कोरोना भाइरस र प्रकृति भित्रको मानव



 

याम खरेल 

आज विश्व नोवेल कोरोना भाइरसको कहरबाट आक्रान्त बनिरहेको छ । यो विषमपरिस्थितिमा विश्वले बुधवारसम्ममा एकलाख २६ हजार भन्दा नागरिकलाई गुमाएको छ । यसवाट करिव २० लाख मानिसहरु सङ्क्रमित भएको अवस्था छ । यो रोगले न धनी न त गरीव, कसैलाई दया माया देखाएन । विश्वमा आफ्नो शक्ति मापन गरिरहने सम्पन्न मुलुकहरु त झन् अझ बढी यो भाइरसबाट शिथिल र कमजोर बनिरहेको परिस्थिति छ ।

आज विश्वका कयौँ शक्तिशाली र सम्पन्न मुलुकहरु यो भाइरसबाट बच्नका निम्ति सारा शक्ति लगाएर लागिपरेका छन् । तर, कुनै ठोस् निर्णयमा पुगेर उपचार पद्धतिलाई अपनाउन सकिरहेका छैनन् । आज सारा विश्वको ध्यान यो भाइरसले आफुतिरै खिचेको छ । अरुवेला सधैँ हतारिने मानवजाति आज आफ्नै घरभित्रको कोठाभित्र बन्दी जीवन विताइरहेको छ । सधैँ कामको झमेलामा बोझिला रहेका दिमाख र पौरखी हातहरु पनि भोलिको आशा राख्दै थकान मारिरहेका छन् ।

उद्योगधन्दा, कलकारखाना र व्यापार व्यवसाय सबै ठप्प छन् । विश्वको चलायमान अर्थतन्त्र नै संकटमा गुज्रिएको यो भयावह परिस्थिति अझै लम्बिने सङ्केत देखिएको छ । चीनलाई उद्गम थलो बनाई युरोप, अमेरिका लगायतका अति विकसित देशहरुमा आफ्नो फराकिलो उपस्थिति जनाएर उदण्ड मच्चाइरहेको कोरोना भाइरस अब दक्षिण एसियातिर विस्तारै सर्दैछ । यस्तै अवस्था कायम रहे दक्षिण एशियाली राष्ट्रहरु कोरोनाको थप चपेटामा पर्नेछन् ।

विश्वका अति विकसित र सम्पन्न देशसमेत यो भाइरसको सिकार बनेर घुँडा टेकिरहेको अवस्थामा हाम्रो जस्तो गरीव मुलुकमा यसको प्रवेशले कस्तो परिस्थिति निम्त्याउला ? यो कल्पना भन्दा वाहिरको कुरा हुन्छ । वास्तवमा यो भाइरस प्राकृतिक हो या मानव निर्मित हो भन्ने विषय विश्वमा अहिले विश्वमा चर्चामा छ । धेरै थरिका विश्लेषकहरुको आ–आफ्नै तर्क र टीका टिप्पणी छन् । एकथरि विश्लेषकहरु भन्छन्, ‘चीनले विश्वसामु आफ्नो उपस्थिति र अर्थतन्त्रलाई बलियो बनाउनका निम्ति योजनासहित बनाएको जाल हो ।’ अर्का थरिका विश्लेषकको भनाइ छ, ‘आफूलाई बलियो वनाइरहेको चीनलाई अघि वढ्न नदिन अमेरिका र इजरायलले खेलेको चालवाजी हो यो ।’

यी सवै विश्लेषकका आ–आफ्नै धारणाहरु हुन् । यी विश्लेषणहरु भने प्रमाणित हुन सकेका छैनन् । यो भाइरसलाई जसले जसरी मूल्याङ्कन गरे पनि असर हामी मानवजातिलाई पारेको छ । यदि मानव निर्मित भए पनि यसले कुनै देशलाई बाँकी नराख्ने निश्चित भइसकेको छ । यो भाइरसले कसैलाई पनि छानेर खेदो गरेको पाइएन । तसर्थ यो भाइरस मानव निर्मित नभए पनि यसको सिर्जना हामी आममानव नै हौं कि भन्ने मेरो व्यक्तिगत ठम्याई छ ।

यो सुन्दर सृष्टिमा मानवजातिको उपस्थिति साँच्चै नै प्रकृतिका निम्ति अनुपम उपहार हो । तर, हामी मानवजातिले यति सुन्दर सृष्टिलाई आमाको दर्जा दिएर सकारात्मक सोचले सँगालेर राख्नै सकेनौँ । शक्ति र सम्पन्नताको होडवाजीमा आफ्नो स्वार्थ पूरा गर्न यो ब्रम्हाण्डलाई सामथ्र्य नाप्ने थलो बनाइरहेका छौँ । जसको कारण यति राम्रो सृष्टि नै आज प्रदुषित छ । आफ्नो बर्चस्व देखाउन र कायम राख्न गरिएको होडवाजीले आज दुनियाँ शिथिल र आक्रान्त छ ।

अणु परमाणु, क्षेप्यास्त्र, बम, आणविक भट्टी, हात हतियारको उत्पादन र चरम् दुरुपयोगको कारण आज यो विश्वको वातावरणीय सन्तुलन नै विग्रिएर गएको छ । आज हामी धेरै आम्दानी लिन प्राकृतिक निरन्तरता माथिनै टेकेर एउटा अम्वाको वोटमा १० वटा प्रजातिका विरुवालाई क्रस गरेर धेरै फलफुल खान खोजिरहेका छौँ । धेरै उत्पादन वढाउनका निम्ति अग्र्यानिक खेती प्रणालीलाई विर्सेर रसायनिक मलको प्रयोग र उत्पादनमा व्यस्त छौँ । उत्पादित खाद्य सामानमा पनि विष भर्दै छौँ ।

मैले सवै कुरा खोतल्नुको अर्थ हामी अहिले आफँैले खनेको खाल्डोमा पस्दै गरेको अवस्थालाई इङ्गित गर्न खोजेको मात्रै हो । अहिले जमिन प्रदूषित छ । हामीले खानेकुरा दुषित र विष सरह छ । सिङ्गो वातावरण नै दुषित छ । यस्तै वातावरणमा घुलमिल भएका हामी मानवजातिमा आजभोलि सोच्ने विकासमा पनि नकारात्मकताले जरा गाड्दै गइरहेको स्थिति हावी छ । यस्तै मानवीय व्यवहार र प्रवृत्तिले गर्दा बर्सेनि परिस्थिति जटिलतातर्फ धकेलिदै छ । भोलिको अवस्था के होला भनेर आँकलन गर्ने स्थिति छैन् ।

नयाँ–नयाँ रोग र भाइरसको उत्पति र सिर्जना भइरहेको छ । अझै पनि केही विग्रिएको छैन । गल्ती मान्छेबाटै हुने हो । त्यसैले यो भाइरसवाट हामीले धेरै कुराहरु सिकेर व्यवहारमा उतार्न जरुरी छ । यसलाई एउटा पाठकोरुपमा मनन् गर्दै यसले भोलि ल्याउने विकराल परिस्थितिसँग लड्न सक्ने सामथ्र्य हामीले जुटाएर नयाँ युगको थालनी गर्न जरुरी छ । शक्ति र स्वार्थको राजनीतिलाई त्यागेर मानवहित र सुन्दर सृष्टिलाई सकारात्मक सोचको सिर्जनाले कसेर राख्न जरुरी छ ।

यदि हामीले यसलाई हल्का रुपमा लिएर हेलचेक्र्याई गर्र्याै भने भोलि हामीले युरोप अमेरिकाको जस्तो मात्र होइन, दक्षिण एशियाले साँच्चै नै भयावह र अकल्पनीय क्षति व्यहोर्नुपर्ने छ । साधारण अवस्थामै पनि हाम्रो जस्तो मुलुकले वर्षैनी कयौं भागमा सिटामोल समेत दिन सक्दैन । त्यसको अभावमा सयौँ मान्छे मरेका पनि छन् । यदि कोरोनाको महामारी नेपालमा फैलियो भने के होला ? न यहाँ अनुभवी दक्ष जनशक्ति छ, न त स्रोत साधनको व्यवस्थापन र परिचालन ।

हाम्रो जस्तो गरिबीको रेखामुनि रहेको मुलुकमा यस्तो रोग त अभिषाप बन्छ । अनि यस्ले पार्ने भोलिको असरको बारेमा कल्पना गर्नुहोस् त ? अन्त्यमा, यो लेख पढ्दै जाँदा धेरैलाई कोरोनासँग लड्न नसकिने रहेछ भनेर डरले आफूलाई कमजोर बनायो होला । तर, डराउनु पर्दैन । यो भाइरसलाई रोक्न सक्ने चावी ताल्चा पनि हामीसँगै छ । जवसम्म तपाईं हामी धेरै मान्छेहरुको संगत र सम्पर्कबाट बाहिर रहँदै सुरक्षित रहन घरको कोठामा आफुलाई नियन्त्रित गर्दै सर सफाइमा ध्यान दिन्छौँ, तबसम्म हामी सधैँ सुरक्षित रहने छौँ । सबैले विश्व स्वास्थ्य सङ्गठन दिएको निर्देशन र तोकेका नीति नियमलाई पालना गर्ने हो भने नोवेल कोरोना भाइरसले हामीबाट चाँडै नै बिदा लिनेछ । घरमै बसौँ । आफू पनि बचौँ । अरुलाई पनि बचाऔँ ।