युद्ध : रोग र भोकको !



दीपेन्द्र राउत

यो रोगले त मरिएला नमरिएला । तर, मानिस भोकले अवश्य मर्नेछ । आजभोलि हाम्रो गाउँघर र सामाजिक सञ्जालमा बढी बोलिएको शव्द हो यो । रोगबाट बच्न घरमा नै बस्नु भनिएको छ । तर, घरमा बसेर मात्र नहुने । पेटमा भोक लागिहाल्छ । छोराछोरी भोकले रुन थाल्छन् । घरमा बसेर रोगको समाधान त होला । तर, पेट कसरी भर्ने भन्ने चिन्ताको समाधान कसले गरिदिने ?

भोक र सुर्ताले आलसतालस भएर एउटा कोखमा दालमोठ चिउरा र अर्कोमा साना नानीहरु च्यापेर पैदल हिँड्नेको संख्या बाटोमा सयाँैको छ । रोग र भोकले मरे पनि परिवारसँगै घरमा पुगेर मर्न पाए हुन्थ्यो भनेर मानिस सडकमा कसैको प्रवाह नगरी गन्तव्यमा लागेका छन् ।

मुख्यतः शहरमा दैनिक ज्याला मजदुरी गर्नेको संख्या धेरै छ । न्युन आयस्रोत भएका दैनिक ज्यालादारी काम गर्ने र निजी कम्पनीमा काम गर्ने लगायत तमाम गरीबको जनसंख्या नेपालमा ठूलो छ । यी वर्गलाई रोगको भन्दा भोकको डरले सताएको छ ।

लक डाउन बढ्दै गएको छ । स्थानीय सरकारले हरेक वडासँग न्यून आय भएका विपन्न परिवारको नामावली संकलन गरेर टोल विकासको माध्यमबाट राहत नदिएको होइन । वितरण गरेकै छ । तर, के यस्तो राहतले ती कमजोर आय भएका विपन्न परिवारलाई यो लक डाउनभरि खान पुग्छ त ? अवश्य पनि पुग्दैन ।

सरकारले स्थानीय व्यापारी, कर्मचारी, संघसंस्थासँग समन्वय गरेर राहत बाँडिरहेको छ । सहयोग दिनेले एकपटक पो सहयोग दिन्छन् बारम्वार त दिदैनन् नि ! तर, लक डाउन बारम्वार बढिरहेको छ । सरकारले मागेर कति दिन राहत पुर्याउला ? यो सोच्नुपर्ने विषय बनेको छ ।

विश्वभरका मान्छे कोरोनाविरुद्घको युद्घमा होमिएका छन् । कोही अस्पतालको सघन कक्षमा त कोही आइसियुमा छन् । कोही होम क्वारेन्टाइनमा बन्द भएर यो महायुद्घमा सहभागी भइरहेका छन् । घर छोडेर टाढा गएकाहरु कयाँै दिनको पैदल यात्रामा छन् ।

सहयोगीहरु कतै बाटामा त कतै राहत जुटाउन व्यस्त छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, ढुवानीकर्ताले आ–आफ्नो दायित्व निरन्तर पूरा गरिरहेका छन् । स्वदेशमा रहेकाहरुले परदेशमा रहेकालाई सम्झिरहेका छन् । परदेशीहरु पनि देशको माटो सम्झिदै एकदिन स्वदेश फर्किन आशामा जसोतसो दिन काटिरहेका छन् । यो अफ्ठ्यारो समयमा कोही रोगसँग लडिरहेका छन् भने कोही भोकसँग लडिरहेका छन् ।

मानिस आ–आफ्नो ठाउँमा लडिरहेका छन् । सबैको दुःख मिल्दोजुल्दो छ । केही मानिसका दुःख अलि फरक छन् । तर, सबैको संकल्प एउटै छ, कोरोनालाई हराएरै छाड्ने । कोरानाविरुद्घ जीत निकाल्ने । सबैको लक्ष्य एउटै बनिरहँदा मानिसका पीडा अलग–अलग छन् । कोही रोगसँग लड्छन् । कोही भोकसँग लड्छन् ।

देशभित्रै घरबाट टाढा रहेका र खाद्यान्न अनि पैसा समेत सिद्घिएकाहरुको बेथा सुन्निएका पैताला र सुकेको ओठमुख र अनुहारले आफँै बोलिरहेको छ । सिमानासम्म आएर मातृभूमि टेक्न नपाएकाहरुको जीवन झन् पीडादायी छ । विदेशमा रहेर रोजगारी गुमाएका, भोकले दिन गन्नै विर्सिएका, संक्रमितहरुले उपचारसम्म नपाएको खवरले हामीलाई दुःखी तुल्याउँछ ।

विदेशबाट पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ । तर, सरकार आज विदेशमा रहेर रोजगारी गुमाएका, खान नपाएर कोठामा छट्पटिएकाहरुको चित्कार किन सुनिरहेको छैन ? कहिले सुन्छ ? दैनिक चालिसदेखि पचास हजारको हाराहारीमा विदेशिने नेपाली युवा आज कुन पीडामा होलान् ? विदेशी भूमिमा कतिञ्जेल खालीपेट सहन सक्लान् तिनले ? यो सरकारले मनन् गर्नैपर्छ ।

ब्राजिलले नेपालमा भ्रमणमा आएका ३५ जना आफ्ना नागरिकलाई प्लेन चार्टर गरेर फिर्ता लगेको छ । तर, विडम्वना हाम्रो देश विदेशी भूमिमा ज्यान गुमाएका कयौँ नेपालीको लास समेत ल्याउन नसक्ने अवस्थामा छ । विदेशमा बाकसमा बन्द अवस्थामा छन् लासहरु । यहाँ नेपालमा परिवारको के अवस्था होला ? सोचौँ ।

कोरोनाको कहर त छदैछ । तर, विदेशी भूमिमा ज्यान गुमाएकाहरुको लास अझै परिवारले पाएको छैन । कोरोनाको कारणले देश विदेश लक डाउन भएपछि साउदीमा २६ शव रोकिएका छन् । मलेसियामा १५, युएईमा ११ र कतारमा ८ वटा लास छन् । अन्य मुलुकमा पनि नेपालीका शव अलपत्र छन् । स्वदेशको पीडा यति दर्दनाक छ भने विदेशको के हालत होला ?

रोग सङ्क्रमणको दृष्टिबाट हेर्दा हुँदा खाने र हुने खाने दुबैलाई बराबरी जोखिम होला । किनभने रोगले गरीब र धनी भन्दैन । यसले राजा र प्रजा छु्ट्याउँदैन् । तर, भोकको दृष्टिले हेर्ने हो भने हुने खानेलाई खासै असर परेको छैन् । उनीहरु बैँक बचतको रकम खर्चेर लक डाउनमा पनि आनन्दले जीवन बिताइरहेका छन् । परिवार सबै भेला भएर बस्दा चाडपर्वको भान भएको छ । तर, लक डाउनले कामबाट विमुख हुनु पर्दा हुँदा खानेलाई भने नराम्रो असर परेको छ ।

यतिबेला हुँदा खानेहरुको हात रित्तो भएको छ । हातमुख जोर्न धौ–धौ परेको छ । रोगको आतङक ठूलो कि भोकको आतङ्क ठूलो ? उत्तर प्रष्ट छ । हुने खानेका लागि रोगको आतङ्क ठूलो छ । समाजमा एउटा वर्ग रोगको आतङ्कबाट त्रसित छ भने अर्को वर्ग भोकको आतङ्कले ग्रसित छ । भोको पेटलाई रोगसँग त्यति डर लाग्दैन, जति डर अघाएको पेटलाई लाग्छ । रोगले मान्छे मर्न सक्छ । तर, भोकबाट बचेको मान्छेलाई नै रोगले मार्ने हो ।

भोकबाट बच्न सकेन भने रोगले कसरी मान्छे मार्छ ? भोकले नै मान्छे मर्यो भने त उसले रोगसँग लड्नै पर्दैन । त्यसैले भोक पहिला र रोग पछिको हो । भोकबाट बाँचेपछि रोगसँग लड्ने हो । मानिस रोगसँग लड्न सक्छ । तर, भोकसँग सक्दैन । त्यसैले संसारको ठूलो रोग भोक हो ।

देश लक डाउनमा रहँदा हुनेखाने रोगसँग लडिरहेका छन् । हुँदा खानेहरु भने यो लक डाउनमा भोकसँग सङ्घर्ष गरिरहेका छन् । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने व्यक्तिसँग भोक टार्ने औषधि छैन । त्यसैले रोगविरुद्घ मात्र होइन भोकविरुद्घ पनि सचेतना अपनाऔं । रोग र भोकको यो युद्घमा भोकबाट पहिले बाँचौं अनि रोगबाट बाँचौला ।