बन्दमा प्रविधिसँग मितेरी गाँस्दै झापाली शिक्षकहरु



 

धर्मेन्द्र मामा

विद्यालय बन्द भएको पनि एक महिना भन्दाबढी भइसक्यो । विद्यालयहरुले वार्षिक परीक्षाको मूल्याङ्कन गरिसक्न पाएका छैनन् । सबै विद्यालय बन्द छन् । यस अवस्थामा शिक्षकहरु चाहिँ के गरिरहेका छन् होला ? कतिलाई लाग्न सक्छ, शिक्षकहरु घरमा मस्त बसिरहेका छन् । कामै नगरी तलव पकाएका छन् भन्ने पनि भ्रम परिरहेको हुनसक्छ । तर, शिक्षकहरु त्यसै बसिरहेका छैन । यो बन्दको अवधिलाई भरपुर रुपमा अवसरको रुपमा प्रयोग गरिरहेका छन् झापाली शिक्षकहरु ।

गरम् कालीआधारभूत विद्यालयका शिक्षक रामप्रसाद पराजुलीले यही अवधिमा कम्प्युटर चलाउन सिके । उनी भन्छन् ‘मैले वर्ड, पावर पोइन्ट र एकसेल चलाउन भरपुर रुपमा सिक्ने अवसर पाएँ । त्यतिमात्र होइन, कक्षाकोठामा प्रयोग गर्न सकिने शैक्षिक सामग्रीहरु पनि प्रविधिको प्रयोग गरी कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा पनि सिकेँ ।’ दुर्गा मावि गरामनीका शिक्षक निकुञ्ज शर्मा अहिले प्रदेश सरकारद्वारा सञ्चालित आइसिटी तालिममा व्यस्त छन् । अब उनी चाँडै प्रदेशस्तरीय शिक्षकको तालिममा सहभागी हुँदैछन् । भृकुटी मावि दुर्गापुरका शिक्षक चण्डिका आचार्यका लागि पनि यो बन्द उपयोगी बन्यो । उनी निरन्तर आइसिटी सम्बन्धी अनलाइन तालिममा सहभागी भइरहेका छन् ।

केही महिनाअघि मात्र शिक्षक सेवा आयोग उत्तीर्ण गरी ताप्लेजुङमा नियुक्ति भएका शिक्षक केशव उप्रेती अहिले आइसिटी सम्बन्धी तालिममा व्यस्त छन् । आफूले केही कुरा जानेको भए पनि यस्ता कोर्षबाट धेरै कुरा सिक्ने अवसर पाएको उनी बताउँछन् । ढुकुरपानी माविका पूर्व प्रधानाध्यापक समेत रहेका शिक्षक रघुनाथ भट्टराईको लागि पनि यो अबिस्मरणीय अवसर बन्यो । कम्प्युटरसम्बन्धी त्यति धेरै ज्ञान नभएको हुनाले उनले धेरै कुरा सिक्ने मौका पाए । झापाली शिक्षकहरु शैक्षिक सत्र सुरु हुनु अगावै प्रविधितर्फ उन्मुख हुँदै गएको पाइन्छ । सरकारी विद्यालयका साथ साथै निजी विद्यालयका शिक्षकहरु पनि अहिले सिक्ने र सिकाउने कार्यमा तल्लिन छन् ।

बिर्तामोडस्थित न्युटन एजुकेशन एकाडेमीका शिक्षक जेनी राई र संगीता बस्नेत बन्दको समयलाई भरपुर उपयोग गरिरहेका छन् । उनीहरु देशका विभिन्न भागबाट सञ्चालन गरिएका अनलाइन तालिममा सहभागी भएका छन् । शिक्षकहरुले सिकिरहेका मात्र छैनन्, कतिपय सिकाउने कार्यमा पनि उत्तिकै सक्रिय भएको पाइन्छ । जनजागृति मावि गोलधापका शिक्षक टीकाप्रसाद सुवेदी झापामा नाम चलेका आइसिटी प्रशिक्षक हुन् । उनी दैनिकजसो आइसिटी सम्बन्धी अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन् ।

सुवेदीसँगै शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाल, हिमालय मावि दमकका शिक्षक बालकुमार रेग्मी, सिंहदेवी मावि दमकका शिक्षक घनश्याम अधिकारी, रारामावि दुधेका नारायण भट्टराई लगायतका प्रशिक्षकहरुको दिनचर्या अहिले अनलाइन तालिम सञ्चालनमा बितिरहेको छ । विशेष गरी प्रविधिमैत्री शिक्षक समाज र अंग्रेजी शिक्षकहरूको संस्था नेल्टा जस्ता संस्थामा आबद्ध शिक्षकहरु सिक्ने र सिकाउने क्रममा जागरूक देखिन्छन् ।

कतिपय शिक्षकहरु परीक्षा दिन बसेका विद्यार्थीका लागि अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन् भने फेसबुक र ह्वाट्सएप जस्ता मिडियाको प्रयोग गरी पाठ्यसामग्रीहरु विद्यार्थीसम्म पुर्याउन लागिपरेका छन् । कोरोना भाइरसको कारण देश लामो समयसम्म लकडाउनमा रहने देखिन्छ । त्यसमा पनि शैक्षिक संस्थाहरुको अन्योल अझ बढेर गएको छ । यस अवस्थामा शिक्षकहरुले वर्तमान प्रविधिको प्रयोग गरी विद्यार्थीसम्म पुग्न प्रविधिमैत्री हुनैपर्ने बाध्यता सृजना भएको छ । यसैलाई मध्यनजर गरी झापाली शिक्षकहरुले प्रविधिसँग मितेरी गाँस्न थालेका हुन् ।