कोरोना कहर : जीवनमा कहिल्यै नभएको अनुभूति



 

तेजमणि प्रसाईं
हामी लक डाउनमा बसेको २५ दिन भयो । चैत ११ अघि छोरीको आधारभूत तह (कक्षा–८) को परीक्षा सकिएको थियो । छोराको पनि परीक्षा सकिएर छुट्टी भइसकेको थियो । बैशाख ३ सम्म उनीहरुको छुट्टीको समय हो ।

फरक यतिमात्र हो, उनीहरु मामा घर गएर सानु भाइसँग मजाले खेल्न पाएका छैनन् । गुनासो पनि यति मात्र छ उनीहरुको । यो अवस्थामा घर बाहिर जानु पनि हुँदैन भनेर बुझिसकेका छन् उनीहरुले । हामी अभिभावकले भने थुप्रै पीडा र घरका रहलपहल कामहरू सक्ने समय पाएका छौँ ।

केही रहर, जिम्मेवारी र केही बाध्यताले बिर्तामोडको बसाई पनि १६ बर्ष पूरा भए छ । यतिका दिन कहिले पनि घरमा यसरी बस्नु परेको थिएन । कोभिड–१९ अर्थात कोरोना भाइरस सङ्क्रमण भएको परिस्थितिमा हामी सबै घरैमा बसेका छौँ ।

हाम्रो देशमा मात्र होइन, आज संसारभरका मानिसहरु घरमा थुनिएका छन् । डरत्रास छ । हाम्रो देशबाट हाम्रा धेरै आफन्तसहित असी लाखजति उर्जाशील युवा बिदेशमा छन् । उनीहरुको चिन्ताले पनि सताइरहन्छ । देश विदेशका समाचारले कोरोना भाइरसको सङ्क्रमण बढ्दो रुपमा देखाउँछ । यसले दिनदिनै मानव जीवनलाई सङ्कटमा पार्दै लगेको छ । केसहरु दिनदिनै दोब्बर हुँदै जानुले ज्यादै पीडा दिइरहन्छ ।

जब हामी साना थियौँ । २०४० सालतिरको कुरा हो । पाँचथरको फलैँचा–८ गङगवा भन्ने ठाउँमा हामी बस्थ्यौँ । जेठ महिना खेतीको मध्यसमयमा जोतिरहेको बर्से भन्ने बलियो हलको गोरु भिरबाट लड्यो । गोरु बचाउन सकिएन । खेतीको काममा ठूलो सङ्कट आयो । हजुरआमा, आमा धेरै रुनु भएको याद छ ।

हजुरबुवा स्वर्गीय प्रेमलाल प्रसाईं धेरै आँटी हुनुहुन्थ्यो । रोएर बसेर केही हुँदैन, आँटले गरिखानु पर्छ भन्दै घरबाट च्याङन्थापुतिर लाग्नु भयो । त्यसको दुई दिनमा अर्को एउटा बलियो गोरु ल्याउनु भयो । अनि हल मिलाएर खेतीको काम निकाल्नु भयो । सम्झना भइरहेछ । हामी परिवारमा १८ जना थियौँ ।

समय फरक छ । कोरोना भाइरसको सङ्क्रमण भयावह भइरहँदा हाम्रा थाती रहेका कामहरु निकाल्ने समय पनि जुरेको छ । मेहनत र मसिनो गरी घरका छुटेका कामहरु निस्कदै छ्न । यसै बीचमा विभिन्न चार चरण (फरक–फरक समयमा) मा पाक्ने गरी करेसाबारीमा मकै लगाइयो । रामभेडा र गोलभेडा (टमाटर) नियमित पुगेको छ । फर्सी र स्कूसले मुन्टा (टुप्पा) अनि गट्टा जेनतेन पुर्याउँदैछ । लट्टे र बेथु साग पनि पुगिरहेको छ । यी सबै सागसब्जी अग्र्यानिक हुन् ।

सङ्कटको बेला साँझ बिहानको छाक टार्न मात्र होइन, साँझ बिहान १–२ घण्टा पसिना बगाउन, शरीरमा अक्सिजन पुर्याउन र मन बहलाउन सहयोग पनि पुगेको छ । दिनचर्या भने त्यति फरक भएको छैन । बिहान उठाइ ४.४५ र बेलुका आराम ९.३० मा नै हुँदैछ । नानीबाबु र श्रीमती बिन्दाजीको पनि समय पुरानै तालिका अनुसार चलिरहेको छ ।

बिहान ५ देखि ७ बजेसम्मा नित्यकर्म, शारीरिक व्यायाम, योग र पूजा पाठ सकिन्छ । दिनको समय सुत्न नमिल्ने नियम बनाएका छौँ । यसले शरीरमा अनावश्यक कोलेस्टोर बढाउन सक्ने र दैनिक आदतलाई फरक पार्ने हुन्छ । दिउँसो घरमा हाजिरी जवाफ, कक फाइट, चेयर दौड, निबन्ध लेखन प्रतियोगिता, रामायण बाचन कार्यक्रम गर्छाैँ । इन्टरनेटले पूरा समय सदुपयोग गराएको छ ।

टेलिभिजनले देश बिदेशका सबै खबरमा पूरा सहयोग गरेको छ । सकेसम्म स्क्रीन र ग्याजेटको प्रयोग कम गर्ने कोसिस गरिरहेको छौँ । इन्टरनेटको माध्यमबाट योचोटि देश बिदेशमा रहनुहुने प्रायः सबैजनासँग भेटघाट गरियो । ऐतिहासिक रामायण ५० भाग बुझ्ने गरी हेरिसकियो । महाभारतका ९४ भाग हेर्ने र बुझ्ने कोशिसमा छौँ । नानीबाबुहरु बेला–बेला नेटमा गुगल सर्च गर्छन् ।

विभिन्न देशको जनसङ्ख्या, राजधानी र झण्डा आदिबारे जानकारी लिन्छन् । कोरोनाले बढी प्रभाव परेका देशको बारेमा पनि उनीहरुले जानकारी लिइरहेका छन् । मादल र गीटार बझाउन सिक्ने गर्दैछन् । हामी परिवारमा चार जना । आफन्तजन सात जना गरी ११ जना बस्छौँ । अहिले सम्मको बसाई पट्यारलाग्दो भएको छैन । जेनतेन चलिरहेको छ ।

घरको चाबीको जिम्मा मैले पाएको छु । अरु कसैले चाबी छुनुहुन्न । मैले पनि ताला चाबी छोएपछि तुरुन्तै साबुन पानीले चाबी र हात सही विधिबाट धुने गरेको छु । यसबाट सङ्क्रमण छिर्ने सम्भावना कम हुने आशा गरेका छौँ । आजसम्म कोही आफन्त भेट्न भनी धन्न आउनु भएको छैन । सुरुङ्गामा बुवा आमासँग अनलाइनमा कुरा हुन्छ । सबै परिवार आफन्तसँग अनलाइन र फोनमा कुरा गरिरहेका छौँ ।

बाहिरबाट यस बीचमा फलफुल मिठाइ बिस्कुट मीठो मसिनो केही पनि घर छिरेको छैन । हामी अति आवश्यक कामबाहेक घरबाट कोही पनि बाहिर गएका छैनौँ । बिहान बेलुका हिँड्ने काम पनि बन्द भएको छ । घरकै योग, योगिङ्ग जगिङ्गले पुग्दैछ । घरको आर्थिक खर्च ७० प्रतिशत कम भएको छ ।

कोभिड १९ को विश्वव्यापी महामारीले अहिलेसम्म हाम्रो देशमा कसैको मृत्यु भएको छैन । यो धेरै खुशीको कुरा हो । १६ जनामा सङ्क्रमण भएको छ । एक जना निको भएको जानकारी छ । विदेशमा भने १४ जना नेपालीको मृत्युु भइसकेको तथ्याङ्क सार्वजनकि भएको छ । छिमेकी देश भारतमा द्रुत गतिमा कोरोना सङ्क्रमण बढिरहेको छ ।

खुल्ला सीमासँगै यो हाम्रो देशको लागि धेरै ठूलो चुनौती हो । झण्डै १२ हजार मानिस भारतमा कोरोना सङ्क्रमित भएका छन् । चारसय भन्दाबढीको मृत्यु भइसकेको छ । यो महामारीको डढेलोबाट अहिलेसम्म विश्वमा २२ लाख मानिस सङ्क्रमित भइसकेका छन् । विश्वमा एकलाख ४५ हजार भन्दाबढी मानिसको मृत्यु भइसकेको छ । पाँचलाख ५० हजार मानिस निको भएका छन् ।

यस्तो अवस्थामा बिरामी राख्ने हस्पिटलको अभाव भएको छ । शब फाल्ने ठाउँ अभाव छ । समुद्रमा शवहरु फालिरहेको देखिन्छ । आफन्तले शव छुन त के हेर्न पनि पाइरहेका छैनन् । यो भन्दा पीडा दुनियाँमा के होला र ? यो अप्ठ्यारो अवस्थामा हामी हरेकले छोएको, नजिक भएको हरेक बस्तुमा कोरोना भाइरस छ भन्ने मानेर अघि बढ्ने परिस्थिति आएको छ । घरमै बसौँ । आफू पनि सुरक्षित रहुँ । अरुलाई पनि सुरक्षित राखौँ ।

बिर्तामोड–१,
पन्चकन्या सोसाइटी,झापा