कान्छो छोराले बिर्सियो है आमा ?



 

लक्ष्मी काफ्ले
म निकै ढिलो जन्मिएको छोरो । मभन्दा अघिल्लो दाजु नै ११ वर्ष जेठो छ । हामी पाँच भाइ छोरा । त्यसबेला अरुका घरमा चाहिँ छोराको आशमा सन्तान थपिन्थे । हाम्रोमा छोरीको आशमा छोरैछोरा थपिए । अरुलाई छोराको रहर हुन्थ्यो । मेरी आमालाई भने छोरीको रहर थियो ।

लगातार तीन छोरा जन्मिएपछि मणिपुरतिरका एकजना ज्योतिषीलाई बुवाआमाले चिना देखाउनुभयो । ती ज्योतिषी पनि हाम्रै थरका । चिना हेरेपछि मेरी आमातिर फर्किएर तिनले भनेछन्, ‘काकी, अब एउटा भाइ जन्मिन्छ, त्यसपछि बहिनी पक्का ।’ त्यसको एक वर्षपछि अर्थात् २०३९ सालमा मेरो काइँलो दाइ जन्मियो । अब पालो थियो छोरीको ।

काइँलो जन्मिएको ९ वर्षपछि आमा साह्रै बिरामी पर्नुभयो । घाँटीभित्र मासु पलायो । केही निल्नै भएन । घाँटी पूरै सुन्नियो । विराटनगरमा आमाको घाँटीको शल्यक्रिया गरियो । आमा कहिलेकाहीँ सुनाउनुहुन्छ, ‘कत्ति दिनसम्म होसै आएनछ मेरो, डाक्टरले माया मारिसकेका थिए अरे ।’ डाक्टर भगवानका रुप हुँदा रहेछन् । उनीहरुले मेरी आमालाई बँचाए । अहिले पनि आमाको घाँटीमा हेर्दा प्रष्ट देखिन्छ, अगाडिपट्टि आधा नै चिरेर सिलाइएको छ ।

त्यसको दुई वर्षपछि बुवाआमाले छोरीको आशामा मलाई जन्म दिनुभयो । मभन्दा अघिका सबै दाजुहरु इलामको पश्चिम–दक्षिणको खै कुन्नी कुन गाविसमा जन्मिए । म जन्मिँदा मेरो परिवार झापाको शिवगञ्ज बसाइँ सरिसकेको थियो । न्वारनमा आएका पुरोहितले मेरो नाम लीला राखिदिए । भाइलाई ‘लीले’ भनेर बोलाउँछन् भन्दै न्वारनकै दिन जेठो दाइले मेरो नाम लक्ष्मी राखिदिनुभयो । बा–आमाको रहर मेरो नामले चाहिँ पूरा गरेछ । लीला भए पनि, लक्ष्मी भए पनि नाम त छोरीकै थियो नि ।

म जन्मिएको केही महिनापछि ती ज्योतिष फेरि हाम्रो घर आए । बाहिर बरन्डामा बसेर उनी बुवासँग गफिँदै थिए । आमा भित्रबाट मलाई बोकेर निस्किनुभयो । मुसुक्क हाँस्दै उनले सोधे, ‘काकी के छ खबर ?’ मेरी आमाले ती ज्योतिषलाई ‘ला तेरी बहिनी’ भन्दै मलाई उसको काखमा राखिदिनुभएछ । उनी लाजले रातोपिरो भएछन् । आमाले यो किस्सा कहिलेकाहीँ सुनाउनुहुन्थ्यो ।

मैले थाहा पाउँदा तीनजना दाजुहरु लाखापाखा लागिसकेका थिए । काइँलो घरमै थियो । सानोमा आमाले मलाई छोरीजस्तै बनाएर राख्नुहुन्थ्यो । लामो कपाल दुईचुल्ठी पारेर कोरेको । त्यसमा रिबन लगाएको । आँखामा गाजल । निधारमा टीका । हातमा चुरा । ठ्याक्कै छोरीजस्तै । ‘कान्छी छोरी…’ भन्दै आमाले बोलाएको अझै सम्झना छ मलाई । गाउँमा हाम्रो घर एक्लो थियो । खेल्न अरुका घरमा जाने अनुमति थिएन । म असाध्यै सन्तोकी थिएँ सानोमा । त्यसैले पल्लो घरकी खड्केनी बडिआमाले ठूलो स्वरमा ‘सन्तोष’ भनेर बोलाउँथिन् मलाई ।

सधैँ दुई चुल्ठी पारेर बाटिने मेरो कपाल काटिएको दिन पनि अलिअलि याद छ । घरमा सेल रोटी पकाइएको थियो । दुईवटा रोटीको चुरा लगाएको थिएँ मैले एक–एकवटा हातमा । रिजाल भिनाजुले कपाल काटिदिनुभयो । त्यसको केही समयपछि मलाई स्कूल पठाइयो । पहिलो दिन स्कूल गएको पनि याद छ । स्टिलको ठूलो थालमा दाल र मोहीसँग भात खाएको थिएँ । त्यस दिन तरकारी पाकेकै थिएन ।

शिवगञ्ज बजारनेरको बोर्डिङमा दुई वर्ष पढेँ । म त्यो बोर्डिङमा हुँदा आमा कहिलेकाहीँ टिफिन समयमा आउनुहुन्थ्यो । प्रिन्सिपललाई बिदा मागेर बजारको फोटो स्टुडियोसम्म लैजानुहुन्थ्यो । त्यस दिन ठूलोममीको छोरा अंकित दाजुले दिनुभएको कोट लगाएको थिएँ मैले । फोटो खिचिदिने मान्छेले कोटको टाँक लगाउनु भने । कोटको सबै टाँक मैले छिनालिसकेको थिएँ । आमाले पिनसियो लगाइदिनुभयो । आमा भन्नुहुन्थ्यो, ‘त्यसले क्यामरामा हेर्न लगाउँछ, सीधा त्यता नहेर्नु नि, अलिअलि भुइँतिर हेर्नु, अनिमात्र फोटो राम्रो आउँछ ।’

मेरा सबै दाजुहरुले ‘आमा’ भन्थे । मलाई भने ‘ममी’ भन्न सिकाइएछ । गाउँका अरु दाजुदिदीले पनि आफ्नी आमालाई ‘आमा’ नै भन्थे । ‘ममी’ भन्ने मै मात्र हुँ जस्तो लाग्न थाल्यो मलाई । रहरले कहिलेकाहीँ म पनि ‘आमा’ भनिहेर्थेँ । मैले त्यसरी बोलाउँदा आमा रिसाइदिनुहुन्थ्यो । मैले चाहिँ ‘ममी’ भनेरै बोलाएको मन पथ्र्यो उहाँलाई । मभन्दा ३७ वर्ष जेठी मेरी आमा र म साथीजस्तै थियौँ । बुबाले गाली गरेर आमा रुँदा म पनि आमासँगसँगै रुन्थेँ ।

मैले थाहा पाउँदादेखि नै आमा औषधि खानुहुन्थ्यो । घाँटीको शल्यक्रिया गरेपछि डाक्टरले जीवनभर खानका लागि औषधि दिएका थिए । पूर्णरुपमा निको भएजस्तो लागेपछि एकपटक उहाँले औषधि खान छाडिदिनुभयो । ६ महिनासम्म उहाँलाई केही भएन । दह्री भएर घरको सबै काम गर्नुभयो । त्यसपछि भने आमालाई रोगले साह्रो पा¥यो । दाइहरुले आमालाई धरान, विराटनगर, काठमाडौँ कताकता लगेर उपचार गरे । औषधि किन छाडेको भनेर डाक्टरले झपारेछन् । आमा अझै पनि औषधि नियमित खानुहुन्छ । सानो छँदा एकदिन मैले पनि लुकेर एउटा गोली खाइदिएको छु ।

जहिल्यै सेतो भात खाएको मैले एक दिन दिउँसो पहेँलो रङको भात देखेँ । आमालाई सोधेँ, ‘यो के पकाउनुभएको ?’ दिउँसो खाजाको समय भएकाले उहाँले सरल उत्तर दिनुभएको रहेछ, ‘खाजा पकाएको ।’ मैले त्यसको नाम नै ‘खाजा’ ठानेँ । सधैँ पहेँलो भातलाई ‘खाजा’ भनेँ । मैले खाजा भनेको घरका सबैले मन पराए । मेरो अगाडि उनीहरुले पनि खाजा नै भने ।

अलिक वर्षपछि त्यसको नाम चाम्रे हो भन्ने गाउँबाट थाहा पाएँ । अर्कोपटक घरमा त्यो पाकेको बेला ‘आहा आज चाम्रे !’ भनेँछु । आमा जोड रिसाउनुभयो । ‘खाजा भन्’ भन्नुभयो । त्यसपछि मैले ‘खाजा भात’ भन्न थालेँ । मैले साँधेको त्यो पिरो गुन्द्रुक र आमाले पकाएको ‘खाजा भात’ कत्ति मिठो हुन्थ्यो ।

आमाको प्रेसर हाइ थियो । टाउको दुखिरहन्थ्यो । हप्तैपिच्छे गणेश डाक्टरकोमा प्रेसर जाँच्न जानुपथ्र्यो । एक पटक टाउको दुख्यो भने आठ÷नौ दिनसम्म सञ्चो हँुदैन थियो । त्यही भएर मैले सानैदेखि घरको काम सिकेँ । ८ वर्षको छँदै ओछ्यान मिलाउन, घर बढार्न, खाना बनाउन थालेको थिएँ । गाउँका मान्छेले भन्थे, ‘हेर.. यो चाहिँ छोरी भएर जन्मिनुपथ्र्यो नि ।’

म ४ कक्षामा पढ्दा जेठो दाजुको बिहे भयो । ६ कक्षामा थिएँ होला, दाइको छोरी जन्मिइ । छोरी हुर्काउन नपाउनुभएकी मेरी आमाले नातिनी हुर्काउनुभयो । ९ र १० कक्षामा हुँदा म राति धेरैबेर पढ्थेँ । आँगनमा दुईकोठाको सानो छुट्टै घर बनाइएको थियो । म त्यहाँ एक्लै सुत्थेँ । हामी घाम नअस्ताइ खाना खान्थ्यौँ । म राति भोकाउँछु भनेर आमा जसरी पनि खाना उभार्नुहुन्थ्यो । ‘बटुकाले छोपेर राखिदिएको छु, मोहीसँग खाएर सुत्नु’ भन्दै आमा सुत्न जानुहुन्थ्यो । म ११ बजेसम्म पढेर त्यो भात खाएर सुत्थेँ ।
एसएलसीपछिको तीन महिना गाउँमा पत्रिका वितरकको काम गरेँ । चोकमा सानो पसल गरेँ । चटपटे बनाएर पनि बेचेँ । रिजल्ट आएपछि साइँलो दाजुले मलाई पढाउन सहर लानुभयो । दाइकै माया र प्रेरणाले म पत्रकारितामा आएँ । कलेजमा भर्ना हुन म सहर गएको दिन आमा विराटनगर जानुभएको थियो । आमा अझै भन्नुहुन्छ, ‘त्यस दिन म घरमा थिएँ भने कान्छो छोरालाई मबाट टाढा जान दिने नै थिइनँ ।’

अहिले सम्झिँदा लाग्छ, आमाको सल्लाहबिना सहर नपसेको भए हुने रहेछ । समयले मलाई सबैबाट धेरै टाढा बनायो । म नजिकैको सहरमा थिएँ र पनि आमाबाट टाढा थिएँ । अहिले सबैभन्दा टाढा आइपुगेको छु । आज आमाको मुख हेर्ने दिन । म सानो हुँदा आमाको मुख हेर्ने दिन बिहान बजार गएर स्याउ र जुलपी ल्याएर खुवाउँथेँ । कत्तिवटा मातातीर्थ औँशी बितिसके, कतिवटा दशैँ र तिहार गइसके । म घर गएको छैन । मेरी आमा मलाई कत्ति सम्झिनुहुन्छ होला ।
मेरी प्यारी आमा,

मेरो कारण तपाईं थुप्रैपटक रुनुपरेको छ । तपाईंलाई थाहा छ ? सानो छँदा एकदिन मैले जानीजानी निहुँ खोजेँ । एक साँझ मैले भनेँ, ‘तपाईं कहिल्यै मलाई सुताउनुहुन्न, जा बुवासँग गएर सुत् भन्नुहुन्छ । डेढ वर्षमै दूध पनि छुटाउनुभो । माया नै गर्नुभएन तपाईले मलाई ।’ मैले यसो भनेपछि तपाईं खुब रुनुभयो । डाको छोडेको थाहा नपाओस् छोराले भनेर गाम्छाले मुख छोप्नुभयो । त्यस रात म साह्रै पछुताएँ । अहिलेसम्म पनि मैले बोलेका ती शब्दले पछुताउँछु । तपाईंले त बिर्सिनुभयो होला है ?

सानैदेखि अरुका घरमा पाहुना जाँदा दूध, घिउ खान घिनाउँथेँ म । खोले पकाउने चुलोमा तपाईंले धेरैबेरसम्म उमालेको भैँसीको दूध, तपाईंले आफैँ तताएर सिसामा राखेको घिउ कत्ति मिठो हुन्थ्यो । घिउ दिने भए मात्र भात खान्छु भनेर कति सताउँथेँ म । यतिका वर्षसम्म त्यो स्वादबाट टाढा छु । दूध तताइसकेर कुराउनी कोर्दा एकाबिहानै मेरो याद आउँछ होला । सबैलाई खाना दिइसकेर अन्तिममा खान बस्ने तपाईं पहिलो गाँसमै मलाई सम्झिनुहुन्छ होला । भात अड्किएर ठूलो बाडुली लाग्दा पानी दिने कान्छो छोरोले बिर्सियो है आमा ? नङ लामा भएका बेला आफैँले काट्न नसक्दा झल्झली मलाई देख्नुहुन्छ होला । कपाल लट्टा परेको दिन काइँयोले दुखाउँदा मैले कपाल कोरिदिएका ती दिन सम्झिनुहुन्छ होला ।

आमा, अब तपाईं ६५ वर्ष पुग्न लाग्नुभएछ । मैले घर छाडेको पनि १० वर्ष हुन लागेछ । यी १० वर्षमा मलाई सम्झिएर कति रुनुभयो होला है ? सानो छँदाको ज्ञानी, भलाद्मी, सन्तोकी कान्छो छोरो ठूलो भएपछि असल हुन सकेन है ? छोडेर साह्रै टाढा गयो नि ? आज तपाईंको मुख हेर्ने दिन । पहिले त नजिक भएर पनि टाढाजस्तै थिएँ । अहिले भने साँच्चै नै टाढा छु । जताततै कोरोनाको त्रास छ । ढोका छुन, केही सामान छुन, अरुको मोबाइल छुन डराउँछु । बाहिर निस्किन डराउँछु । कोरोना नै कोरोना छ विश्वभरि । म त्यसैको बीचमा छु । आशा छ, यो कोरोनाले मलाई केही गर्दैन । यसलाई जितेर म अवश्य फर्किने छु । धेरै–धेरै माया छ आमा । कान्छो छोरो चाँडै घर फर्किनेछ ।

परालले बनाएको मुड्के पिरामा बसाएर मलाई ठूलो ठेकीमा मोही पार्न सिकाउने, नेती र मदानी समात्न सिकाउने तपाईं यो उमेरमा पनि सकिनसकी घरको काम सम्हाल्दैहुनुहुन्छ होला । बाहिरफेर गएर जेसुकै खान सिक्यो होला भनेर पीर नमान्नु । तपाईंले नखानु भनेका कुनै कुरा खान सिकेको छैन मैले । आमा आजलाई यत्ति ।