मलाई पैसा कमाउनु छैन् !



 

दीपेन्द्र राउत
के विषयमा लेखौँ भनेर दुई दिन सम्म विषय छान्न सकिँन । लक डाउनको समय दिनभरि घरको बसाई । के गरौँ के लेखौँ भइरहेको थियो । लेख्न त मन लाग्छ । तर, के विषयमा लेख्नु भनेर दिमागमा ठ्याक्कै विषय फुरेको थिएन । फेसवुकमा नयाँ पत्रिकामा कृष्णज्वाला देवकोटाले लेखेको ‘माफ गरिदिनुस् पैदलयात्रीहरु’ ! शीर्षकको विचार पढिरहेको थिए ।

विचार अत्यन्तै राम्रो लाग्यो । अहिलेको समयमा सरकारमा रहेकाहरुको रबैया र राजनीतिक पार्टीहरुले मजदुर तथा गरीवमाथि गरेको व्यवहार ट्याक्कै उतारेको पाएँ । त्यो विचार पढिसकेको थिएँ । फेसवुकमा नोटिफिकेसन आयो । यसो हेरेको त ‘मलाई पैसा कमाउनु छैन’, प्रधानमन्त्री भन्ने शीर्षकको समाचार रहेछ । अनि समाचार पढेँ । हाम्रा प्रधानमन्त्रीले ‘मलाई पैसा कमाउनु छैन् मैले सवै सम्पत्ति मेरो र श्रीमतीको शेषपछि ट्रष्टको नाममा दान गरिसकेको छु भनेर स्पष्टीकरणको शैलीमा भनिएको पाएँ । अनि मेरो दिमाखमा विषय फुर्यो ।

म सम्झिन्छु, हिजो हाम्रो बुवाको सोचलाई । मामाले दिएको तीन कठ्ठा जग्गा अनि परिवारलाई पालनपोषण गर्न अरुको खेत अधियाँ लिएर आफ्नो दैनिकी गुजारा चलाउनु भएको थियो बुवाले । न कसैको चिन्ता, न कसैको चासो आफ्नो काम गरो दिनभरि खेतमा समय बितायो । केवल चिन्ता थियो, गोठमा रहेका हलगोरु, गाईबाख्रा र बालीनालीको ।

आफुले पाएको तीन कठ्ठा जग्गामध्ये डेढ कठ्ठा जग्गा नब्बे हजारमा बेचेर पचहत्तर हजारमा एक विघा जग्गा किनेर खेती गरिरहँदा परिवारलाई खान लाउन जेनतेन पुगेको थियो । फेरि, बाँकी रहेको डेढ कठ्ठा जग्गा एकलाख पचास हजारमा बेचेर नब्बे हजारमा एक विघा जग्गा थप गरी दुई विघा जग्गा बनाएर खेतीपाती गर्दा पनि परिवारलाई राम्ररी चलाउन हम्मेहम्मे पर्ने गथ्र्याे । बुबाको पैसा कमाउने उद्देश्य थियो कि थिएन होला ? आज म सोच्ने गर्छु ।

मलाई लाग्छ, बुवाले पैसा कमाउन जग्गा किन्नु भएको थिएन । परिवारलाई अन्न खुवाउन, लालनपालनका लागि जग्गा किन्नु भएको थियो । हिजोका मानिसमा पैसा कमाउने सोच त्यति धेरै थिएन । कमाउनु भनेको परिवारलाई पालनपोषण नै मुख्य हुन्थ्यो । अन्न, लत्ता कपडाको जोहो त्यो बेलाको मुख्य आवश्यकता थियो । सोच थिएन कि ? पैसा नै थिएन ! अहिले म सोच्ने गर्छु । मलाई लाग्छ, त्यो बेलामा पैसा नै थिएन ।

बुबाले भन्ने गर्नु हुन्थ्यो, पैसा नभएर कति जग्गा मामाले त्यसै छोडिदिनु हुन्थ्यो । जग्गा जमिन प्रशस्तै थियो । तर, सरकारलाई तिर्ने पैसा थिएन । जमिनको कर तिर्न नसकेर जमिन धेरैले सरकारलाई छाडी दिन्थे । आज बुबाको भौतिक शरीर हामीसँग छैन । तर, बुवाले भनेका कुरा मेरो मानसपटलमा ताजा छ । हिजोको समय र आजको समय फरक छ । हिजोका दिनमा पैसा थिएन । तर, आज सबै धेरै छन् । पैसा पनि धेरै । मान्छे पनि धेरै । घर पनि धेरै । सोच पनि धेरै र आवश्यकता पनि धेरै । सबै धेरै भएको अबस्था छ ।

मान्छेलाई पैसा कति चाहिन्छ भनेर भन्दा अहिले जति छ त्यसको डवल चाहन्छ अरे । एक कार्यक्रममा हालका अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा भन्नु भएको थियो । मलाई सान्दर्भिक लाग्यो । अनि सोचेँ, हाम्रो सोचाई यस्तै हुन्छ । जति अहिले छ, त्यसको डवल बनाउन मानिस लालाहित छन् । पैसा जसरी नि कमाउनु छ । आजको हाम्रो समाज यस्तै सोचमा अगाडि बढेको पाइन्छ । पैसा किन चाहिन्छ ? जीविकोपार्जन गर्न पैसा चाहिन्छ । परिवार पाल्न पैसा चाहिन्छ । शिक्षादीक्षा दिन पैसा चाहिन्छ ।

जीवन चलाउन पैसा चाहिने भएको हुँदा आज हरेकको सोचाई पैसा नै कमाउनु भइरहेको छ । दैनिक चार हजारको हाराहारीमा नेपाली युवा पैसा कमाउन भनेर परिवार छोडेर विदेशिने गरेका छन् । तिनीहरुलाई पठाउने मेनपावर कम्पनी पनि पैसा कमाउन नै खुलेका हुन् । उच्च शिक्षाको नाममा विदेशिने युवा पनि पैसा कमाउने उद्देश्यले गइरहेका छन् । उनीहरुलाई पठाउने कन्सल्टेन्सी पनि पैसा कमाउनै खुलेका छन् ।

ठूला–ठूला स्कुल खुल्छन् । उद्देश्य पैसा कमाउने नै छ । अस्पतालले पनि उही उद्देश्य लिएका छन् । हरेक क्षेत्रमा पैसा कमाउने उद्देश्यले नै लगानी गरिएको छ । तर, राजनीतिक क्षेत्र पनि सोही अनुरुप अगाडि बढेको छ भन्ने आमनागरिकको बुझाइ छ । जन्मिँदा अस्पतालदेखि मृत्युपछि चितामा पुग्नसम्म पैसाको आवश्यकता पर्ने हुँदा मानिस पैसा कमाउन लागिरहेका छन् ।

धेरै साथीहरुले सोध्ने गर्नु हुन्छ दीपेनजी पैसा कसरी कमाउनु हौँ ? खै किन हो, मैले पैसा कमाएको देख्नु हुन्छ कि के भएर हो मलाई सोध्ने गर्नु हुन्छ । मेरो जवाफ, हेर्नु साथी मानिसले कसैले पनि सोचेर पैसा कमाएको छैन् र मेरो विचारमा पैसा कमाउनु पदैन । त्यो चिज त आफँै आउँछ, मेहनत, इमानदार र कर्तव्यनिष्ट भएर कुनै पनि काममा लाग्नु भयो भने । मलाई लाग्छ विनोद चौधरी आज विलिनियर भएका छन् । उनले कहिल्यै सोचेका थिएनन् कि म विलिनियर हुन्छु भनेर । त्यो समयसँगै उनको मेहनत परिश्रमको फल हो मेरो बुझाइमा ।

विलिनियर भएको बिनोद चौधरीलाई थाहा थिएन । उनी त आफ्नो कर्ममा तल्लिन थिए फोर्स म्याजेजिनको सर्वेले उनलाई विश्वको धनीको सूचीमा दर्ता गरायो । जीवनमा जति पनि सफल मानिसहरु छन्, उनीहरु कसैले सोचेका हुँदैनन् । तर, समयसँगै परिश्रम र मेहनतले अरुको मूल्याङ्कनमा सफल र सम्पन्न भएका हुन्छन् । त्यसैले साथीहरु, हामी इमानदार, मेहनती र कर्तव्यनिष्ट भएर काम गरौँ । पैसा आफैँ आउँछ भनेर साथीहरुलाई भन्ने गर्छु । यो मेरो निजी विचार हो ।

हामी पैसा कमाउनेहरुको इतिहास हेरौँ । सुरुमा कसैको पनि सम्पत्ति पैसा थिएन । सवै जना न्यून आय भएका मध्यम परिवारबाट आएका छन् । तर समयसँगै उनीहरुले पैसा कमाए । अझै कमाउँदैछन् । विश्वमा सात अर्व भन्दाबढी मानिस छन् । सबैको जीवनको उद्देश्य पैसा कमाउनु नै रहेको हुनसक्छ । किन प्रधानमन्त्रीले पैसा कमाउनु छैन भनेर भनेका होलान् ? त्यसो भनिरहँदा के उनले पैसा कमाएकै छैनन् त ? अनि मानिसले पैसा आफ्नो लागि कमाउँछन् कि अरुका लागि कमाउँछन् ? के पैसा कमाउनु यस देशका प्रधानमन्त्रीलाई छैन होला त ? प्रधानमन्त्रीलाई मात्र होला पैसा नकमाउनु पर्ने ।

अरु सबै नेता, मन्त्री, कर्मचारी, व्यापारी लगायत आसेपासेलाई त उनको पालाभित्र कति हो कति पैसा कमाउनु छ होलानि । तीन वर्ष हुन लाग्यो सरकारमा बसेको । अहिलेसम्म पैसा कमाउन सकेको छैन भन्ने चिन्ता हुन पनि सक्छ आसेपासेलाई । अहिलेको राजनीतिक घटना चक्र हेर्ने हो भने यो देशमा राजनीति गर्ने मानिससँग पैसा कसरी आयो भनेर दंग परिन्छ । न रोजगार छ न उद्योगधन्दा छ । तर पनि धनसम्पत्ति राजनीतिकर्मीसँग धेरै पाइन्छ ।

एउटा भनाइ छ, चोरलाई चिन्न चोरको खुट्टा काट भनेर तरवारलाई भनिरहँदा चोरले खुट्टा पहिल्यै झिक्छ । हालका प्रधानमन्त्रीको भनाइले पनि यसै भनाइलाई चित्रण त गरेको होइन ? अनि कागले आफ्नो नाम आफैँ काट्छ भनेझै प्रधानमन्त्रीले मलाई पैसा कमाउनु छैन मलाई त देश विकास गर्नु छ भन्दा कागले आफ्नो नाम लिएको घटनालाई चरितार्थ त गरेका होइनन् । काम गर्ने मानिसले कामले देखाउने हो । म के गर्छु भनेर मुखले भनिरहनु पर्दैन । नेपाली जनताले महसुस गर्न सक्छन् प्रधानमन्त्रीले के गर्दैछन् भनेर ।

प्रधानमन्त्रीज्यू मुखले भन्नु भन्दा कामले गरेर देखाउनु होस् । तपाईले पैसा कमाउनु छैन भनिरहँदा तीन करोड जनताको सोच नै पैसा कमाउनु भइरहँदा तपाई त्यो सोच भन्दा बाहिर कदापि हुनुहुन्न होला । भनेर कमाउनु भन्दा नभनि कमाउनु होस् । कामले कमाउनु होस् । क्यास कमाउनु हुन्छ कि क्रेडिट कमाउनु हुन्छ । जीवनमा पैसा सुख होइन । पैसा नभई पनि हुन्न ।

आवश्यकताले पैसालाई इंगित गर्छ । हामीले हाम्रो जीवनलाई कति आवश्यकतामा ल्याउने हो त्यही अनुसार पैसा चाहिने हो । पैसाले दुःख ल्याउँछ, सुख पनि ल्याउँछ । त्यो हाम्रो हातमा छ । त्यसैले आवश्यकता पहिचान गरौँ । अनि भनौँ मलाई पैसा कमाउनु छैन भनेर ।