्धशान्ति– बुद्धशान्ति गाउँपालिकाको निर्देशनपछि नेपाल चिया विकास निगमको बर्ने चिया कमानमा हरियो चिया पत्ती टिप्न बन्द भएको छ । गाउँपालिकाको अनुमति नलिई कमान व्यवस्थापनले शनिवार मजदूरलाई जवरजस्ती काममा खटाएको थियो ।

‘श्रमिकको सञ्चय कोषमा हाल्नुपर्ने पैसा पनि नहालेको हुँदा सबैभन्दा पहिले ती श्रमिकहरुले पाउनुपर्ने पैसा पाउनु पर्छ’, अध्यक्ष भुजेलले भने, ‘त्यसपछि मात्र कमान खोल्न दिने नदिने कुराको ग्यारेन्टी गर्न सकिन्छ ।’

गाउँपालिका अध्यक्ष रमेश भुजेलले कोरोना भाइरसको सन्त्रासमा रहेका मजदूरलाई बिना सुरक्षा सामग्री चिया बगानको काम लगाइएको भन्दै तत्काल काम नरोके कार्बाही गर्ने चेतावनी दिएका थिए । अध्यक्ष भुजेलको आदेशपछि कमान व्यवस्थापनले आइतवारदेखि काम रोकेको हो ।

गाउँपालिकाले कमानको काम रोक्न भनेपछि सम्पूर्ण काम रोकिएको मेनेजेर नितेशकुमार जैसवालले बताए । २ सय ५० श्रमिकले काम गर्दै आएको सो कमानको काम रोकिएपछि दैनिक ज्यालादारी गर्ने श्रमिक समस्यामा परेका छन् । सो कमानमा ६८ जना श्रमिक भने स्थायी श्रमिकका रुपमा रहेको निगमका प्रशासन प्रमुख लोकनाथ दंगालले बताए ।

दंगालले प्रदेश सरकारले मापदण्ड बनाएर चिया उद्योग खोल्ने निर्णय गरेपछि प्रक्रिया पु¥याएर सावधानी अपनाउँदै काम गरे पनि स्थानीय निकायले नगर्न भनेपछि आफूहरुले काम रोकेको जानकारी दिए । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले श्रमिकहरुको स्वास्थ्य सबैभन्दा ठूलो कुरा भएको बताउँदै बर्ने चिया कमानले काम गर्ने श्रमिकहरुको श्रम गरेको पैसा पनि लामो समयदेखि नदिएको बताए ।

‘श्रमिकको सञ्चय कोषमा हाल्नुपर्ने पैसा पनि नहालेको हुँदा सबैभन्दा पहिले ती श्रमिकहरुले पाउनुपर्ने पैसा पाउनु पर्छ’, अध्यक्ष भुजेलले भने, ‘त्यसपछि मात्र कमान खोल्न दिने नदिने कुराको ग्यारेन्टी गर्न सकिन्छ ।’ अहिले सङ्क्रमण फैलिन नदिनु र श्रमिकले खान पाउनु मुख्य कुरा भएको अध्यक्ष भुजेल बताउँछन् ।