सेभेन स्टार सेक्युरिटी सर्भिसद्वारा कोरोना भाइरसविरुद्ध सचेतना अभियान



 

बिर्तामोड– सेभेन स्टार सेक्युरिटी सर्भिस बिर्तामोड र नेपाल पूर्व प्रहरी संगठन बिर्तामोड नगर कमिटी कोरोना भाइरसविरुद्ध सचेतना अभियानमा जुटेका छन् । यी दुई सङ्गठनले संयुक्तरुपमा ‘कोरोना भाइरस सचेतना अभियान’ सञ्चालन गरेका हुन् । सेभेन स्टार सेक्युरिटी सर्भिस बिर्तामोडका शाखा प्रमुख विजय बस्नेतले कोरोना भाइरसविरुद्ध माइकिङ अभियान चलाइरहेको बताए ।

‘लक डाउनको पालना गर्न अपिल गर्दै कोरोना भाइरसविरुद्धको अभियानमा सहभागी भइरहेका छौँ’, बस्नेतले भने, ‘झापाका सबै स्थानीय तहमा हाम्रो प्रचार अभियान जारी छ ।’ चैत १५ गतेदेखि यी दुई सङ्गठनले माइकिङ अभियान सुरु गरेका थिए । स्थानीय प्रशासनसँगको समन्वयमा सुरु गरिएको यो अभियान लक डाउन नसकिएसम्म सञ्चालन हुने शाखा प्रमुख बस्नेतले बताए । इन्धन लगायतका खर्च गरेर दैनिक माइकिङ अभियानमा तीन हजार रुपैयाँ खर्च हुने गरेको प्रमुख बस्नेतले बताए ।