घर जग्गा व्यवसायीद्वारा झापाका तीन स्थानीय तहलाई डेढलाख सहयोग



 

बिर्तामोड– घरजग्गा व्यवसायीहरुको छाता संस्था प्रोपर्टी डिलर्स एसोसिएशन अफ नेपाल झापा जिल्ला समितिले पहिलो चरणमा झापाका तीनवटा स्थानीय तहलाई विपन्न नागरिकको राहतका लागि स्थापित कोषमा १ लाख ५३ हजार रुपैयाँ सहयोग गरेको छ ।

‘यस्तो अवस्थामा सबै पालिकालाई सहयोग गर्नु पर्छ भन्नेमा हामी सहमत भयौँ । त्यही अनुसार पहिलो चरणमा तीनवटा पालिकालाई सहयोग रकम हस्तान्तरण गरेका हौँ’, अध्यक्ष बोहोराले भने, ‘विपद्को बेला हामी पनि सँगै छौँ । हाम्रो दायित्व हामी पूरा गर्छाै ।’

सम्वन्धित पालिका कार्यालयमा पुगेर एसोसिएशनले राहत रकम कोषमा हस्तान्तरण गरेको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देश लक डाउन गरेपछि विपन्न अवस्थाका हजारौँ नागरिकलाई खाद्य सहायता जुटाउन झापाका विभिन्न स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम सहयोग गरिएको एसोसिएशनका झापा अध्यक्ष रोशन बोहोराले बताए ।

लक डाउनका बेला दैनिक छाक टार्न नसक्ने अवस्थामा पुगेका विपन्न नागरिकका लागि राहत दिन स्थानीय तहले स्थापना गरेको कोषमा एशोसिएसनले रकम सहयोग गरेको हो । एशोसिएसनले बिर्तामोड नगरपालिकालाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष टहलदास ओली र जिल्ला अध्यक्ष रोशन बोहोरा लगायतका पदाधिकारीले नगर प्रमुख ध्रुवकुमार सिवाकोटीलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् । एशोसिएसनले अर्जुनधारा नगरपालिकालाई ७१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

एशोसिएसनको सहयोगप्रति नगर प्रमुख हरिकुमार रानाले धन्यबाद ज्ञापन गरेका छन् । एशोसिएसनले झापाको बुद्धशान्ति गाउँपालिकाको राहत कोषमा पनि ३१ हजार रुपैयाँ जम्मा गरेको केन्द्रीय कोषाध्यक्ष ओलीले बताए । एशोसिएसनका पदाधिकारीले बुद्धशान्ति गाउँपालिका कार्यालय पुगेर अध्यक्ष रमेशकुमार भुजेललाई रकम हस्तान्तरण गरेका हुन् ।

झापाका १५ वटै स्थानीय तहका कोषमा रकम सहयोग गर्ने एसोसिएशनको तयारी रहेको अध्यक्ष बोहोरा बताउँछन् । ‘यस्तो अवस्थामा सबै पालिकालाई सहयोग गर्नु पर्छ भन्नेमा हामी सहमत भयौँ । त्यही अनुसार पहिलो चरणमा तीनवटा पालिकालाई सहयोग रकम हस्तान्तरण गरेका हौँ’, अध्यक्ष बोहोराले भने, ‘विपद्को बेला हामी पनि सँगै छौँ । हाम्रो दायित्व हामी पूरा गर्छाै ।’

प्रोपर्टी डिलर्स एसोसिएशनले आफ्ना सदस्यबाट सहायता रकम जुटाएर पालिकाहरुलाई हस्तान्तरण गरेको हो । समस्यामा परेका सदस्यका लागि पनि सहयोग गर्ने योजना अघि सारिएको अध्यक्ष बोहोराले बताए । ‘कोरोनाको जोखिममा हाम्रा सदस्य पनि पर्न सक्छन्’, उनले भने, ‘त्यही अनुसारको तयारी र व्यवस्थापनमा जुटेका छौँ ।’