चियामा अनुगमन : मजदूरलाई स्वास्थ्य सामग्री दिन निर्देशन



 

झापा– चिया बगान र प्रशोधन कारखानामा काम गरिरहेका सबै मजदूरलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन अनुगमन समितिले आग्रह गरेको छ । झापाका कतिपय साना चिया बगानले स्वास्थ्य सामग्रीको प्रयोगविना मजदूरलाई काममा लगाइरहेको पाइएपछि समितिले त्यस्तो आग्रह गरेको हो ।

नियमित अनुगमन भइरहे पनि कतिपय साना बगानले आवश्यक मापदण्ड पूरा नगरी मजदूरलाई काममा लगाइरहेका छन् । त्यस्ता बगान सञ्चालकलाई अनिवार्य स्वास्थ्य सामग्री व्यवस्थापन गर्न अनुगमन समितिले निर्देशन दिएको नेपाल ट्रेड युनियन काङ्ग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले बताए ।

चिया बगान तथा कारखानामा काम गर्दा मास्कको प्रयोग, निश्चित दुरी निर्धारण, स्यानेटाइजर र सावुनको प्रयोग अनिवार्य गरिएको छ । तर, व्यवस्थापनले ती सामग्री नदिए पनि ज्यालाका भरमा दैनिकी गुजार्नु पर्ने अवस्थाका मजदूर नियमित काममा जान बाध्य छन् । बगानमा हरियो पत्ती टिप्ने क्रम अहिले तीब्र छ ।

बैशाख पहिलो साता बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्य सम्वन्धी मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति गठन भएको थियो । समितिले नियमित सञ्चालन भइरहेका चिया बगान र प्रशोधन कारखानाको अनुगमन गर्र्दै आएको छ ।