बाली उठाउन नेपाल छिर्दै भारतीय, सीमावर्ती सुरक्षामा चुनौति



 

झापा– कोरोना भाइरसको त्रासका कारण सीमावर्ती आवागमन रोक्ने सरकारको निर्णयपछि झापाका सीमावर्ती इलाकामा एकपछि अर्काे विवाद भइरहेका छन् । नेपाली भूमि भाडामा लिएर लगाइएको अन्नबाली उठाउन पाउनु पर्ने माग गर्दै जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको प्रयासलाई रोक्न खोज्दा मुडभेडको अवस्था पनि सिर्जना भएको छ ।

कोरोना भाइरसको त्रासका कारण चैत ११ देखि देश लक डाउनमा छ । लक डाउनपछि नेपाल भारत सीमामा सुरक्षाकर्मी तैनाथ छन् । भारतले नेपाली नागरिकलाई छिर्न दिएको छैन भने नेपाल छिर्न खोज्ने भारतीय नागरिकलाई पनि नेपाली सुरक्षाकर्मीले सीमा नाकामा रोकिरहेका छन् । यसले कतिपय अवस्थामा तनाव पनि निम्तिने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

‘नेपाल प्रवेश गर्न दिएका छैनौँ । तर नेपालपट्टी खेती गरेका भारतीय नेपाल छिर्न खोज्दा विवाद भइरहेको छ’, झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला भन्छन्, ‘त्यस्ता विवाद सीमा सुरक्षा वलसँग समन्वय गरेर सुल्झाउँदै आएका छौँ ।’ यद्यपि, बाली लैजाने नाममा भारतीयको नेपाल प्रवेश चुनौतिपूर्ण बन्दै गएको छ ।

सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई चुनौति दिएर नेपाल छिर्न खोज्दा झापाको झापा गाउँपालिकामा यसैसाता प्रहरीले हवाई फायर गर्नु पर्ने अवस्था आयो । नेपाल प्रवेश गर्न खोज्ने दुई भारतीय नागरिकलाई फिर्ता पठाएका नेपाली सुरक्षाकर्मी एकैछिनपछि सयौँ भारतीयको प्रवेशलाई थेग्नै नसक्ने अवस्थामा पुगे । भारतीयबाट सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण भएपछि अन्तत प्रहरीले गोली चलाउनु प¥यो ।

भारतीय पक्षले घटनाका विषयमा माफी मागेपछि तत्कालका लागि समस्या टरेको झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी बताउँछिन् । ‘भारतीय सुरक्षाकर्मी आएर हाम्रातिरका मान्छेको कमजोरी भयो, हामी उहाँहरुका तर्फबाट माफी माग्छौँ भनेपछि सहमति भयो’, उनले भनिन् ।

सीमावर्ती क्षेत्रमा भारतीयको चहलपहल बढ्नुका पछाडि उनीहरुले नेपाली भूमि भाडामा लिएर गरेको खेती यतिबेला मुख्य कारक भएको छ । नेपाली भूमिमा खेती गर्दै आएका भारतीय बाली संरक्षण, रेखदेख र बिक्रीका लागि धमाधम नेपाल छिर्न खोजिरहेका छन् । उनीहरुलाई रोक्न चुनौति देखिएकाले व्यवहारिक समाधानको बाटो खोज्नुपर्ने अवस्था आएको प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन बताउँछन् ।

‘बाली उठाउने विषयमा नेपाल छिर्न खोज्ने भारतीय र नेपाली सुरक्षाकर्मी बीच निरन्तर भइरहेका घम्साघम्सीका घटनाले सीमावर्ती सुरक्षामा थप चुनौति थपिएको छ’, झापा क्षेत्र नम्वर–३ का सांसद समेत रहेका लिङ्देनले भने ।