कृति रंगमञ्चमा म 



 

माधव कल्पित 
विज्ञानले पृथ्वीमा विजयको बिकुल फुकेको पूर्ण शंखध्वनि ले विश्राम नपाउँदै प्रकृतिले सिंगो मानव समाजलाई चुनौती दिई मानव मृत्युको खबर सुनाइरहेको थियो । विश्व लक डाउन भएपछि मानिस आफूले बनाएको सानो दिवालको कोठ भित्र आफूलाइ कैद गरी बस्न बाध्य थिए।

सिंगो पृथ्वीलाई नै निल्ने सपना बोकेर विश्व बारुदको होडबाजीमा दौडिरहेको मान्छेले उड्नेदेखि गुड्नेसम्म सबै चपाइसकेको थियो । गाई गोरु खसी बोका राँगा कुखुरा माछा भनौँ सुंगुरदेखि कुकुरसम्म सबै पृथ्वीको सर्वश्रेष्ठ र चेतनशील प्राणी मान्छेको पेट भर्न पैदा भए जस्तै भइसकेका थिए । मान्छेले गर्भ निरोधक भ्याक्सिन बनायो । लिंग पहिचान गरी भ्रुण हत्या गर्न सफल भयो । आकाशका चरालाई पिंजडामा कैद गर्दै वनका हिंश्रक जनावरलाई समेत चिडियाखानामा बन्द गर्न सफल मान्छे ,चन्द्रलोकमा घडेरी खरिद गरी मंगलमा खेतीको सपना देखिरहेको छ।

लिटल ब्वास र फ्याटम्यान बनाउन सफल मान्छे ,हिरोसिमा र नागासाकीमा कुनै बेला आणबिक झारेर सिंगो प्रकृतिको सिर्जनालाई ध्वस्त गर्न सफल मान्छे आज यौटा अदृश्य भाइरससँग डराएर घुँडा टेकेर आफ्नो बिकास र बिजयलाई आफैँले धिक्कार्दै जीवन र मृत्युको लडाइँ लड्न विवश छ। यसैबेला मान्छेका सारा बिजयमाथि धाबा बोल्दै नोभेम्बर १७, २०१९ मा चीनको वुहान शहरबाट मान्छेले चमेरो र सर्प पचाउन नसकेको खबर सुनियो । यो खबरले त्यतिबेला म पनि निक्कै अचम्मित परेको थिएँ । एकदुई दिन नबित्दै २०७६ चैत ११ गतेबाट विश्वसँगै नेपालमा पनि सरकारले लक डाउनको उर्दी जारी गरेको छ ।

चीनमा एक महिलालाई सर्प र चमेरोको जीन फ्युजनबाट उत्पन्न भएको भाइरसको संक्रमण एकपछि अर्को गर्दै हप्ता दिनभित्र विश्वका सबै राष्ट्रमा फैलिसकेको थियो । दिनदिनै फेसबुक र सामाजिक सञ्जालमार्फत मानव मृत्युको खबर सुन्दै दुःख व्यक्त गरेर घरको चार दिवालभित्र कैद बन्न पुगेका छौँ। फुर्सत नहुँदा समय निकालेर साहित्य सिर्जनामा दौडने मेरो मन र कलम यसपटक किन हो पूर्णबिराम लागेजस्तै भएको छ । लक डाउन पुर्व पोखराबाट सिभिल इञ्जिनियर चौथो वर्षमा अध्ययनरत छोरा समिन र पोखरामै बसेर व्यवसाय सञ्चालन गर्दै गरेकी छोरी समीक्षा ज्वाइ र सानो १८ महिनाको रहरलाग्दो भविष्यको कर्णधार नाती घर आइपुगिसकेका थिए ।

मान्छे कति स्वार्थी हुन्छ आफु र आफ्नो परिवार सुरक्षित भयो भने आफूलाई भाग्यमानी र बहादुर सम्झन्छ । शायद म पनि त्यै समाज र परिवेशमा हुर्केको न हुँ । मनमा त्यति चिन्ता थिएन । घरको यो बसाइमा मोबाइलमै घोप्टीएर दिन बिताउनु सिवाय अरु खासै बिकल्प पनि भेटिएन । मेरो आलश्य र थकान देखेर मेरी श्रीमती सुजना मलाई समयको सदुपयोग गर्न र केही साहित्य सिर्जना गर्न अनुरोध गर्दै थिइन । म लेख्ने कुनै बिषय र जोश जाँगरै नभएकोले आज आज भोलि भोलि भन्दै उनलाई टारी रहेको थिएँ । हिजोसम्म तछाडमछाड गर्दै पैसामा निर्लिप्त भएर कात्रोमा समेत पैसाको थैली सिलाउन दौडिरहेको मान्छे, डलरमा आमा बेच्दै युरोमा धर्म साटी रहेको बेला एउटा अदृश्य भाइरस को भयले पैसा छुनसम्म डराइरहेको बेला मलाई कलम र कागज समाएर केही लेख्न त्यतिकै डर लागिरहेको थियो ।

हिजो श्वेत र अब्वेतको पर्खाल लगाएर छुत र अछुतको सिमाना कोर्दै हिँडेको मान्छेलाई आज देखे र भेटेजति सबै चिज अछुत लागेको बेला १५ मिनेटमा कम्चीमा २० सेकेन्डसम्म मिचिमिची सावुन पानीले हात धुनुहोस् भन्ने अखबार र सामाजिक सञ्जालका खबर र उर्दि हेर्दै , सुन्दै घरको बन्द कोठामा सरकार र श्रीमतीको दवाबमा परेर बस्नु मेरो बाध्यता थियो । सरकारको आदेश नमान्नु काोरोना को डर, श्रीमतीको आदेश नमानौं आफूलाई साहित्यप्रेमी र रङ्गकर्मी भनेर चिनाएको के काम ? यी दुबै प्रश्नले पोलिरहेको थियो । तैपनि मोवाइ खोज्न र अरुका सिर्जना पढेर दिन काट्न शिवाय अर्को विकल्प थिएन । फेसबुक खोलेर हेर्दा अमेरिका निवासी बहिनी सरु गुरागाईंले आफ्ना बाबाद्वारा लिखित समय सापेक्ष कविता सारै मीठो स्वरमा वाचन गरेको र सोही कविताको श्रब्यदृश्यसहित नेपालका प्रशिद्ध हाँस्य कलाकार मनोज गजुरेलले कवि जीवनहरि शर्मालाई त्यही कबिताका साथ जन्मदिनको शुभकामना दिएको पोस्टले निकै मन छोयो ।

अब म पनि कविता लेख्नु पर्यो र वाचनका लागि बहिनी सरुलाई पोस्ट गर्नुपर्यो भनेर लेख्न खोजेँ । एकदिन भरी लगाएर कविता त लेखियो तर आफैंले वाचन गरेर सुन्दा त्यति ओजिलो लागेन । मन्दिर, मस्दिज ,चर्ज ,विहार ,सबैक्षेत्र का पुजारी मौलाना ,पादरी, भिक्षु यावत्का हात काँपिरहेको बेला मानव मृत्युको खबर सुनेर पनि अंगालो हालेर रुने आफन्त नभएको बेला, मलामी जान छिमेकी नपाएको क्षणमा घण्टामा चार पटक धोएर छाला नै पिल्सिन लागेका हातले कोरेको सिर्जना के पो गतिलो बन्थ्यो र । त्यो कविता त्यतिकै थन्क्याएर पढ्न र पठाउन मनै मानेन । क्षितिज नाट्य समूहका नाट्य विभाग प्रमुख गजेन्द्रलाई फोन गरेर श्रीमतीले आफुलाई थुपारेको भार उतै पञ्छाए । नाटक लेख्दै गर है ,लकडाउनको समयमा नाटक घर बनिसकेपछि मञ्चन गर्न काम लाग्छ । सायद उ पनि मजस्तै दिग्दार नै थियो । तर, उ मेरा कुरा त्यति काट्न सक्दैन थियो ।

कलाकारितामा प्रवेश गरेदेखि नै उसले घरको जेठो छोराको दर्जा पाएको थियो । भन्यो, सिरियलको कथा लेख्दैछु । यो सकेर नाटक लेख्छु । अब मन हलुका भयो । नाटक घरका लागि नाटक जन्मने आशामा । भोलिपल्ट सबेरै उठेर पूर्वपट्टिको झ्याल खोले । आकाश छ्याङ्ग खुलेको छ । बाटो सुनसान छ । नाङ्ला जत्रो सूर्य तेजिलो बन्दै उदाइरहेको छ । हिजोसम्म एकाबिहानै ट्याक्टरको गड्याङगुडुङ आवाजले थोत्रिएका कानमा कोइली र चराचुरुङ्गीको सुमधुर आवाज गुन्जिरहेको छ । मानव रोएको बेला प्रकृति हाँसेको देखेर मलाई पनि मन प्रफुल्ल भएर एक्छिन हाँसु हाँसु लाग्यो । बिहान हाँस्नु स्वास्थ्यका लागि पनि लाभदायक हो भनेर निकैबेर म मुस्कुराइ रहे । केही क्षणपछि मोबाइल खोलेर समाचार सुन्छु ।

अमेजन र नायल नदी आफ्नै गतिमा बहँदै छन् । गंगा बिष्णुमति को जल संङ्लिएको छ । हिमालहरु हिउँले अग्लीरहेका छन् । ओजन तह सन्तुलित हुँदैछ । टापुहरू डुवानको भयबाट मुक्त हुँदै छन् । जंगलमा निर्भय डुल्दै छन् मृग शावकहरु । आफ्नै आवाज मा गर्जि रहेछन् बाघ र भालुहरु । चराहरु आकाशमा कावा खाँदै उडिरहेका, समुद्रमा व्हेल माछा नाँच्न थालेको समाचारले मन केही प्रफुल्ल भयो । लाग्यो विकासको नाममा आजसम्म मानव विज्ञानले विनाश मात्रै गरेछ । आफ्नो अस्तित्व र पहिचान बचाउन अरूको अस्तित्व र पहिचान सक्दै आएछ । त्यसैले त मानिस आज आफैंले बनाएको चार दिवालभित्र आफू कैद बन्न बाध्य छ । अरु सबै प्राणी पंक्षी बेखबर स्वतन्त्र भएर उडिरहेँ छन् डुली रहेछन् ।

सालको अन्तिम दिन हाम्रो नाट्य समूहका संस्थापक सचिव देवेन्द्र अधिकारी जीले एकाबिहानै पाँचथरबाट भिडियो कल गर्नुभयो । करिब १२ वर्षपछि हाम्रो कुराकानी गर्ने अवसर मिलेको हो । एक दिनअघि मात्रै उहाँको मेसेन्जरमा १९ वर्षअघि हामीले सँगै खेलेको नाटकको फोटो पठाएको थिएँ । सायद त्यही स्मरणसँगै उहाँको फोन आयो । फोनमा लामो कुराकानी भयो । विगतदेखि वर्तमानसम्म एक एक गरेर स्मरण गरियो । झापामा आफूले ठूलो प्रयास र प्रयत्नबाट नाटक घर बनाउने काम गरिरहेको हुँदा फेरि जोडिएर काम गर्नु पर्छ भन्ने आग्रह गरे । नेट अलि स्लो भएकोले हामी त्यति बातचितसँगै छुट्टियौं ।

उहाँ सँगको प्रेरणादायी भिडियो कलबाट मलाई एकाएक उर्जा बढेर आयो । भिडियो कल काटेर मैले कापी र कलम समाए । सम्झे रंगमञ्चमा जीवन समर्पण गरेर अहिलेसम्म वर्तमान मात्रै देखिएछ । भुत र भविष्य बिनाको बर्तमान बिज्ञानलाई जितेको मानव अदृश्य भाइरसको भयबाट भागे जस्तै हो । रंगमञ्च को यात्राबाट भविष्यमा भौतिक शरीर भागे पनि आउँदो पुस्ताको लागि अवशेष छाडेर जान केही काम गर्नै पर्छ । लक डाउनलाई गुड लकमा परिणत गर्न सक्नु नै समयको गतिसँगै चल्न सक्नु हो। यस्तै बिचार र भावनाले मन पोलेपछि सेतो कागजमा कर्मका अवशेषहरु पोख्ने जमर्को उठाएँ । त्यही साहस र भयरुपी विश्व मानवको लक डाउनबाट मेरो रंगमञ्चमा म भन्ने कृतिको जन्म हुने अवसर जुरेको छ । कृतिमा शब्द थपिएसँगै महामारीले संसारभरबाट अकालमा जीवन गुमाउन बाध्य निर्दाेष मानव आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै कृतिको प्रारम्भ गर्दछु । बाँकी अर्को अंकमा

 क्षितिज नाट्य समूह झापा