‘एकका लागि एक’ अभियान : बिर्तामोडमा भोलिदेखि तयारी खाना बाँडिदै



बिर्तामोड– पहिलो चरणमा राहत वितरणपछि ‘एकका लागि एक’ अभियानले झापाको बिर्तामोडमा आइतबारदेखि खाना खुवाउने भएको छ । अशक्त र सडक आश्रितलाई लक्षित गर्दै अभियानले खाना खुवाउन लागेको हो ।

आइतवार विहानदेखि बिर्तामोडको वानस्टप महल अगाडिबाट तयारी खानाको प्याकेट वितरण सुरु हुने तयारी खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले बताए । उनका अनुसार दैनिक एकहजार मानिसलाई खाना खुवाउने अभियानको तयारी छ ।

‘लक डाउन नखुलेसम्म अभियानले हरेक दिन तयारी खाना बाँड्छ’, उनले भने, ‘यसका लागि बिहान ९ देखि १२ बजेसम्मको समय छुट्ट्याएका छौँ ।’ अभियानले कोटीहोमका जेष्ठ नागरिकलाई पनि खाना वितरण गर्ने उनले बताए । हस्पिटलमा रहेका विरामीका कुरुवाले पनि खाना पाउने छन् ।

सादा बीर्यानी र एक बोतल पानी अभियानले बितरण गर्नेछ । अभियानको काउन्टरबाट खाना लिने र आफ्नै ठाउँमा गएर खानु पर्ने गरी व्यवस्थापन मिलाइएको घिमिरेले जानकारी दिए । प्रारम्भिकरुपमा बिर्तामोड सुरुङ्गा हुँदै खाना वितरण अभियान काँकडभिट्टासम्म विस्तार हुनेछ ।