स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेका क्रियाकलाप, प्रयास, अनुभव र चुनोैती



 

पुष्कर निरौला

झापा हल्दिबारी गाउँपालिकामा २०७७ बैशाख ३ गते भएको घटनापरिवेश र यसैसँग सम्बन्धित रहँदा कोरोना भाइरस सम्बन्धमा धेरै कुराको अनुभव प्राप्त भयो । ती अनुभवलाई साझेदारी गर्न सान्दर्भिक ठानेको छु ।

२०७६ बैशाख ३ गते स्वास्थ्यकार्यालय झापासँग समन्वय गरी हल्दिबारी क्षेत्रमा सामुदायिक र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको परीक्षण शुरु गरियो । त्यो दिन ६५ जनाको जाँच गरियो । तीमध्ये २१ जनाको पीसीआर नमुना पनि संकलन गरियो । एकजनाको आरडीटी शंकास्पद पोजेटिभ देखियो । त्यसले स्थानीय तहको स्वास्थ्य अवस्थामा समस्या र चुनौती थपिदियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने कोरोना भाइरसको त्रासलाई सम्भावित एउटा घटनाले ह्वात्तै बढाइदियो । उक्त घटनाले हामी तयारीको कुन अवस्थामा रहेछौं, हामीले के–के पूर्वतयारी गर्नुपर्दो रहेछ भन्ने कुरालाई प्रष्ट बनाइदियो ।

२४ घण्टाभित्रमा कति धेरै समस्या, चिन्ता, डर, अनुभव, कल्पना आउँदा रहेछन् । एकैचोटि आउने समस्या जसले त्यो शंकास्पद व्यक्ति, उसको परिवार, नजिकै बसेर सेवा दिने स्वास्थ्यकर्मी स्वयम्, उसको परिवार, सुरक्षाकर्मी, सम्पर्कमा आएको मानिसले यो वास्तविकता, तनाव, पीडा, एक संवेदनशीलता मानसिक, शारीरिक, सामाजिक रुपमा नजिकैबाट बुझ्न सकिँदो रहेछ । प्रथम चरणमा सबै समस्याले उनीहरुलाई थिच्दो रहेछ । त्यसकारण विशेष नयाँ घटना, रोग — जसरी अहिले कोरोना संक्रमणबारेमा आफँै प्रत्यक्षरुपमा संलग्न भई कार्य गरिरहँदा केहीकुरा अनुभव गरेँ ।

हुन त यो मेरो बुझाइ हो, त्यो सबै पूर्ण नहुन पनि सक्छ । मैले गरेका क्रियाकलाप र भोगेका अनुभव कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै पालिकाहरुमा अहाोरात्र खटिनुहने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारीलगायत समाजका अगुवाहरुका लागि सिकाइ हुन सक्छ भन्ने मैले ठानेको छु । यद्यपि, स्वास्थ्यकर्मी अग्रमोर्चामा रहनुहुने सबैले आ–आफ्नो तरिकाले अनुभव गर्दै आउनु भएको छ । हामी आ–आफ्नो स्थानमा ठीक छौँ तर समय,अवस्था, बिषयवस्तु अनि घटनाको गाम्भीर्यता र समस्यालाई सही व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।

हालसम्म के गरियो ?
झापा हल्दिबारी गाउँपालिकामा एक जनस्वास्थ्यकर्मीतथा स्वास्थ्यशाखा प्रमुखको रुपमा कार्यरत रहिरहँदा कोरोना संक्रमण रोकथाम गर्नका लागि त्यस्ता क्रियाकलाप भइरहेका छन् जो प्रायः सबै स्थानीयतहहरुमा भइनैरहेको छ । हामीले पनि २०७६ फागुन १९ गतेबाट कोरोना रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम, बिद्यालय स्वास्थ्य कार्यक्रम, माइकिङ, विद्यार्थीमार्फत अभिभाबक र घरसम्म चेतनामूलक कार्ड पुर्याउने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीबीचमा कोरोना सक्रमण सम्बन्धी अन्तरक्रिया गर्यौं ।

यस गाउँपालिका अन्तर्गतका ५ वटा स्वास्थ्य संस्थाबाट दैनिक स्वास्थ्य संस्थामा आएका बिरामीको रिपोर्ट आउने गरी विदेशबाट आएका मानिस,ज्वरोको इतिहास भएका मानिसहरुको दैनिक बेलुका ५ बजे स्वास्थ्य शाखामा प्रतिबेदन पेश गर्ने गरी एक फाराम डिजाइन गरी सोको शुरुआत गरियो र सोही अनुसार सतर्कता अपनाउँदै गइयो ।

सँगंसँगै पालिकास्तरीय बिपद व्यवस्थापन समितिको बैठक, कार्यपालिका बैठकहरु बस्दै रोकथाम कार्यलाई आधिकारिक रुपबाटनै निर्णय गदै कार्यहरु अगाडि बढाइयो । स्वास्थ्य संस्थामा आधारभूत औषधिहरुको अभाव हुन नदिन अतिआवश्यक औषधिहरुको व्यवस्थापन गरियो । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न प्रोत्साहनलगायतको व्यवस्था गरियो। २०७६ फागुन २५ गतेबाट बिदेशबाट हल्दिबारी क्षेत्रमा आउने मानिसहरुको जानकारी लिन सबै वडाका जनप्रतिनिधि, सुरक्षाकर्मीको सहयोगमा स्वास्थ्यकर्मी परिचालन भइयो । कतिपय अवस्थामा बुझाउनै कठिन, बाहिरबाट आएका मानिसका बारे जानकारी दिन नचाहने, गाली खानुपर्ने, समुदायले के भएको छ र ?भन्ने ।

यस्ता धेरै समस्या र अप्ठ्यारालाई समाधान गर्दैसमय समयमा सूचना सन्देश माइकिङ गर्दै हल्दिबारी क्षेत्रमा २०७६ चैत अन्तिमसम्ममा बिदेशबाट आएका ७५ जनाको निरन्तर सूचनालिँदै, सुरक्षाकर्मी, जनप्रतिनिधिको सहयोगमा, स्वास्थ्यकर्मीले निजहरुको स्वास्थ्य अवस्था बुझ्दै दैनिक तोकिएको फरमेटमा प्रत्येक स्वास्थ्यसंस्थाले दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाइयो । यसलाई सहज गर्ने गरी अनलाइन रिपोर्टिङ गर्ने व्यवस्था आईटी इञ्जिनियरको सहयोगमा तयार गरियो ।

२०७६ चैत ५ गतेपछि जब विद्यालयको परीक्षा सकियो, नेपाल सरकारबाट मानिसबीचमा भीडभाड नगर्ने किसिमका विभिन्न परिपत्र, सूचना आउन थाले । त्यसबेलासम्म हल्दिबारी गाउँपालिकाले पनिअन्य कार्यक्रमहरु रोकिसकेको थियो । निजी स्वास्थ्य संस्थाहरुले नियमित स्वास्थ्य जाँच नगर्ने, बिरामी नलिनेजस्ता समस्या शुरु भइसकेका थिए । यस पालिकामा कुनै अस्पताल नभएको हुँदा जनताको आधारभूत स्वास्थ्य सेवालाई निरन्तरता दिँदै, प्राथमिक स्वास्थ्य सेवा दिदै आवश्यकता अनुसार रेफरल प्रणाली विकास गर्न, स्वास्थ्य संस्थाहरुको नियमित समय बढाएर बिहान ७ बजेबाट नै सेवा शुरुगर्ने र फिल्डको पनि कार्य विभाजन गरी काम शुरु गरियो ।

स्वास्थ्यकर्मीको मनोबल बढाउन कार्यपालिकाको बैठकले स्वास्थ्यकर्मीले थप कार्य र सार्वजनिक विदाको दिन पनि कार्य गरेवापत प्रोत्साहनभत्ता र खाजा–खानाको व्यवस्था गर्ने गरी निर्णय गर्यो । प्रत्येक स्थानीय तहमा कोरोना रोकथाम गर्न क्वारेन्टाइन निर्माण गर्ने भन्ने निर्देशनअनुसार तत्काल १० बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय पनि भयो । यसरी प्रत्येक दिन सबै स्वास्थ्य संस्थाले सेवाप्रदान गर्दैप्रतिवेदन गर्ने कार्यलाई निरन्तरता दिइयो । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीबाट मास्क,सेनिटाइजर लगायत पीपीईको माग बढेर गयो । जनमानसमा यस्ता सामग्रीको माग बढेसँगै बजार, पसलमा यस्ता सामग्रीको अभाव भयो । हामीलाई पनि यो समस्या पर्न शुरु भयो ।

विर्तामोड, सिलिगुडी, विराटनगर, काठमाडौँसम्म खोजी गरियो । पर्याप्त व्यवस्था गर्न सकिएन, मूल्य बढ्यो । सबैतिर पीपीई चाहिने कुरा आउन थाल्यो । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, सञ्चारकर्मी, स्वास्थ्यकर्मी — सबैबाट दैनिक पीपीईको अवस्था कति छ ? के छ ? भन्ने माग बढ्न थाल्यो ।

सञ्चारमाध्यममा पनि यस्तै कुराहरु बढी आउन थाले । यसैक्रममा २०७६ चैत ११ गतेबाट नेपाल सरकारले लकडाउन घोषणा गर्यो । स्वास्थ्य सेवाका गतिविधि सूक्ष्मरुपमा संयोजन गर्दै उपलब्ध भएसम्म सुरक्षा सामग्री पीपीई सेट उपलब्ध गराउँदै, दैनिक आधारभूत स्वास्थ्य सेवा दिने,कुनै स्वास्थ्य समस्या वा अन्य समस्या आइपरेमा छलफल गर्ने, आफूभन्दा माथिल्लो निकायबाट आएका परिपत्र, सूचनाअनुसार क्रियाकलाप सञ्चालन गर्दै जाने र विदेशबाट आउनुभएका मानिसलाई स्थानीय स्वास्थ्य–संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट दैनिक होम क्वारेन्टाइनमा राख्न खोजी गर्ने, स्वास्थ्यअवस्था हेर्ने, सोध्ने, दैनिक प्रतिवेदन तयार गर्ने र पालिकास्तरीय हल्दिबारी–२ मा बनाएको क्वारेन्टाइनमा विदेशबाट आएर घरमै बस्न असहज र बस्नु नै पर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, त्यहाँ आधारभूत कुराहरुको व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी,सुरक्षा, खाना–पानी,इन्टरनेटसबै सुविधाको व्यवस्थापन गर्दै क्वारेन्टाइनमा मानिसहरु राख्न शुरु गरियो ।

सबैको समन्वयमा कार्यहरु सञ्चालन गर्दै निरन्तर जिल्ला विपद व्यस्स्थापन समिति,प्रदेश कार्यालय,सामाजिक बिकास मन्त्रालयलगायत केन्द्रसम्म दैनिक प्रतिबेदन पेश गर्दै दैनिक रुपमा आउने समस्या र लकडाउनबाट स्वयम् आफूलाई र स्वास्थ्यकर्मी, सर्बसाधारणमा पर्ने समस्या कहिले इन्धन नपाइने, औषधि सकिएको, एम्बुलेन्स नपाइएको, स्वास्थ्यकर्मीले बिरामीलाई उचित सेवा दिन नसकेको, व्यक्तिगत सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको, बिदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसेको, मास्क–सेनिटाइजर उपलब्ध गराउन नसकिएको,समयमा खाना खान नपाइएको, आफू र परिवारलाई संक्रमणबाट जोगाउन सचेत रहनुपर्ने, बिभिन्न पक्षबाट निर्णय भएका कुरालाई कार्यन्वयन गदै, जनप्रतिनिधिबाट प्राप्त राय–सुझाव पालना गर्दै बिश्वमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? नयाँ अपडेटहरु हेर्ने, सुन्ने अध्ययन गर्ने आदि दैनिक कार्यभित्र पर्ने गरेका छन् । यो सबै स्थानीय तहमा कार्यगर्ने स्वास्थ्यकर्मीकोे दैनिकी हुन सक्छ।

कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहँदै आएको छ । विशेष गरी जनचेतना जगाउने, लकडाउन पालना गर्ने–गराउने, आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने, स्वास्थ्य सामग्री व्यवस्थापन, शंकास्पद मानिसको जाँच गर्नु, क्वारेन्टाइनको व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन, जिल्लास्थित विभिन्न निकाय,सुरक्षा निकायलगायतसँग समन्वय गर्नु, राहत व्यवस्थापन गर्ने, बिरामीहरुको रेफरल प्रणालीको विकास गर्ने, विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने, आर्थिक व्यवस्थापनलगायतका कार्यहरु रहेका छन् ।

अब गर्नुपर्नेः नेपालको स्वास्थ्य सेवामा केन्द्रदेखि स्थानीय तहसम्म नै विश्व स्वास्थ्य संगठनले तोकेबमोजिम कम्तिमा १० प्रतिशत बजेट जनताको स्वास्थ्य सेवाको निमित्त, स्वास्थ्य प्रर्वद्धनको निमित्त छुट्याउनुपर्ने आबश्यकता देखिन्छ । हालसम्म ४ देखि ५ प्रतिशत बजेटमासीमित गरिएको स्वास्थ्य सेवा,सडक, बाटो, पूलजस्ता भौतिक व्यवस्थासहित स्वास्थ्यसेवामा बजेटको आकार बढाउनु आजको आवश्यकता भएको छ । अहिलेसम्म स्वास्थ्य संस्थाहरुमा पुर्ब तयारीका कार्यहरु हामी स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुले पनि ध्यान दिएनौं ।

वास्तवमा हामीलाई अति आवश्यक पर्ने मास्क, ग्लोब्स,सेनिटाइजर, पीपीई, थर्माेगन, स्प्रिट, क्लोरिन — सबैकुरा किताव र सैद्धान्तिक बिषयमा मात्र सीमित थिए । त्यस्ता सामग्रीहरु अति आवश्यक औषधि सामग्रीको सूचीमा पार्नु पर्छ भन्ने माथिल्लो निकायमा नीति निर्माण गर्ने चिकित्सक, जनस्वास्थ्यकर्मीले पनि शायद राय–सुझाव दिएनन् होला ! त्यसकारण त्यस्ता स्वास्थ्य सामग्री कहिले पनि प्राथमिकतामा परेन र त्यस्ता सामग्री खरिद गर्ने परिपाटीको बिकास पनि भएन ।खरिदनै गर्दा पनि सूचीबाहेकको सामग्री खरिद गर्र्यो भनेर सिद्धान्तमात्र बुझ्ने महालेखाले अनियमितता भन्ने, विविध कारणले गर्दा सामान्य अवस्थामा नै हाम्रो देशभरिका स्वास्थ्य संस्थामा त्यस्ता सामग्रीको शुरुमै अभाव देखियो । स्वास्थ्यकर्मी भएकोमा पहिलोपटक आफैंलाई नरमाइलो लाग्यो— एउटा मास्क,ननटचथर्मोमिटर,आफू सुरक्षित रहने सेनिटाइजर, सुरक्षा सामग्री पनि ब्यबस्था नगरेका रहेछौँ र अलिकति माग बढ्नेबित्तिकै बजारमा सबैको अभाव भयो, मूल्य बढ्यो ।

कोरोना संक्रमण रोकथामको लागि गरिएको प्रयासका महत्वपूर्ण विषयहरु लकडाउन,परीक्षण,स्वास्थ्य संस्थाहरुमा सामग्रीहरुको व्यवस्थापन, स्वास्थ्यकर्मीको उत्प्रेरणा, क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन, संक्रमण देखिएमा त्यसको योजनाबद्ध तयारी, एम्बुलेन्स पूर्बतयारी, गर्भवती, जेष्ठ नागरिक, बालबालिका, दीर्घरोगीहरुको समस्या समाधान गर्ने तथा खानै नपाई भोकै रहनेको संख्या यकिन गर्नेजस्ता तयारीहरुमा केन्द्रित हुनुपर्ने दखिन्छ ।

लकडाउन भएकै दिनदेखि राहत बाँड्ने कुरामा मात्र सबै संघ–सस्थाको ध्यान गयो भने संचारमाध्यमहरुले पनि त्यसैलाई प्राथमिकता दिइरहे ।कसैले पनि आफ्नो नजिकको स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीलाई तत्कालै के कुराको आवश्यकता छ ?आवश्यक औषधि र स्वास्थ्य सामग्री छ–छैन ? उनीहरुको मनोबल कस्तो छ ? एम्बुलेन्सको व्यवस्था छ कि छैन ?आफू बिरामाी हुँदा कहाँ जाने ? यी महत्वपूर्ण विषय भन्दा पनि सामाजिक संघ–सस्था पनि दाल र चामलमै सीमित भएको देखिन्छ ।अहिले सामान्य ज्वरो नै आएर सेवालिनुपर्ने भएपनि निकै सोच्नुपर्ने अवस्था छ । नजिकको स्वास्थ्य चौकीहरु, प्राथमिक स्वास्थ्य केन्द्र,अस्पताल, निजी फार्मेसी ,क्लिनिकनै भएपनि तयारीमा राख्नु सबैको जिम्मेवारी हो ।

त्यसकारण खाद्यान्न राहतका साथै स्वास्थ्यसामग्रीको व्यवस्थापनमा पनि दाता निकाय र संस्थाहरुको ध्यान जाओस् । र सञ्चार माध्यमहरुले पनि त्यस्ता समाचारलाई प्राथमिकतामा राख्न जरुरी छ । किनभने तपाईलाई र तपाईको परिवारलाई सामान्य ज्वरोमात्र आयो भने कसले र्हेछ?तपाई–हाम्रा बच्चालाई खोप कसले लगाउछ ? यसका बारेमा बुझने र तयारी गर्ने तपाईको पनि जिम्मेवारी हो । तपाईले खान पाउनुभएन भने तपाईको छिमेकीले एकछाक खुवाउन सक्छन् तर तपाईं सामान्य बिरामी पर्नुभयो भने पनि स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले मात्र सेवा दिने हो, छिमेकीले केही गर्न सक्दैन । आफ्नो सुरक्षाको अभावमा एम्बुलेन्सले पनि बिरामी बोक्न मान्दैन । एम्बुलेन्स चालकलाई पीपीई चाहिन्छ ।यस्ता धेरै अनुभब हामीले अहिले महसूस गरिरहेका छौं ।

जब समस्या पर्छ तबमात्र धेरै विषयवस्तुको आवश्यकता थाहा हुँदो रहेछ । अमेरिकाजस्तो निकै सम्पन्न देशमा त सामान्य ज्वरो नाप्न नसकेको, सिटामोल नपाएको कुरा हामीले थाहा पाएका छौं भने संक्रमण बढ्दै गयो भने हाम्रो देशको अवस्था कस्तो होला ?त्यसकारण अवस्था बुझेर सबैले स्वास्थ्यसेवालाई प्राथमिकतामा राख्न्ुा पर्दछ । यदि कोरोनाको संक्रमण नै देखिएमा पनि सबैलाई उच्चतहको अस्पताल र भेन्टिलेटर नै चाहिन्छ भन्ने रहेनछ भन्ने हामीले बुझ्दै आएका छांैत्यसकारण स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थाहरु, निजी क्लिनिक अस्पताललाई सुरक्षित र पर्याप्त स्वास्थ्य सामग्रीसहित क्रियाशील बनाउनुपर्ने देखिन्छ । तिनले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै आवश्यकता अनुसार रेफरगर्ने प्रणालीको विकास गर्न सक्छन् र सामान्य बिरामीले पनि अनावश्यक दुःख पाउँदैनन् ।

स्थानीय तहमा कार्यरत एक स्वास्थ्यकर्मीको अनुभवमा हाल हामीले कोरोना तथा यस्ता महामारी रोकथाम र व्यवस्थापनका लागि पूर्वतयारी गर्नुपर्ने आवश्यकता महसूस भएको छ । यो सबैको एकीकृत प्रयासले मात्र संभव छ । यसको लागि निम्न कार्यहरु गर्दा उचित हुन्छ जस्तो लाग्छ ।

स्थानीय तहले गर्नुपर्नेः जनचेतना अभिबृद्धि, क्वारेन्टाइन व्यवस्थापन, लकडाउन व्यवस्थापन, कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर राहत वितरण, लकडाउनलगायतका क्रियाकलापपरिपालना र व्यवस्थापन गर्र्न एकरुपता अपनाउनुपर्ने देखिन्छ, जस्तै : बाहिर जानुपरेमा घरको एकजना मात्र जाने,राहत वितरण, अति आवश्यक सामग्री वितरण प्रणालीको विकास, आधारभूत स्वास्थ्य सेवा प्रवाह, अतिआवश्यक औषधि, पीपीईलगायतकासामग्री व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन,उत्प्रेरणा,स्वयम्सेवक परिचालन गर्नुपर्ने देखिन्छ ।

जनप्रतिनिधिर स्थानीय सरकारको अर्जुनदृष्टि, अति आवश्यक र दैनिक औषधि सेवन गर्ने व्यक्तिहरुलाई औषधि उपलब्ध गराउन पहल गर्नुपर्ने, वडामा भएका स्वास्थ्य समस्याहरुको सूचना सम्बन्धित वार्डको स्वास्थ्य संस्थामा तुरुन्त गराउनुपर्ने, आकस्मिक अवस्थाको लागि स्वास्थ्य सामग्री पीपीई,औषधि, एम्बुलेन्सको व्यवस्था गर्नुपर्दछ । पालिका र वडास्तरमै स्थानीय उत्पादन खाद्यपदार्थको ‘फुड बैक‘ राख्ने, बिक्री केन्द्रको व्यवस्थापन, स्वास्थ्य सामग्री, क्वारेन्टाइन व्यवस्थापन, परीक्षणको व्यवस्था गरिनु पर्दछ ।

रेफरल प्रणाली अत्यन्तै महंगो र संवेदनशील भएको हँुदा यस्तो अवस्थालाई सोचविचार गरेर आर्थिक र सामग्रीको पूर्ब तयारी र व्यवस्थापन गर्नुपर्ने हुन्छ भने सूचनाको प्रभावकारी व्यवस्थापन हुनु पर्दछ । सर्भिलेन्स रिपोर्टिङको माध्यमबाटक्वारेन्टाइनलाई प्रभावकारी बनाउँदै शंकास्पदव्यक्तिको पहिचान, सम्पर्क परीक्षणलाई बढाईबाहिरबाट आएका मानिसलाई सामुदायिक क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा व्यबस्थापन गर्ने, परीक्षणको मात्रा बढाउँदै जानुपर्छ भने प्रदेश र सघंसँग निरन्तर समन्वय गरेर सोहीबमोजिम क्रियाकलाप सञ्चालन र पूर्वतयारी गर्नुपर्दछ ।

जिल्लास्थित प्रदेश स्वास्थ्य कार्यालयले गर्नुपर्नेः सबै पालिकाहरुमा प्राविधिक रुपमा सहयोग र समन्वय गरी नियमित चेकजाँचको ब्यबस्था गर्न पालिकालाई नै जिम्मा दिने र नमूना संकलन गरी प्रयोगशाला पुर्याउन सबै पालिकासँग समन्वय गरेर ढुवानीको लागि समय र साधन निर्धारण गर्ने । आकस्मिक अवस्थामा यदि कुनै पालिका स्थानमा संक्रमितदेखिएमा तुरुन्त रेफरल माध्यम अनुसार अस्पतालमा वा आइसोलेसनको लागि व्यवस्थापन गर्न तोकिएको अस्पतालमा व्यवस्थापन गर्ने र थप प्राबिधिक सेवा दिने।

प्रदेश सरकारले गर्नुपर्नेः संक्रमण फेला परेका बिरामीलाई उपचार गर्ने व्यवस्थाका लागि सहयोग र समन्वय गर्ने तथा निदान भएका बिरामीलाई घरसम्म पुर्याउने व्यवस्था गर्ने । अस्पताल, चिकित्सकसहित सबै स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्ने ।

केन्द्रीय सरकारले गर्नुपर्नेः उच्च तहको उपचारको व्यवस्थापन, परीक्षण किट र अन्य स्वास्थ्य सामग्रीहरु पर्याप्तमात्रामा पालिका तहसम्म आपूर्ति, खोज अनुसन्धान, सूचना, रोकथाम,उपचार मोडालिटिजको निर्णय र समन्वय तथा प्रतिशतनै तोकेर अनिबार्य स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थासहित दीर्घकालीन र अल्पकालीन योजना रणनीति तयारी र कार्यान्वयन गनुपर्ने ।

सूचना तथा सञ्चार क्षेत्रले गर्नुपर्नेः सूचना सामग्री आधिकारिकता बुझेर मात्र प्रकाशन÷प्रशारण गर्दा जनमानसमा सही सूचना सम्प्रेषण हुन्छ । कुनै सूचना, जानकारी, नतिजा विवरण कसले दिने ? कसरी दिने ? त्यसपछिको परिणाम के हो ?त्यसको संवेदनशीलताको आंकलन तुरुन्तै गर्नुपर्दछ भने व्यवस्थापन,पुर्बतयारी आदिको बारेमा आफनो जिम्मेवारी, पद,क्षेत्र, अनुभब ,आधिकारिकता आदिको आधारमा सबैले आ आफनो जिम्मेवारी पुरा गर्न सक्नु पर्ने रहेछ तब मात्र यो अभियानमा सफलता हासिल गर्न सकिन्छ जस्तो लागेको छ ।

(लेखक जनस्वास्थ्यकर्मी तथा हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हुनुहुन्छ ।)