कोरोनाको असर : टमाटर बिकेन, रुँदै मलखाडीमा फ्याँक्छन् किसान



 

कोरोना सङ्क्रमणको त्रासमा लक डाउनले बजार बन्द छ । बारीमा फलेका टमाटर कुहिन थालिसके । किसान पुर्परोमा हात राखेर बसेका छन् । भनौँ कसलाई भनौँ । नभनौँ लगानी र महेनत एकसाथ खतम भयो । यो पीडा मोरङको पथरी शनिश्चरेका किसानको हो ।

यातायात र बजार बन्द भएपछि बारीभरि लटरम्म फलेका टमाटर कुहिन थालेको पीडाले किसान विक्षिप्त छन् । उनीहरु पाकेका टमाटर रुँदै मलखाडीमा फ्याँकिरहेका छन् । अरु तरकारी किसानको पीडा पनि यस्तै छ ।

पथरी शनिश्चरेका किसान रञ्जित महतो भन्छन्, ‘यो सिजनमा टमाटर बेच्न सकिएन । झण्डै नौलाख जति घाटा भयो ।’ ऋणपान गरेर एक विघा जग्गामा महतोले टमाटर लगाएका छन् । आठ विघामा सामूहिक खेती छ ।

अघिल्लो वर्ष टमाटर बेचेर १० लाख रुपैयाँ आम्दानी गरेका सञ्जित महतोको पीडा पनि कम छैन । उनी पनि निन्याउरो अनुहार पारेर बसेका छन् । लगानी र मेहनत सम्झिँदा चिटचिट पसिना आउँछ । तर, बेच्ने उपाय छैन ।

टमाटर कुहिँदाको पीडा एकातिर छ । अर्कातिर परिवार पाल्ने चिन्ता । समूहमा मिलेर खेती गरेका सबै किसान पीडित भएको राधाजी कृषक समूहले जनाएको छ । समूहका सचिव रञ्जित भन्छन्, ‘हामी मर्कामा छौँ । कसले सुनिदिने ?

यातायात बन्दले बजारमा बेच्न नपाएपछि टमाटर फालाफाल भएको छ । बारीमा आउनेलाई किसानले १० रुपैयाँ किलो बेचिरहेका छन् । तर लगानी उठ्ने अवस्था छैन ।

वडा नम्वर–६ का अध्यक्ष जयबहादुर तामाङले किसानको उत्पादन खेर गइरहेको जनाउँदै बाहिरबाट आउने टमाटर रोकिने बताए । ‘यहाँको उत्पादन खेर नजाने गरी तत्काल व्यवस्था मिलाउँछौँ’, उनले भने ।