‘सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमायो’



झापा–काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाइसकेको गम्भीर आरोप लगाएका छन् । कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको सभापति देउवाले बताए ।

केहीवेरअघि संसद बैठकलाई सम्वोधन गर्दै सभापति देउवाल यस्तो आरोप लगाएका हुन् । सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन नससकेको सभापति देउवाको दावी छ ।

‘अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरीतका क्रियाकलापमा व्यस्त रहनु, सांसदको अपहरण हुनु जस्ता अवाञ्छित र आपराधिक गतिविधि जस्ता विषयका कारण सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको काङ्ग्रेसको ठहर छ’, सभापति देउवाले भने ।

‘पहिलो संक्रमण देखिएको तीन महिना बितिसक्दा पनि हालसम्म व्यापक परीक्षण भइसक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परीक्षण भएको मा सभापति देउवाले आपत्ति जनाए ।

सभापति देउवाले भने, ‘परीक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेका छन् । विदेशमा अफ्ट्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना छैन । कोरोनावाट बिभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालिन र दिर्घकालिन रणनीति बनाउने दिशामा कुनै सुरसार छैन ।’