कोभिड–१९ : चुनौती र अवसर दुवै



 

सन्तोष अग्रवाल
चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिँदै लाखौँ मानिसको मृत्यु भइसकेको कारण आज विश्व नै लगभग ठप्प प्रायः छ । विश्वकै शक्तिशाली राष्ट्र मानिने अमेरिकामा बेलैमा लकडाउन नगरेकै कारण ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा लगभग ३६ लाख संक्रमित भइसकेको अवस्था छ । आर्थिक रुपमा घाटा बेहोर्नुपर्छ भनेर अमेरिकी राष्ट्रपति ट्रम्पले समयमै लकडाउन नगरेकै कारण हालसम्म करिब १२ लाख संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको आँकडा लाखौँमा पुग्ने विज्ञहरुको अनुमान छ ।

छिमेकी मुलुक भारतमा बेलैमा लकडाउन घोषणा गरेकै कारण स्थिति अहिलेसम्म अमेरिका, फ्रान्स, इटली जस्तो भइसकेको छैन । खुला सिमानाका कारण नेपालले समेत बेलैमा लकडाउन गरेकोले हाम्रो देशमा समेत स्थिति अहिलेसम्म नियन्त्रणमै देखिन्छ । अन्तर्राष्ट्रिय उडान तथा सीमा नाका समयमै बन्द गरेको भए नेपाल अझै राम्रो स्थितिमा हुने थियो । भारतको दिल्लीमा सम्पन्न तबलिगी जमात (मुस्लिम समुदायको धार्मिक भेला) मा सहभागी भएर नेपालका समेत केही जमातीहरुलाई बेलैमा क्वारेन्टाइनमा राख्न नसकेकै कारण नेपालमा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गएको पाइन्छ ।

यस कोरोना भाइरसको महामारीले थुप्रै चुनौतीका बाबजुद केही राम्रा अवसर समेत सिर्जना गरेको छ । आर्थिक रुपमा सन् २०२० मा व्यवसायी जगतले अपुरणीय क्षति बेहोर्नै पर्ने स्थिति पैदा भएको छ । साथै राज्यले समेत निकै ठूलो आर्थिक चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाले सन् २०२० लाई घाटा नाफाको बारेमा सोच्नुभन्दा पनि आफ्नो र आफ्नो परिवारको ज्यान बचाउन सक्नु नै ठूलो नाफा हुने बताएका छन् । अब तरकारी किन्दा पनि डिजिटल कारोबार गर्नुपर्छ भन्ने भनाइ नबिल बैंकका सिइओ अनिल केसरी साहको रहेको छ । नागरिकहरु बैंक पुगेर सेवा लिन चुनौती र जोखिम बेहोर्नु परेकोले प्रविधिमा धेरै पछाडि रहेको नेपालका लागि कोभिड–१९ एउटा अवसरको रुपमा आएको साह बताउँछन् । केन्यामा चोरी र लुटापट धेरै बढेपछि त्यहाँ डिजिटल कारोबार बढेको पाइन्छ ।

यसैगरी, कृषिप्रधान हाम्रो देशमा अहिले अर्बौंको खाद्यान्न लगायत कृषिजन्य आयात भइरहेको छ । उता हाम्रा देशका युवा जनशक्ति खाडी लगायतका मुलुकहरुमा ५० डिग्रीको गर्मीमा पसिना बगाइरहेका छन् । यस महामारीका कारण उनीहरुको रोजीरोटी समेत गुम्ने अवस्था भई वैदेशिक रोजगारमा रहेका लाखौँ नेपाली नागरिक स्वदेश फिर्ता हुने देखिएको छ । आधुनिक प्रविधिसहितको कृषि क्रान्तिका लागि सरकारले विभिन्न सहुलित लगायत उच्च प्रविधि भित्र्याएर खाद्यान्न र फलफूलमा आत्मनिर्भर बन्न सके आयात रोकेर अर्बौं विदेशी मुद्रा बचाउनुका साथै खाद्यान्न तथा फलफूल निर्यात गरेर आर्जन समेत गर्न सकिन्छ ।

संकट परेको बेला मात्रै विकल्प खोज्ने हाम्रो बानी छ । त्यसै कारण नाकाबन्दीको बेला देशमा चलेको आत्मनिर्भरताको लहर केही दिनमै सेलाएको थियो । तर, यसपटक कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीलाई अवसरका रुपमा लिएर कृषि तथा औद्योगिक क्रान्तिमा अग्रसर हुन जरुरी छ । देशका युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर नेपाली माटोमै सुन फलाउन प्रेरित गर्नुपर्छ । साथै, पर्यटन वर्ष २०२० घोषणा गरिए पनि यही महामारीका कारण फिर्ता लिनु परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देशमा दीर्घकालीन रुपमा पूर्वाधार निर्माण गर्न सके २०२० मा मात्र होइन, हरेक वर्ष लाखौँ पर्यटक भित्राएर आम्दानीको दीर्घकालीन स्रोत बनाउन सकिन्छ ।तसर्थ, कोभिड–१९ लाई चुनौतीका रुपमा मात्र होइन, अवसरका रुपमा लिई सकारात्मक बन्नु आजको टड्कारो आवश्यकता हो ।