विपन्नको राहतका लागि बुद्धशान्तिमा सहयोगको ओइरो, कसले कति दिए ?



 

बुद्धशान्ति– सरकारले देशव्यापी लक डाउनको घोषणा गरेपछि स्थानीय तहमार्फत विपन्न नागरिकलाई खाद्यान्न सहयोग भइरहेको छ । व्यक्ति र सङ्घसंस्थाले यो अभियानमा सघाइरहेका छन् । कतिपयले पहिलो चरणको राहत वितरण सकेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाई

झापाको बुद्धशान्ति गाउँपालिकामा दोस्रो चरण खाद्य सामग्री प्रदान गर्ने गरी गृहकार्य सुरु भएको छ । पहिलो चरणमा छुटेका नागरिकलाई खाद्यान्न सहयोग गर्न संघसंस्था तथा व्यक्तिले ६ लाख १४ हजार २ सय ८५ रुपैँयाँ सहयोग गरेका छन् ।

एकसय क्विन्टल भन्दाबढी चामल पनि सहयोग प्राप्त भएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए । प्रत्येक वडाले विपन्न कोही पनि भोकै बस्नु नपरोस् भनेर घर–घर गएर त्यस्ता नागरिक पहिचान गरेका हुन् ।

कसले कति दिए ?
बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा बुद्धशान्ति–३ का मनोरथ तिवारीबाट ५ हजार, सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोडबाट ५० हजार, प्याब्सन बुद्धशान्तिबाट ५६ हजार, कर्णाली बचत तथा ऋण सहकारीबाट ५० हजार सहयोग प्राप्त भएको छ ।

मनिष दाहाल बुद्धशान्ति–३ बाट २५ हजार, डाँफे बचत तथा ऋण सहकारी बुधबारेबाट १० हजार, बुद्धशान्तिका सामुदायिक विद्यालयहरुबाट १ लाख १९ हजार ७ सय, गणपति स्टोर बुधबारेबाट ११ हजार ५ रुपैँयाँ, कृष्ण तथा मञ्जुश्री ढकाल बुद्धशान्ति–३ बाट १५ हजार, हाम्रो बचत तथा ऋण सहकारी  बुद्धशान्तिबाट ५१ हजार जम्मा भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर बुद्धशान्तिबाट २१ हजार, सुपारी सहकारीबाट ३१ हजार, सत्य साइकेन्द्र बुद्धशान्तिबाट ५ हजार २५, मंगलदीप बचत तथा ऋण सहकारी बुद्धशान्तिबाट २१ हजार, प्रतिष्ठा कृषि सहकारी बुद्धशान्तिबाट ३१ हजार, बुधबारे साना सहरी खानेपानीबाट ५५ हजार प्राप्त भएको छ ।

लिभिङ होप पोलिक्लिनिक बुधबारेबाट २५ हजार, प्रदीप उप्रेती पाथीभरा हार्डवेयर बुद्धशान्ति–३ बाट ११ हजार ५५, विकास मिश्र बुद्धशान्ति–१ बाट ५ सय, बुद्धशान्ति–१ को सीतारमेश बहुमुखी क्याम्पसका शिक्षक कर्मचारीबाट १० हजार ८ सय ३५ तथा सीता रमेश बहुमुखी क्याम्पसबाट १० हजार १ सय ६५ रुपैँया प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले जानकारी दिए ।

जेमिनी कर्पोरेशन बेल्जियमबाट एक लाख मूल्य बराबरको खाद्य सामग्री, नेपाली काङ्ग्रेस बुद्धशान्तिबाट १२ क्विन्टल चामल, प्रदीप पोद्धार बुद्धशान्ति–३ बाट ३० क्विन्टल चामल, बजरंग गोयल बुद्धशान्तिबाट ११ क्विन्टल चामल, ओमहरी शाह बुद्धशान्ति–३ बाट ११ क्विन्टल चामल प्राप्त भएको छ ।

नेपाल रेडक्रस सोसाइटी शाखा बुद्धशान्तिबाट ४ क्विन्टल चामल, लिभिङहोप पोलिक्लिनिक बुद्धशान्तिबाट १५० सर्जिकल मास्क, नेपाल बहुउद्देश्यीय सहकारी संस्था काँकरभिट्टाबाट २० क्विन्टल चामल, एन.एल.आर.नेपालबाट १५० थान सर्जिकल ग्लोभ्स, १८ बोतल सेनिटाइजर, १८ प्याकेट भाइरेक्स, १ थान स्प्रेयर, १२० थान सर्जिकल मास्क प्राप्त भएको छ ।