मेरा प्याराहरुको सम्झनामा



 

सुस्मिता खतिवडा

मलाई सुर्ता लागेको छ । मलाई न्यास्रो लागिसक्यो । एकमहिना बितिसक्यो, म विद्यालय गएकी छैन । विद्यालय र प्यारा विद्यार्थी मेरा लागि पार्टी, डिस्को, घुमफिर आदि सबै हुन् । म रमाएकी छु मेरो जीवनमा, किनकि म दैनिक ती कोमल मनहरुसँग बिताउन पाउँछु ।

आज यतिका दिन बितिसके । बेला बेला म सम्झन्छु, घरमा आफ्नो परिवारसँग रमाउँदा मेरा प्यारा झर्ना, नुमा, आस्मा, पवित्रा, चाँदनीहरु के गर्दै होलान् ? उनीहरुसँग बिताएका पलहरु सम्झदै रमाउँछु एकान्त बासमा । म चाहेर पनि अहिले उनीहरुलाई भेट्न सक्दिन । के ती प्याराहरुले पनि मलाई सम्झिँदा हुन त ?

रमाउन त म सबै कक्षामा रमाउँछु । तर, माथिल्लो कक्षामा भन्दा तल्लो कक्षामा धेरै रमाइलो लाग्छ । किनकि, उनीहरु सारै निश्चल छन् । डर, लाज, छलकपट केही छैन । यतिसम्म आत्मीयता कि, कोही कोही त आएर काखैमा बस्छ्न । मिस भनेको झुक्किएर ममि भन्छ्न । आहा ! कति रमाइलो छ त्यो पल ।

म उनीहरुसँग र उनीहरु मसँग लुटपुटिन्छन् । म उनीहरुको साथीनै बन्छु । कोही कोही त खास पनि हुन्छन् । आमा गुमाएकाहरुले तपाईं त मेरो ममी जस्तै लाग्छ भन्दा छाती भक्कानो परेर आउँछ । कति पवित्र नाता छ, हामीबीच । त्यसैले त मलाई सुर्ता लागेको छ । कहिले कोरोना भाइरससँग बिजय प्राप्त गर्नु र त्यो दैनिकीमा फर्कनु ?

मेरा प्याराहरु प्राय सबैका अभिभावक ज्याला मजदुरी गर्नु हुन्छ । आज यो कोरोना कहरले विश्व आक्रान्त भएको बेला म उनीहरुलाई सम्झन्छु । स्थानीय सरकारले दिएको राहत त्यहाँसम्म पुग्यो कि पुगेन ? ती अनमोल रत्नहरुको अनुहारमा खुशी नाच्यो कि नाचेन ? कतै उनीहरुको हँसिलो अनुहार भोकले गर्दा अँध्यारो त भएको छैन ? म यही सोच्छु, सम्झिन्छु ।

मैले सानै हुँदा सुनेकी थिएँ, सबैभन्दा सारो ढुंगा हुन्छ र ढुंगा भन्दा पनि सारो अभाव हो । मेरो विद्यालयमा पढ्ने ७५ प्रतिशत नानीहरुको आर्थिक अवस्था कमजोर छ । उनीहरुले निजी विद्यालयमा पढ्ने नानीहरुले जस्तो सुख सुविधा पाउनु त एकादेशको कथा जस्तै हो । आधारभूत आवश्यकता पूरा गर्न पनि चर्को छ । कति दिन उनीहरु भोकै विद्यालय आउँछन् । चिटिक्क परेको विद्यालय पोशाकको त कुरै नगरौँ, साथमा कपी पेन्सिल पनि हुँदैन ।

बिहानको खाना पनि राम्रोसँग खान नपाएका नानीहरुको गतिलो खाजाको त कल्पना पनि गर्न सकिँदैन । यी बिबिध समस्याले गर्दा उनीहरु विद्यालयमा नियमित उपस्थित हुन सक्दैनन् । सरकारी विद्यालयले झेलिरहेको यो ठूलो समस्या हो । यो समस्या समाधान गर्न अभिभावकसँग अन्तरक्रिया गर्न जरुरी छ । तर उहाँहरुलाई विद्यालयमा आउने फुर्सदै छैन । उत्तिकैमा निजी विद्यालयमा नानी पढाउने अभिभावक मासिकरुपमा भुक्तानी गरेको शुल्कको शक्ति भनौं वा उहाँहरुमा भएको ज्ञानको कारण आफ्ना नानीहरूलाई जतिसक्दो अब्बल बनाउन लाग्नुहुन्छ ।

समय समय नानीहरूको विद्यालय जाने, नानीहरूको गतिविधि बुझ्ने, गृहकार्य गराउने, परीक्षाको नतिजामा चासो दिने पढाईमा कमजोर भए ट्युसन पो राख्नुपर्ने हो कि भनी उहाँहरु सचेत भइरहनुहुन्छ । कतिपयले त अतिरिक्त शुल्क तिरेर ट्युसन पनि राख्नुहुन्छ । नानीहरू भन्दा अभिभावकहरु चिन्तित हुनुहुन्छ । छोराछोरीलाई चिटिक्क पारेर मिठो खाजा तयार पारी आफैं लिएर वा बस चढाएर नियमित विद्यालयमा उपस्थित गराउनु हुन्छ ।

अपसोच, मेरा विद्यालयका नानीका अभिभावक दैनिक गुजाराका लागि काममा निस्किनुहुन्छ । कतिपयले बिहान ६ बजे नै पकाएर राखिदिएको खाना खाएर आउँछन् । कति त आज खाना नै खाएको छैन भन्दै आउँछन् । कतिपय आउन मनलागे आउने मन नलागे दिनभरि गाउँमै बरालिने गर्छन् । १०–१५ दिनमा १ दिन विद्यालय आउनेहरु पनि छन् । कारण उनीहरुलाई तिमी स्कूल जाउ है भन्नेसम्म घरमा कोही हुँदैन । तर, यो तीतो यथार्थ धेरैले बुझेकै हुँदैन ।

के एउटा शिक्षकलाइ आफ्नो विद्यार्थी अब्बल बनोस् भन्ने चाहना हुँदैन ? चाहना हुँदाहुँदै पनि यी र यस्ता बिबिध समस्याले गर्दा हामी आलोचना खपिरहन्छौ । सरकारी विद्यालयका शिक्षकलाई अल्छे भनेर आरोप लगाउँदा मन सारै दुख्छ । हामीले जागिर मात्र खाएका हुँदैनौँ । हाम्रो त भावना जोडिएको हुन्छ, मनसँग मन साटिएको हुन्छ । हामीले पाएको तलब भन्दा हामीले बाँडेको ज्ञान नै जीवनभर काम लाग्छ ।

अन्त्यमा सरकारी विद्यालयमा यी र यस्ता धेरै समस्या धेरै छन् । सबै मिलेर समस्याको समाधानतर्फ लागौँ । एक अर्कालाइ दोषारोपण नगरौं । तसर्थ, समस्या पहिचान गरी समाधानतर्फ लागेमा सरकारी विद्यालय पनि निजी विद्यालयसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ ।

(खतिवडा लक्ष्मी मावि अर्जुनधाराकी शिक्षिका हुन् ।)